गलत प्रथाविरुद्ध किशोरी जाग्दै « Khabarhub

गलत प्रथाविरुद्ध किशोरी जाग्दै


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको जानकी गाउँपालिकाका किशोरीहरु समुदायमा गलत अभ्यासमा रहेका प्रथाविरुद्ध जागरुक भएका छन् । किशोरीले समुदायमा गलत अभ्यासमा रहेका बालविवाह, बहुविवाह, छाउपडी प्रथाजस्ता प्रथाको विरोध गर्न थालेका छन् ।

किशोरीले विरोध मात्र होइन, बालविवाह बदर गराउने, छाउगोठ भएका घरमा सम्झाउने, गोठ भत्काउने र समुदायमा जनचेतना जगाउने काम गरिरहेका छन् ।

जानकी–३, ७ र ६ वडामा किशोरी समूह गठन गरी उनीहरुले हरेक महिना बैठक बसी समुदायका समस्या पहिचान गर्ने गर्दछन् । किशोरी समूहमा बसेर काम गर्न थालेपछि उनीहरुको नेतृत्व विकास हुनुका साथै उनीहरूले समुदायका हरेक काममा निगरानी राख्न थालेका छन् ।

जानकी–७ की माया विक दुई वर्षअघि किशोरी समूहमा आबद्ध भएकी छन्। कैलालीमा कार्यरत दलित महिला अधिकार मञ्चले समूह गठनमा सघाएपछि समूहमा आबद्ध भएकी माया हाल समुदायकै अभियानकर्मीका रूपमा अघि बढिन् ।

“हाम्रो सिर्जनशील किशोरी समूहमा ३० किशोरी छौँ, मजस्तै ३० किशोरी मिलेर आफ्ना समस्याबारे छलफल गर्छौँ, हामी गाउँमा सचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम गर्न थालेका छौँ”, मायाले भनिन्, “हामी किशोरीमा देखिने परिवर्तन, समाज विकासमा किशोरीको भूमिकाबारे पनि छलफल र काम गर्न थालेका छौँ । हाम्रो पहिलो प्राथमिकता बालविवाह रोक्ने हो । हामीले बालविवाह र छाउपडी प्रथा समुदायबाट हटाउने अभियान लिएका छौँ ।”

जानकी–३ की रञ्जना चौधरी पनि प्रतिज्ञा किशोरी समूहमार्फत बालविवाह न्यूनीकरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकी छन् । “शुरुमा हामीले समूहमा बालविवाहका असर, यसले निम्त्याउने समस्याबारे छलफल गर्‍यौँ, हाल हामी सबै बालविवाहका हानिबारे जानकारी दिनसक्ने भएका छौँ”, प्रतिज्ञाले भनिन्, “अब हाम्रो समुदायमा बालविवाह हुन दिन्नौँ, हामीले हरेक विद्यालयमा गएर बालबालिका र टोलटोलमा अभिभावकलाई सचेत गराउन थालेका छौँ ।”

जानकी–६ की सुमित्रा विश्वकर्मा किशोरी समूहमा बसेपछि समुदायमा परिवर्तन गर्न सफल भएको बताउँछिन् । अहिले बालविवाह, छाउपडी प्रथा अन्त्य गर्न सरोकारवालासँग छलफल चलाउने गरेको सुमित्राले बताइन । “पहिले म पनि छाउगोठमा बस्थेँ, मजस्तै मेरा साथी, अन्य महिला छाउगोठमा बसेको देखेकी छु”, सुमित्राले भनिन्, “हाल म घरमै बस्छु, मेरो छिमेकमा भएका सबै गोठ भत्काइयो, सबैलाई सम्झायौँ, हाल सबैजना घरभित्रै सुरक्षित तवरले बस्न थाल्नुभएको छ ।”

किशोरीहरुको क्षमता विकास, सशक्तीकरणका लागि दलित महिला अधिकार मञ्च र गाउँपालिकाले पनि सघाइरहेको छ । पालिकामा बालविवाह न्यूनीकरणमा किशोरीको भूमिका, किशोरी र जनप्रितिनिधिबीच अन्तक्रिया, किशोरी र अभिभावकबीच छलफल र आत्मरक्षा तालिमलगायतका कार्यक्रम भइरहेका छन् ।

किशोरी सचेत भएपछि यस वर्ष पालिकामा किशोरीहरूले क्षमता विकासका लागि छुट्टै बजेटको माग गरेका छन् । उनीहरुले गाउँसभामार्फत किशोरीका लागि बजेटको व्यवस्था गर्न ज्ञापनपत्र बुझाए । “पहिलोपटक किशोरीको समूह आएर बजेट माग्यो, किशोरी जागरुक भएको देखेर म असाध्यै खुशी भएँ”, गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, “किशोरी जागरुक हुनु भनेको समाज सचेत हुनु हो । हामीले चाहेकै परिवर्तन यही हो ।”

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : ५९ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा