वर्षौँपछि खानेपानीको समस्या हट्यो | Khabarhub Khabarhub

वर्षौँपछि खानेपानीको समस्या हट्यो


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने तीनपाटन गाउँपालिका–१ छरछरेवासीको बाध्यता अन्त्य भएको छ । पुस्तौँदेखि खानेपानीको अभावमा जीवनयापन गर्दै आएका छरछरेवासी यतिबेला घर नजिकैको धारामा पानी आउँदा हर्षित भएका छन् ।

विगतमा पानीको पालोमा कुवा तथा पँधेरामा बास बसेर एक गाग्री पानीको जोहो गर्न पनि दिन–रात बिताउनुपर्ने बाध्यतामा रहेका छरछरेवासीलाई वडा तथा गाउँपालिकाको पहलमा नेपाल स्वास्थ्यका लागि पानी नेवाले लिफ्टबाट खोनेपानी पुर्‍याइदिएपछि खानेपानीको सुविधा मिलेको हो ।

पिउने पानीको जोहो गर्दै वर्षौँ बिताएका नागरिक यतिबेला आँगनको धारामा पानी थाप्न पाउँदा उनीहरुमा खुशीको सीमा छैन । स्थानीय सरकारको पहलमा धारामा पानी थाप्न पाउँदा बल्ल सरकार भएको अनुभूति गर्न पाएका छन् ।

“एक छाक खाना बनाउन र धित मर्ने गरी पिउने पानीको हाहाकारमा जीवन गुजारा गर्दै आएका थियौँ”, स्थानीयवासी मनमाया कार्कीले भने, “हिजो हिलो निचोरेर पानी खान्थ्यौँ, कुवामा झगडा पर्दथ्यो, कुवामा नै दिनरात बिताएर एक गाग्री पानीको जोहो गर्दथ्यौँ ।”

यसअघि प्लान नेपालले सिमेन्टको घ्याम्पो निर्माण गरिदिएको थियो । घ्याम्पोमा बर्सातका बेला जम्मा भएको पानीले वर्ष दिनलाई पुर्‍याउनुपर्दथ्यो । उनले भने, “छानाको पानी लगेर घ्याम्पोमा जम्मा भएपछि खानेपानीमा ताल्चा लगाएर राख्ने गरेका थियौँ, यसले हामीलाई राहत पुर्‍याएको थियो, अहिले घरै नजिकको धारमा २४सै घण्टा पानी आउँदा स्वर्गको अनुभूति गर्न पाएका छौँ ।”

विगतमा पानी पर्याप्त नहुँदा नुहाउने र लुगा धुने व्यथा यतिबेला कथा बनेको स्थानीयवासी रुद्रबहादुर खड्काले बताए । “मानिस र पशु दुवैले धित मर्ने गरी पानी पिउन पाएका थिएनौँ, यति मात्र होइन, हाम्रा गाउँमा छोरी दिन पनि मान्दैन थिए, विवाहजस्ता कार्य गर्दा खोला धाउनुपर्दथ्यो, यस्तो अवस्थामा रहेका हामीलाई नेवाले खानेपानी ल्याइदिएपछि स्वर्गानुभूति भएको छ”, उनले भने, “हिलो निचोरेर आउने धमिलो पानीले श्वास अल्झाएका हामी यतिबेला धारमा पानी थापेर वर्षौँदेखि नमरेको धित मार्न पाएका छौँ, खानेपानीले सुविधासम्पन्न भएका छौँ ।”

लामो समयदेखि पानीको समस्या झेल्दै आएका नागरिकलाई केही गैरसरकारी संस्थाले खानेपानी जोहो गर्नका लागि सिमेन्टको घ्याम्पो बनाइदिएका थिए । आकाशबाट परेको पानी घरको बलेसीबाट सङ्कलन गरी घ्याम्पोमा सङ्कलित पानीले वर्ष दिन बिताउनुपर्ने बाध्यता थियो तर यतिबेला वडा कार्यालयको पहल र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारीमा सोलार लिफ्ट प्रविधिबाट सबैलाई पानी वितरण गरिँदै आएको वडाध्यक्ष गोविन्द राउतले जानकारी दिए ।

वडामा जनप्रतिनिधि आएपछि छरछरे, चिसापानी, हात्तीसार, क्वान्द्रे, भुकुने, नेपाले शिखरलगायतका स्थानमा वर्षौँदेखिको खानेपानी समस्या यस वर्षबाट समाधान भएको उहाँको भनाइ छ । यसबाट १०० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।

डोकोमा गाग्री बोकेर घण्टौँपछि घर आउने स्थानीयवासीको यतिबेला पानीका लागि खर्चनुपर्ने समयको बचत भएको उनले बताए । बेलघारी–१ निवासी सयौँ घरपरिवारले यतिबेला स्वच्छ पिउने पानी पाएको उनले बताए । “पानी स्वास्थ्यका लागि अतिआवश्यक हो, त्यहाँको समस्या हामी आएको केही वर्षपछि विभिन्न निकायसँग पहल गरेर समाधान गरेका छौँ”, उनले भने ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १ : ०१ बजे

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा