बूढीखोला नहरका संरचना जीर्ण « Khabarhub

बूढीखोला नहरका संरचना जीर्ण


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- वर्षेनी खोलामा आउने बाढीले मोरङको बूढीखोलास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर जोखिममा परेको छ ।

वर्षेनी कटान बढ्दै गएकाले नहरको संरचना जीर्ण बन्दै गएको सिँचाइ आयोजनाले जनाएको छ । बूढीखोलाको पूर्व, पश्चिम र दक्षिणतर्फबाट तीव्र गतिमा कटान भइरहेको छ । तर, यसलाई नियन्त्रण गर्न आयोजनाले खासै पहल गरेको देखिँदैन ।

बजेट अभावका कारण समयमै कटान नियन्त्रण गर्न नसकिएको आयोजनाले जनाएको छ । कटानका कारण खोला दिनप्रतिदिन गहिरिँदै जानाले पनि नहर संरचनाको जोखिम झन बढेको छ ।

नदी कटानका कारण संरचना भत्किएमा यसले मोरङतर्फ सिँचाइ हुने शाखा नहरहरू समेत नराम्ररी प्रभावित हुने बताए । मोरङका नौवटा शाखा नहरलाई यसले प्रत्यक्ष प्रभाव पार्ने आकलन गरिएको छ ।

छुरछुरिया, हरिनगरा, विराटनगर, वरियाती, नयाँपट्टि, आमझोडा, रञ्जनी, चिस्याङ र झमनपुर शाखाबाट सिँचाइ हुने क्षेत्रका किसान प्रभावित हुनेछन् ।

केही समयअघि मोरङको लोहन्द्राखोलास्थित नहरको संरचनालाई बाढीले बगाउँदा केही शाखा नहरमा आश्रित किसान अहिले पनि आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । समयमै कटान नियन्त्रणमा आयोजनाले ध्यान नदिँदा यस्तो अवस्था आएको यस क्षेत्रका किसानहरूको गुनासो छ ।

विराटनगर शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र माझीले बूढीखोलाको संरचना भत्कियो भने मोरङको कुनै पनि शाखा नहरमा पानी नजाने र यसबाट किसानलाई मात्र नभई राज्यलाई पनि धेरै नोक्सानी हुने बताए ।

उनले विभागले समयमै यसको उपचार गर्नुपर्ने बताए । यो नहरको संरचना भत्किए मोरङमा सिँचाइ हुने २८ हजार अर्थात् ४२ हजार बिघा खेतमा सिँचाइ गर्न समस्या हुने आयोजनाका डिभिजनल इञ्जिनियर रमेशलाल कर्णले जानकारी दिए ।

बूढीखोलाको संरचना बनाउन आयोजनाले २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लगाई काम भइरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए ।

लोहन्द्राखोलामा भएको कटान आवश्यक बजेट अभावमा तत्काल रोक्न नसकिएको यादवले जानकारी दिए । त्यस क्षेत्रका किसानले धानखेतीको समयमा पानीका लागि सास्ती व्यहोर्नुपरेको प्रमुख यादवले बताए ।

बूढीखोलामा रहेको पुरानो नहर बचाउन विभागले तत्काल एक करोड ५० लाख विनियोजन गर्नुपर्ने इञ्जिनियर कर्णले जानकारी दिए । विभागबाट ३४ लाखको बोलपत्र आह्वान भइसकेको उनले बताए । यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ६२ लाख बजेट विनियोजन भई बोलपत्र आह्वान हुने अवस्थामा रहेको उनले जानकारी दिए ।

हरिनगरा शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष सुजित माझीले धेरै पहिलेदेखि नै बूढीखोलाको संरचना बचाउन आवाज उठाइरहे पनि विभागले ध्यान नदिएकोमा दुःख व्यक्त गरे ।

त्यस्तै, बरियाती शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले दिनप्रतिदिन बूढीखोला गहिरिँदै गएको, नहरको संरचनाले पनि ५० वर्ष पार गरिसकेको उल्लेख गर्दै यसलाई बचाउनुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : ४० बजे

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा