मावाखोलाको पुलमा जोखिम « Khabarhub

मावाखोलाको पुलमा जोखिम


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक । हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ ।

तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको छ । सो पुल वर्ष दिनअघि मात्र पूर्णरूपमा सञ्चालनमा आएको थियो । पुलको दमक खण्डतर्फको पूर्वी भागको ग्यावियन भत्किन थालेपछि सडकसमेत भासिन थालेको छ ।

सडक भासिएसँग सो पुलमा अहिले एकतर्फीरूपमा मात्र यातायात सञ्चालन हुँदै आएको र यही अवस्था रहे अबको केही दिनभित्रमा पूरै सडक भत्किएर खोलामा खस्ने र यातायात सञ्चालनमा पूर्ण अवरोध सिर्जना हुनसक्ने खतरा रहेको पत्रकारसमेत रहनुभएका स्थानीयवासी नगेन्द्रमणि न्यौपाने बताउँछन् ।

पुल नबन्दासम्म वर्षायाममा दमक–१० र उर्लाबारी–९ का बासिन्दाले वारिपारि गर्न समस्या भोग्दै आएका थिए तर अहिले त्यही पुलको केही भागमा आवागमनमा नै असुविधा हुने गरी निर्मित संरचनामा क्षति आउन थालेपछि स्थानीयवासीमा चिन्ता छाएको उनको भनाइ छ । उनले पुल मर्मतमा बेलैमा चासो नदिने हो भने थप क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

विसं २०७१ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको उक्त पुलको अझै औपचारिक भने उद्घाटन गरिएको छैन । मावा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालका अनुसार रु चार करोड ४० लाखमा २०० मिटर लामो पुल बनाउनुपर्नेमा ७५ दशमलव ४५ मिटर मात्र बनेको छ । झापातर्फ पुलसम्म पुग्ने बाटो कालोपत्रसमेत भइसकेको छ भने मोरङतर्फ आमबारी–झुर्किया सडकसँग पुल जोड्ने करिब ६०० मिटर सडक एउटा बक्स कर्ल्भटसमेत निर्माण भएको छ । दुवैतर्फ पुलसम्म नै कालोपत्र सडक पुर्‍याउन सकेमात्र त्यस सडकले प्राथमिकता पाउने अध्यक्ष खनाल बताउँछन् ।

पुल निर्माणले दमकदेखि विराटनगरसम्म पुग्नका लागि करिब ३० किलोमिटर छोटिएको भए पनि पुलको संरक्षणमा स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान खासै जान नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ११ : ४० बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष