करेन्ट लागेर युवकको मृत्यु | Khabarhub Khabarhub

करेन्ट लागेर युवकको मृत्यु


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।

बिहान ७ बजे उनी हातमा मोबाइल लिएको अवस्थामा आफ्नै कोठामा अचेत भेटिएको स्थानीय पवन राना मगरले बताए । बिहान ४ बजे उनलाई करेन्ट लागेको आशंका गरिएको छ । त्यो समय गाउँको ट्रान्सफर्मरमा आगलागी भएको थियो ।

रानाका अनुसार मृतकको दाहिने हातमा मोबाइल थियो । ‘दाहिने हात मोबाइल र चार्जर पनि जलेको छ’, उनले भने । घटनास्थलमै मृत्यु भएको आशंसा गरिए पनि स्थानीयले उनलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याएका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई राहत स्वरूप २५ लाख रुपैयाँ दिनुपर्ने माग छ।

स्थानीयवासी, जनप्रतिनिधि र ग्रामीण विद्युतीकरणका पदाधिकारीबिच बिहीबार दिनभर जिपी कोइराला अस्पताल परिसरमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन । विद्युत्तीकरण समितिका सबै पदाधिकारी उपस्थित नहुँदा राहत दिनेबारे टुंगो नलागेको हो । शुक्रबार बिहान फेरि छलफल हुने जनाइएको छ ।

करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाइते भएका छन् । मृतकका काका ४१ वर्षीय दलबहादुर राना र २४ वर्षीया सोममाया थापा मगर घाइते भएका हुन् । घाइते दुवैको जिपी कोइराला अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था खतरामुक्त छ ।

बिहान ४ बजे घर अगाडिको ट्रान्सफर्मरमा आगो बलेको देखेपछि घरमा रहेको एमसिबी बन्द गर्दा हातमा करेन्ट लागेर ढलेको घाइते दलबहादुरले बताए । सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण गाउँमा दुःखद् घटना घटेको उनको भनाइ छ ।

‘ट्रान्सफर्मर बेलाबेलामा बिग्रिरहन्थ्यो । फ्युज गएर झिरझिर आगो बलिरहन्थ्यो । बिजुलीको मान्छेलाई मर्मत गरिदिन कतिपटक भनियो। सुन्दै सुनेनन्। हामीले आफैंले पनि कतिपटक फ्युज फेर्‍यौं’, उनले भने, ‘अहिले त फ्युज नै थिएन । हप्तामा दुई पटकसम्म बिग्रिन थालेपछि उनीहरूले डाइरेक्ट जोडदिए ।’

उनका अनुसार डेढ महिनादेखि ट्रान्सफर्मरमा फ्युज नराखी लाइन जोडिएको थियो । ट्रान्सफर्मरमा फ्युज जोडिएको भए गाउँमा दुःखद् घटना नघट्ने उनको जिकिर छ । बिहीबार बिहान हाइभोल्टेज विद्युत प्रवाह हुँदा ट्रान्सफर्मरसँगै अधिकांश घरको विद्युतीय सामाग्रीमा क्षति पुगेको स्थानीय बताउँछन् । दुरुङचुङमा रहेको ट्रान्सफर्मरबाट २७ घरमा विद्युत् प्रवाह हुँदै आएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ७ : ०१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका