धुलिखेल–सिन्धुली–बर्दिवास सडक मर्मत हुँदै | Khabarhub Khabarhub

धुलिखेल–सिन्धुली–बर्दिवास सडक मर्मत हुँदै


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम (ओभरले) र ‘सिङ्गल सर्फेस ट्रेसिङ’ समेत अघि बढेको छ ।

चालु आवमा झण्डै १०० किलोमिटर लम्बाइमा मर्मत भइरहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ ।

यो सडकमा पटके वा नियमित मर्मत गत वर्षहरुमा पनि आवश्यकतानुसार भइरहेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए। उनले भने, “सडकको तह नै थप्ने गरी र ठूलो क्षेत्रफलमा मर्मतको काम यही वर्षदेखि शुरु भएको हो ।”

मर्मतको काम भइरहेका अधिकांश स्थानमा नेपाली रकमबाट नै काम भइरहेको आयोजनाले जनाएको छ । सडक बोर्ड नेपालले बर्सेनि सडकबाट उठाएको दस्तुरबाट सडक मर्मतका लागि आवश्यक रकम छुट्ट्याउँदै आएको छ । त्यसबाहेक यो वर्ष विश्व बैंकको आर्थिक सहयोगमा समेत मर्मत अघि बढाइएको प्रमुख भाटले बताए ।

बिपी राजमार्गअन्तर्गतको नेपालथोक–धुलिखेल खण्डमा पाँच किमी ‘ओभरले’ सकिएको छ । सिन्धुलीको खुर्काेट चियाबारी खण्डमा चालु आवमा ३५ किमी सडक ‘ओभरले’ गर्ने लक्ष्य लिइएको थियो । त्योमध्ये हालसम्म २५ किमी सडक मर्मत सकिएर १० किमी सडकमा काम भइरहेको प्रमुख भाटले जानकारी दिए। उनले भने, “त्यो १० किमी सडक पनि चैतसम्ममा सकाउने योजना छ ।”

नेपालथोकदेखि धुलिखेलसम्मको सडकमा ‘सिङ्गल सर्फेस ट्रेसिङ’ १० किमी सकिएको र बाँकी १० किमी आगामी चैतमा सकाउने लक्ष्य लिइएको आयोजनाले जनाएको छ । नेपालथोक खुर्काेट सडकमा चालु आवमा २५ किमी ओभरले गर्ने योजना बनाइएको छ । त्यसमध्ये पाँच किमी सकिएर २० किमी सडक ‘ओभरले’ का लागि ठेक्का भइसकेको छ । उनले भने , “यो वर्ष ठेक्का भए पनि अर्काे वर्ष मात्रै काम सकिनेछ ।”

अहिले भकुण्डेबेँसी क्षेत्रमा पाँच किमी सडक मर्मतको काम भइरहेको छ । नेपालथोक–धुलिेखल सडकमा चालु आवमा २० किमी सडक ‘सिङ्गल सर्फेस ट्रेसिङ’ गर्ने योजना बनाइएको थियो । त्योमध्ये अहिलेसम्म मध्ये १० किमी सम्पन्न भइसकेको छ । बाँकी १० किमीमा निर्माण जारी रहेको र चैतसम्ममा सकाउने लक्ष्य लिइएको बताइएको छ । आयोजनाले सिन्धुली–बर्दिवास सडकमा पाँच किमी मर्मतका लागि ठेक्का सम्झौता गरिसकेको छ । त्यो सडक पनि चालु आवमा नै सम्पन्न हुने प्रमुख भाटले जानकारी दिए ।

सडक हस्तान्तरण सकिएको झण्डै छ वर्षपछि धेरै ठाउँमा एकै पटक मर्मत भइरहेको हो । फरकफरक खण्डमा फरक मितिमा निर्माण सकिएको आयोजनाले जनाएको छ । सबैभन्दा पछिल्लो पटक नेपालथोक–खुर्काेट सडक सम्पन्न भएर हस्तान्तरण भएको हो । त्यसमा पनि यो वर्षदेखि मर्मत शुरु भएको प्रमुख भाटले बताए । उनका अनुसार यो खण्डमा पाँच किमी सडकमा मर्मत सकियो भने २० किमी मर्मतका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भइसकेको छ ।

अहिले मर्मत भइरहेको सडकमध्ये नेपालथोक–खुर्काेट खण्डमा मर्मतका लागि वैदेशिक लगानीसमेत रहेको आयोजनाले जनाएको छ । सो सडकमा २० किमी मर्मतका लागि विश्व बैंकले रु १० करोड र नेपाल सरकारको रु चार करोड ६८ लाख लगानी रहेको छ । बैंकको ‘कोर रोड नेटवर्क’ कार्यक्रममा सो सडकको मर्मत हुन लागेको हो । चालु आवमा ठेक्का सम्झौता भए पनि निर्माणको काम आगामी आवमा मात्रै सम्पन्न हुने प्रमुख भाटले बताए ।

सडक निर्माणले एउटा अवधि पार गरेकाले एकै पटक ठूलो क्षेत्रमा मर्मत गरिएको उनले बताए । आगामी आवमा झण्डै ४० किमी सडकमा ‘ओभरले’ गर्न आवश्यक रहेको आयोजनाले जनाएको छ । उनले भने , “सडक बोर्डले जति रकम छुट्ट्याउँछ, हामीले त्यसैबाट मर्मत गछौँ ।”

सडकको लम्बाइ १६० किमी रहेको छ । सो सडक चार खण्ड रहेकामा बर्दिवास–सिन्धुलीबजारको लम्बाइ ३७ किमी, सिन्धुलीबजार–खुर्कोट ३९ किमी, खुर्कोट–नेपालथोक ३२ किमी र नेपालथोक–धुलिखेल ५० किमी छ । पूर्वी तराईलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो सडकका रूपमा यो राजमार्ग रहेको छ ।

जाइकाले सो सडकको एक लेनमा निर्माण गरेको थियो । सरकारले ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि सो सडकमा भने चौडाइ कम भएकै कारण ठूला सवारीसाधनलाई प्रवेश गर्न दिने गरिएको छैन । यातायात व्यवस्था विभागले ३२ सिटभन्दा ठूला क्षमताका सवारीसाधनलाई गुड्न अनुमति दिने गरेको छैन । धुलिखेल–नेपालथोक सडक सन् २००१ मा सम्पन्न भएको थियो भने नेपालथोक–खुर्कोट सडक सन् २०११ मा सम्पन्न भएको थियो । सडक स्तरोन्नति भइरहेको सडकमा विस्तारको समेत आवश्यकता रहेको छ ।

 

–सञ्चिता घिमिरे/रासस

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ७ : ४५ बजे

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई