बडादशैँको रौनक शुरू, आज घरघरमा फूलपाती भित्र्याइँदै | Khabarhub Khabarhub

बडादशैँको रौनक शुरू, आज घरघरमा फूलपाती भित्र्याइँदै


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बडादशैँ अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद्हरु बताउँछन् ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।

राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुँदै आएका छन् ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन ।

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ

नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुँदैछिन्नु । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्न्छ  सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ ।

सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुनेछ ।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ५ : ५९ बजे

बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध

काठमाडौं-  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वका तीन दिन (१३-१५

भारतीय कमेडियन सुनिल ग्रोभर नेपालमा 

काठमाडौं – भारतीय कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन्।  भोलि (शुक्रबार)

श्रीलंकामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

एजेन्सी – भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण

एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार

काठमाडौं– सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन

कीर्तिपुरमा माओवादीको सभा, समाजवादीका नेता पनि मिसिए (तस्बिरहरू)

काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि दलहरूले बिहीबार अन्तिम प्रचार