देउवा पाँचौँ पटक प्रधानमन्त्री, नियुक्तिको भाषा सच्चिएपछि शपथ | Khabarhub Khabarhub

देउवा पाँचौँ पटक प्रधानमन्त्री, नियुक्तिको भाषा सच्चिएपछि शपथ


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति सच्चिएपछि मात्र शपथ लिएका हुन् ।

समारोहका उद्घोषकले सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री भएको जानकारी गराएका छन् ।

शपथग्रहण समारोकमा निवर्तमान केपी शर्मा ओली भने सहभागी भएका थिएनन् ।

राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ ग्रहण मङ्गलबार साँझ ६ बजे हुने जानकारी गराएको भए पनि विज्ञप्ति सच्याउन भएको ढिलाइका कारण शपथग्रहण पनि पछि धकेलिएको थियो ।

देउवा २०५२ सालमा एमाले प्रधानमन्त्री मनमोहन अघिकारीले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना गराएर पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसको २६ वर्षपछि एमालेकै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन बदर गराएर देउवा प्रधानमन्त्री भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका हुन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनी आज प्रधानमन्त्री बनेका हुन् ।

यसअघि देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलोपटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए ।

त्यसको पाँच वर्षपछि उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा दुई पटक प्रधानमन्त्री भए । देउवाको दोस्रो पटक २०५८ साउन देखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री भएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई हटाएर ०५९ असोज १८ मा शासन सत्ता आफ्नो हात लिएका थिए । लगत्तै आन्दोलन भएपछि देउवालाई ०६१ साल जेठ २१ मा तेस्रो पटक प्रधानमन्त्री भए । तर उनको कार्यकाल ८ महिनाभन्दा बढी हुन सकेन । देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले माघ १९ मा आफैँ शासन सत्ता हातमा लिए ।

उनी २०७४ साल जेठ २३ मा माओवादी केन्द्रको समेत साथ पाएर प्रधानमन्त्री बनेका थिए । आफैँले गराएको चुनावमा नेपाली कांग्रेस हारेपछि चर्को आलोचना खेपेका देउवा अहिले अर्को चुनाव नआउँदै प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री नियुक्त भएसँगै उनले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने छ ।

देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनेछ र देउवाले नै फेरि अर्को चुनाव गराउनेछन् ।

देउवाले सानो आकारको मन्त्रिपरिषद् पनि गठन गरेका छन् । देउवा सरकारमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । यसैगरी माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनेका छन् । शर्मा अर्थ र भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेकी छिन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : २१ बजे

कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ?

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

माछा कुदेर समुद्रमा छाल उठ्दैन

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ सन् १९५८

खोटाङमा १४३ जनाको आँखाको शल्यक्रिया

खोटाङ– नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा

चर्चामा १२ भाइ : गृहमन्त्रीदेखि गोविन्द केसीसम्म

काठमाडौं- पछिल्लो समय नेपालको राजनीति उतारचढावपूर्ण, विवादास्पद एवं बैरागलाग्दो देखिएको

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं– नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने प्रतिबद्धता व्यक्त