वसन्त आरोहण : दुई आरोही समूहलाई अनुमति | Khabarhub Khabarhub

वसन्त आरोहण : दुई आरोही समूहलाई अनुमति


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन विभागले वसन्तयामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ ।

विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) आरोहणका लागि अनुमति जारी गरेको छ ।

नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन् । दुई आरोही समूहलाई अनुमति जारी गरिएको र अन्य धेरै आरोहीले आरोहण अनुमतिका लागि विभागमा निवेदन दिएको विभाग, पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार अनुमति माग्ने आरोहीमा अधिकांशले सगरमाथा र अन्नपूर्ण हिमाल आरोहण गर्न चाहेका छन् ।

आरोहणकै लागि अहिले विभागमा ५० भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले निवेदन दिएको विभागले जनाएको छ। वसन्तयामको आरोहणका लागि विभिन्न कम्पनीमार्फत धमाधम आरोहीले निवेदन दिएका हुन् । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ सुरू भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ ।

कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी वैशाखमा सगरमाथा आरोहण गर्ने भएको छ ।

यस वर्षको वसन्तयाममा सर्वोच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली सोमबार नेपाल आउने जनाएको छ ।

नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ ।

सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ सुरू भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पीसीआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति मन्त्रालयले जनाएको छ ।

अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने जनाइएको छ । पर्वतारोहणको मुख्य याम वसन्तका लागि अहिले विभिन्न पर्वतारोहणसम्बन्धी कम्पनीमार्फत धमाधम बुकिङ चलिरहेको छ ।

महामारीकै बीच बहराइनका राजकुमारसहितको टोलीलाई गत सरदयाममा मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले गत असोज २९ गते मनास्लुको सफल आरोहण गरेको थियो ।

त्यसपछि कतारका राजकुमारसहितको टोलीले गत कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो। असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ ।

अहिले पर्यटनका सबैजसो क्षेत्र खुलिसकेका छन् । पर्यटकीय गतिविधि पनि बढेको छ । सरकारले कोभिडका कारण स्थगन गरिएको पदयात्रा र पर्वतारोहण कात्तिकदेखि खुलाएको थियो । महामारीका कारण अघिल्लो वर्ष वसन्त याममा कुनै पनि आरोहण हुनसकेको थिएन ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : २० बजे

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली