कीर्ते कारोबार : रक्षक ठानिएका वडा अध्यक्ष यसरी भए भक्षक | Khabarhub Khabarhub

कीर्ते कारोबार : रक्षक ठानिएका वडा अध्यक्ष यसरी भए भक्षक



रुपन्देही– जग्गा धनीको नाम गरिब कोहार हो, उमेर ६९ वर्ष । रुपन्देहीको सांस्कृतिक नगरपालिका–१०, मधुवनीमा उनको नाममा १० कठ्ठा १७ धुर जग्गा छ, कित्ता नम्बर ४८८ र ५०७ ।

अहिले उक्त जग्गाधनीको नाम अर्कै छ, गोविन्दप्रसाद कोहार । सन्दीप कार्की हुँदै जग्गाधनीको नाम गोविन्दप्रसाद कोहार भएको हो ।

नागरिकता प्रमाणपत्र, वडा कार्यालयको फोटो प्रमाणितसहितको किटानी सिफारिस, कर तिरेको रसिद लगायतका कागजात मालपोत कार्यालय भैरहवामा पेश गरेर ‘गरिब कोहार’ ले ‘जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि’ लिए ।

जग्गाधनी गरिब कोहारका छोरा पाले कोहार भारतमा काम गर्छन् । आठ महिनाअघिको कुरा हो । उनले बाबुका नामको जग्गा धितो राखेर बैंकबाट ऋण लिने विचार गरे ।

ऋण लिने प्रक्रियामा चारकिल्ला प्रमाणित गर्न वडा कार्यालय पुग्दा वडा अध्यक्ष रमजान अली मियाँले आनाकानी गरे । पाले भन्छन्, ‘चारकिल्ला प्रमाणित गर्न वडा अध्यक्षलाई आग्रह गर्दा हामीसँग झगडा गरे, हाम्रा एकजना साथीलाई प्रहरी लगाएर चौकीमा एक रात थुनाए ।’
चार किल्ला प्रमाणित गराउन नसकेपछि बाबुछोरा गरिब र पालेले ऋण लिन सकेनन् ।

यसको केही दिनपछि जग्गा नापजाँच गर्ने भन्दै केही मानिस गरिबको जग्गामा आए । गरिबलाई यसरी आफ्नो जग्गामा किन मानिस आए भन्ने चासो भयो । कुरा बुझ्दा उक्त जग्गा धितो राखेर ऋण माग भएको थाहा भयो । उनले त ऋण मागेका थिएनन् ।

गरिब फेरि आफ्नो जग्गाको चारकिल्ला प्रमाणित गर्न वडा कार्यालयमा गए । वडा अध्यक्षले फेरि पनि काम गरेनन् । उनले गरिबका सँधियारलाई पनि धम्क्याए ।

यसपछि गरिब रुपन्देही मालपोत कार्यालय, भैरहवा गएर कुरा बुझे । गोविन्दप्रसाद कोहारले उक्त जग्गा धितो राखेर ग्लोबल आईएमई बैंकबाट १ करोड ३५ लाख रुपैयाँ कर्जा लिइसकेछन् । गरिबले मालपोत कार्यालयमा उजुरी गरे ।

यस विषयमा मालपोत कार्यालयले अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई पत्र लेखेको छ ।

यसपछि बल्ल गरिबले वडा अध्यक्षको मिलेमतोमा किर्ते गरेर आफ्नो जग्गा सन्दीपलाई बेचेको र सन्दीपले गोविन्दप्रसादलाई बेचेको थाहा पाए।

‘जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि’ लिने ‘गरिब कोहार’ नक्कली रहेको र उनले पेश गरेका सबै कागजात पनि नक्कली रहेको खुलासा भएको छ । यसपछि वडा अध्यक्ष मियाँ फरार छन् ।

वडा अध्यक्ष मियाँले भारतमा रहेका आफ्ना ससुरा देखाएर नक्कली नागरिकता बनाइदिएर जग्गा धनीपूर्जाको प्रतिलिपि बनाइदिई जग्गा बेचिदिएको सक्कली गरिब कोहारको आरोप छ ।

उनी भन्छन, ‘वास्तविक गरिब कोहार म हुँ, वडा अध्यक्षले नक्कली गरिब कोहार खडा गरेर मेरो जग्गा बेचिदिए । म अन्यायमा परेको छु, मलाई न्याय चाहियो ।’

वडा अध्यक्षले अर्कैको फोटो टाँसेर बनाएको सिफारिस पत्र

नक्कली गरिब कोहारले २०७७ फागुन १८ गते पाल्पा जिल्लाका सन्दीप कार्कीलाई जग्गा बेचेको र त्यही जग्ग सन्दीपले २०७८ साल वैशाख १२ गते कपिलवस्तुको यसोधरा गाउँपालिकाका गोविन्दप्रसाद कोहारलाई बेचेको मालपोत कार्यालय, रुपन्देहीको विवरणले देखाउँछ ।

जग्गा धनी स्रेस्ताको नोट र जग्गा धनीपूर्जामा फरक फरक व्यक्तिको फोटो छ । वडा कार्यालयले गरेको सिफारिसको आधारमा काम गरेको मालपोत कार्यालयका कर्मचारीको भनाइ छ । सबै प्रक्रिया मिलेको आधारमा काम भएको मालपोत कार्यालय, भैरहवाका प्रमुख केशवराज सुवेदीले बताए ।

उनी भन्छन्, ‘सबै कागजात हेर्दा सक्कल छन्, सक्कल कागजातमा काम गरेको हुँदा हाम्रो गल्ती छैन ।’

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले नक्कली गरिब कोहारको नागरिकता नक्कली रहेको प्रष्ट पारेको छ । नागरिकता बनाउ वडा कार्यालयबाट सिफारिस नआएको र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी नभएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

वडा अध्यक्ष मियाँ र उनका आफन्तको मिलेमतोमा नक्कली नागरिकता बनेको हुनसक्ने उनको भनाइ छ । यस घटनामा संलग्नहरुको खोजी र अनुसन्धान भइरहेको तामाङले बताए ।

वडा अध्यक्षको सिफारिसका आधारमा मालपोत कार्यालयबाट फटाफट काम हुनु शंकास्पद रहेको केही स्थानीयवासीको भनाइ छ ।
किर्ते गरेर अर्काको जग्गा बेच्ने दोषीमाथि कानूनी कारबाही हुनुपर्ने र वास्तविक जग्गाधनीले जग्गा फिर्ता पाउनुपर्ने स्थानीयवासी शत्रुघन तिवारीको भनाइ छ ।

उनको प्रश्न छ, ‘जनताको काम गर्न निर्वाचित भएका जनप्रतिनिधिले नै नक्कली मान्छे खडा गरेर जग्गा बेचिदिन्छन् भने हामी नागरिक कहाँ जाने ? कसको विश्वास गर्ने ?’

स्थानीय समाजसेवी उग्रमणि मिश्रले आफ्नो जग्गा पनि सुरक्षित छ कि छैन भन्ने चिन्ता लाग्न थालेको बताए ।
वडा अध्यक्ष मियाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १ : २८ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन