बेनीकोत पुनःनिर्माण « Khabarhub

बेनीकोत पुनःनिर्माण


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित  ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ ।

तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको  थियो ।

बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र संरक्षणको काम सुरु गरेको हो ।

नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रामकृष्ण बराइलीले चालु आर्थिक वर्षमा दुई शीर्षकमा विनियोजन गरिएको १३ लाखबाट कोतघर पुनःनिर्माण र व्यवस्थापनको काम थालिएको बताए ।

‘रु पाँच लाखबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ’, उनले भने, ‘अर्को शीर्षकमा विनियोजन भएको रु आठ लाखबाट कोतघर पुनःनिर्माण गर्न लागेका छौँ ।’

कोतघर संरक्षण तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा इँटा राख्ने काम सकिएको बताए ।

यसअघि उपयोगविहीन रहेको सो जग्गामा अहिले बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ । साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी हुने देखिएको छ ।

विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो । प्राध्यापक कर्णबहादुर बानियाद्वारा लिखित ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ नामको पुस्तकमा पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेको उल्लेख छ ।

ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायत हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने (टक्सार) बनाएका थिए ।

पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरी  कोतघर पुनःनिर्माण गर्नुपर्ने स्थानीयवासी पदमबहादुर खत्रीले बताए । कोतघरको संरक्षणसँगै त्यहाँ रहेका ऐतिहासिक हातहतियार अवलोकन गर्न मिल्ने गरी पुनःनिर्माण गर्न लागिएको हो ।

कोतघरमा बडादसैँ र चैतेदसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ । यस स्थललाई पुनःनिर्माण र संरक्षण गर्नसके  पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सकिने र म्याग्दी  तथा मुस्ताङ घुम्न आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १० : ४० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन