राष्ट्रपतिबाट कहिले स्वीकृत होला अध्यादेश ! | Khabarhub Khabarhub

राष्ट्रपतिबाट कहिले स्वीकृत होला अध्यादेश !



काठमाडौँ– सरकारले राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएको छ ।

अध्यादेशमा राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा कम्तीमा २० प्रतिशत सदस्य भए विभाजन हुनसक्ने प्रावधान राखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अध्यादेशको लिखत मङ्गलबार अपराह्न बुझाएका छन् । राष्ट्रपतिबाट स्वीकृत भइसकेको छैन ।

मुख्य विपक्षी दल नेकपा एमालेका नेताहरूले राष्ट्रपतिले उक्त आध्यादेशमा पुनिर्विचार गर्नुपर्ने बताएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ वैशाख ८ गते अध्यादेश जारी गराएका थिए । उक्त अध्यादेशमा राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य भए दल विभाजन हुनसक्ने प्रावधान राखिएको थियो ।

ऐनमा केन्द्रीय समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत सदस्यले मात्रै दल विभाजन गर्न सक्ने प्रावधान थियो ।

अध्यादेश जारी भएपछि तत्काली सत्तरूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै दोस्रा अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल लगायतका नेताहरूले चर्को विरोध गरेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीले नेकपा नै विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याएको आरोप लगाएका थिए ।

भुसको आगो झैँ भित्रभित्रै सल्किरहेको नेकपाको आन्तरिक विवाद यही अध्यादेश प्रकरणपछि विस्फोटकरूपमा सामुन्ने आएको थियो ।
त्यति बेलाको मुख्य विपक्षी दल नेपाली कांग्रेस, अर्को विपक्षी दल तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले पनि विरोध गरेका थिए । नागरिक अगुवाहरूले पनि विरोध जनाएका थिए ।

सरकारले संविधानको भावनाविपरीत राजनीतिक दल विभाजन गराउन खोजेको आरोप उनीहरूको थिए । खासगरी उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुटाउन अध्यादेश जारी गराएको आरोप ओलीमाथि लागेको थियो ।

लकडाउनको समयमा काठमाडौँबाट महोत्तरी पुगी समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपरहण गरेर काठमाडौँको एउटा होटलमा राख्न लगाएको आरोप पनि ओलीमाथि लागेको थियो ।

चौतर्फी चर्को विरोध भएपछि सरकारले चौथो दिन वैशाख १२ गते उक्त अध्यादेश फिर्ता लिएको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पनि जारी गरेको थियो । सरकारले दुवै अध्यादेश एकसाथ फिर्ता लिएको थियो ।

राजनीति दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी भएपछि उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टी महन्थ ठाकुर अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी रातारात एकीकृत भएका थिए ।

देउवा सरकारले ओली सरकारले राखेको भन्दा सहज प्रावधान राखेर अध्यादेश राष्ट्रपति समक्ष पु¥याएको छ । ओली सरकारले केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने प्रावधान राखेकोमा देउवा सरकारले २० प्रतिशत भए हुने बनाएको छ ।

प्रधानमन्त्रीले बुझाउनासाथ अध्यादेश स्वीकृत गर्ने गरेको आरोप राष्ट्रपति भण्डारीमाथि लाग्ने गरेको छ । तत्कालीन प्रधानमन्त्री ओलीका सन्दर्भमा यस्तो यस्तो आरोप गरेको थियो ।

प्रधानमन्त्री देउवाले मङ्गलबार अपराह्न ३ बजेअगावै राष्ट्रपतिलाई भेटेका भए पनि साँझ सात बजेसम्म अध्यादेश स्वीकृत भएको छैन ।

अध्यादेश जारी गराउने कदमको सत्तारूढ नेपाली कांग्रेसभित्रै विरोध भएको छ । ओली सरकारले उक्त अध्यादेश जारी गराउँदा नेपाली कांग्रेसले संविधान र लोकतन्त्रका विरुद्ध सरकारी कदम भनेर विरोध जनाएको थियो । प्रधानमन्त्री ओलीले संसद भङ्ग गरेर अध्यादेशमार्फत सरकार चलाउन खोजेको कांग्रेसको आरोप थियो ।

ओलीले दोस्रो पटक विघटन गराएको प्रतिनिधिसभा सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि शुरू भएको संसद अधिवेशन देउवा सरकारले २९ दिनमै अन्त्य गरेर अध्यादेशकै बाटो रोजेको छ ।

अधिवेशन चलेको उन्नतीस दिनमा प्रतिनिधिसभा बैठक ९ दिनमा जम्मा २० घण्टा १५ मिनेट चल्यो । पहिलो बैठकमा विभिन्न समयमा जारी भएका १५ वटा अध्यादेश प्रस्तुत भए । यीमध्ये १४ वटा आठौँ अधिवेशनमै दर्ता भएर प्रस्तुत भएका हुन् । एउटा अध्यादेश सातौँ अधिवेशनमा दर्ता भएको थियो ।

प्रतिनिधिसभामा अध्यादेशबाहेक ३७ वटा विधेयकहरू विचाराधीन छन् । तीमध्ये ‘कारागार विधेयक, २०७६’ मा सम्बन्धित समितिबाट प्रतिवेदन पेश भएकोबाहेक अन्य विधेयक अघि बढेनन् ।

सरकारले संसदमा पेश भएका अध्यादेशहरूमा प्रतिस्थापन विधेयक पनि पेश गरेन । अध्यादेशहरूमाथि छलफल नै भएन । संसदले अध्यादेश स्वीकार गरेको अवस्थामा सरकारले अधिवेशन शुरू भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

एक पटक फिर्ता लिएर फेरि २०७७ मंसिर ३० गते जारी भएको संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ फागुन २३ गते प्रतिनिधिसभामा पेश भए पनि प्रतिस्थापन विधेयक प्रस्तुत भएन ।

निष्क्रिय हुने भएपछि ओली सरकारले फेरि २०७८ वैशाख २१ गते उक्त अध्यादेश जारी गर्‍यो । यो अध्यादेश प्रतिनिधिसभा दोस्रो पटक पुनस्र्थापना भएपछि शुरू भएको आठौँ अधिवेशनको पहिलो बैठकमा, गत साउन ३ गते, फिर्ता लिएको जानकारी सरकारले गरायो ।

एउटा पनि विधेयक र अध्यादेश छलफलका लागि टेबल नगरी सरकारले हठाथ आठौँ अधिवेशन अन्त्य गरायो ।

अधिवेशन अन्त्य गरेको भोलिपल्टै अध्यादेश जारी गराउने निर्णयले देउवा सरकारले संसदको मानमर्दन गरेको र प्रतिनिधिसभा पुनर्स्थापना औचित्य पुष्टि गर्न नसकेको आरोप लाग्न थालेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको निर्णय पनि अदालतमा मुद्दाको विषय बन्न सक्ने सर्वोच्च अदालतको व्याख्यापछि राष्ट्रपतिले ‘परामर्श’ भनेर अल्झाउन सक्ने अनुमान पनि हुन थालेको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टी आन्तरिक विवादले विभाजनको संघारमा भए पनि ऐनबमोजिमको सदस्य संख्या नपुग्दा अल्पमतमा रहेका पक्षले दल विभाजन गर्न सकेका छैनन् ।

यसरकाणले ती दुई पार्टीका अल्पमतका नेताहरूलाई सहज हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।

अध्यादेश जारी नहुँदै नेकपा एमालेको ओली पक्षले माधव नेपालसहित १४ जनाको सांसद पद खोस्ने निर्णय गरेको छ । यसअघि मङ्गलबार नै ओली पक्षले केन्द्रीय समितिमा २६० जनाको नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाएको छ । आयोगमा एमालेका करिब २ सय जनाको मात्र नाम छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ७ : ०५ बजे

‘नेपाली राजनीतिमा देखिएको विकृतिको अन्त्य गर्नुपर्छ’

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा

हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित

एजेन्सी– हैटीमा गिरोह हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको

विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक

काठमाडौंको स्काइवाक टावरमा योगाभ्यास (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको कमलादिस्थित ‘स्काइवाक टावर’मा मंगलबार विभिन्न कार्यक्रमसहित दसौँ राष्ट्रिय

सुडानमा भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

एजेन्सी– सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा