पार्टी विभाजनको आक्रोश, विदेशी पार्टीलाई महाधिवेशनमा बोलाएको एमालेले नेकपा (एस) लाई नबोलाउने | Khabarhub Khabarhub

पार्टी विभाजनको आक्रोश, विदेशी पार्टीलाई महाधिवेशनमा बोलाएको एमालेले नेकपा (एस) लाई नबोलाउने


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनसँगै प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ । महाधिवेशन सुरु हुन अब आठ दिन मात्रै बाँकी छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनलाई विभिन्न राजनीतिक दल, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विदेशी पार्टीका नेतालगायतलाई निमन्त्रणा गरिएको छ ।

नेकपा (एकिकृत समाजवादी) लाई ‘अवैध’ भन्दै आएको एमालेले आफ्नो महाधिवेशनको उद्घाटन सत्रमा नबोलाउने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी गराउन बुधबार पत्रकार सम्मेलन गरेका एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा नेकपा (एस) बाहेक सबै दललाई निमन्त्रणा गरिएको जानकारी दिए ।

‘महाधिवेशनमा बस्ने इच्छा भएको भए त उहाँ सम्मानित नेता भएर बसिहाल्नु हुन्थ्यो नि । एमाले नै छाड्नु हुन्थेन । अर्को पार्टीको आमन्त्रित सदस्य भएर आउनुपर्ने नै थिएन’, उनले भने । महाधिवेशनमा दजनौँ विदेशी पार्टीका नेताहरू सहभागी हुने उनले बताए ।

महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणगढस्थित नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु भएको छ । बन्द सत्रमा सहभागीहरूलाई आवास तथा खानपानको व्यवस्था गर्न सौराहामा सञ्चालित होटलका ३५ सय कोठा बुक गरेर सम्झौता पनि भइसकेको छ ।

यसअघि चार हजार कोठा बुक गर्ने भनिएकोमा सम्झौताका बेला ३५ सय वटा कोठा मात्रै बुक गरिएको हो । एमालेको महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेन स्टारमा हुँदै छ । बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम सुरु भइसकेको एमालेको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।

एमालेको १०औँ महाधिवेशनबाट पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै आगामी तीन तहकै चुनावमा बहुमत हासिल गर्ने संकल्प गरिने भट्टराईले बताए । ‘चितवनमा हुने महाधिवेशनबाट एमालेलाई थप एकताद्ध र सदृढ बनाएर फर्किन्छौँ । र यहाँबाट फर्किदा सामूहिक रूपमा यो संकल्प गर्छौँ कि आउने स्थानीय चुनाव र प्रदेश र संघको चुनावमा एमालेले बहुमत हासिल गर्ने छ’, उनले भने । एमालेलाई कम्युनिष्ट क्रान्तिकारीहरूको मूल पार्टीका रूपमा स्थापित गर्ने अर्को संकल्प लिइने उनले बताए ।

७ मंसिरमा मोटरसाइकल र्‍याली

महाधिवेशनको प्रचारप्रसारका लागि ७ मंसिरसम्म जिल्लाहरुका पालिका र वडा तहमा महाधिवेशन केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्न निर्देशन दिइएको उनले बताए । ७ मंसिरमा देशभरका पालिका र जिल्ला तहमा एकैचोटी मोटरसाइकल र्‍यालीको आयोजना गरिँदै छ । ‘जिल्ला जिल्लामा १० मंसिरमा चितवन जाऔँ भन्ने अभियान सुरु भएका छन्’, उनले भने।

महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट एमालेका कार्यकर्ता र शुभेच्छुक गरी पाँच लाखभन्दा बढी सहभागी हुने उनले दाबी गरे । महाधिवेशन सम्पन्न गर्न पाँच करोडभन्दा बढी नै लाग्ने अनुमान गरिएको भट्टराईले बताए । त्यसका लागि पार्टी सदस्यहरूबाट प्रतिसदस्य एक सय रुपैयाँ उठाइएको छ । देशभरबाट प्राप्त पार्टी सदस्यहरूको विवरणअनुसार एमालेको सदस्य संख्या आठ लाख १० हजार पुगेको उनले बताए ।

नेतृत्व चयन सर्वसम्मतले हुने विश्वास

यसपटकको महाधिवेशनमा नेतृत्वको विषयमा अझै पनि दाबी र विरोधको माहोल बनेको छैन । एमालेबाट माधवकुमार नेपालको समूह छुट्टिएर गएपछि अध्यक्ष केपी ओली नै बलियो देखिन्छन् । नेताहरू ओलीले कसलाई के जिम्मेवारी दिन्छन् भनेर कुरेर बसेका छन् ।

एमालेले ६६ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । त्यसमध्ये ९५ प्रतिशतभन्दा बढी जिल्लामा सर्वसम्मतले प्रतिनिधि चयन भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । ‘अधिकांश प्रतिनिधि सर्वसम्मत ढंगले छानिनुभएको छ । यसले के संकेत गर्छ भने एमालेको महाधिवेशन पनि सर्वसम्मतको दिशामा गयो’, उनले भने, ‘चितवनमा हुने महाधिवेशनले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्दै सम्पन्न हुने छ । हामी त्यो दिशामा जाने कोसिस गर्ने छौँ।’

 

 

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : ५७ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र