कैलाली क्षेत्रनम्बर–२ मा भीम रावल पक्षद्वारा समानान्तर प्रतिनिधि छनोट | Khabarhub Khabarhub

कैलाली क्षेत्रनम्बर–२ मा भीम रावल पक्षद्वारा समानान्तर प्रतिनिधि छनोट


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली क्षेत्रनम्बर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपीशर्मा ओली पक्षको विवाद सतहमा आएको छ ।

मंगलबार कैलाली क्षेत्र नम्बर २ मा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । तर, भीम रावल पक्षले भने मंगलबार भएको छनोटलाई नमान्ने भन्दै बुधबार छुट्टै महाधिवेशन प्रतिनिधि छनोट गरेको छ ।

भीम रावल निकटका झपट रावलको निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर २ मा रावल निकटहरूले समानान्तर महाधिवेशन प्रतिनिधि छनोट गरेका हुन् । उनीहरूले यज्ञराज ढुंगाना, मनोज खड्का, सूर्य बहादुर थापा, वीरेन्द्र रावल, भीम कुँवर, रूप रावल, गंगा थापा, वसुन्धरा भण्डारी र ममता रावललाई महाधिवेशन प्रतिनिधि तोकेका छन् ।

कैलाली क्षेत्र नम्बर–२ बाटै मंगलबार एमालेको ओली समूहले रतन थापा, डेजि पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमला ओली, टिका थापा, पदम साउँद, गजेन्द्र स्वाँर र धरमबहादुर थापा मगरलाई पनि महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो ।

रावल निकट एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा महाधिवेशनका प्रत्याशी महादेव बजगाईंले बुधबार बोलाएको भेलाले सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको बताएका छन् । मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको १०‍औं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नम्बर २ बाट ६ पुरुष र तीन महिला गरी जम्मा नौ जना प्रतिनिधि छनोट गरिएको बजगाईंले बताए ।

उनले मंगलबार एमाले पार्टीले नभई रतन थापाले कम्पनी चलाएझैँ चलाएको भन्दै मंगलबारको भेला आधिकारिक नभएको दाबीसमेत गरेका छन् । ‘पार्टीको पद्धति अनुसार नभई मंगलबार एकलौटी ढंगले होटेलको कोठामा बसेर आफ्नालाई टिका लगाउँदै महाधिवेशन प्रतिनिधि छानिएको नाटक गरिएको थियो,’ उनले भने, ‘हामीलाई त्यो मान्य हुँदैन । पार्टीका सबै संगठित सदस्यको बैठक बसाएर हामीले बुधबार महाधिवेशन प्रतिनिधि छानेका छौं ।’ उनले बुधबारको बैठकमा क्षेत्रनम्बर दुईका बहुमत संगठित सदस्यको सहभागिता रहेको दाबी गरे ।

मंगलबार भएको प्रतिनिधि छनोट पार्टीको नभई गुटको आयोजनामा भएको उनी बताउँछन् । ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महाधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्,’ बजगाईंले भने, ‘त्यो भ्रम छर्ने काम मात्रै हो, क्षेत्र नम्बर दुईमा पार्टीको भेला भएको छैन, बुधबार मात्रै हामीले महाधिवेशन प्रतिनिधि छनोट गर्दै छौं ।’

महाधिवेशनका लागि प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै अर्को पक्षले भेला बोलाएपछि एमाले कैलालीका अध्यक्षसमेत रहेका क्षेत्रनम्बर–२ का महाधिवेशन प्रतिनिधि रतन थापाले कारबाहीको चेतावनी दिएका छन् । पार्टी विरोधी गतिविधिमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

एमाले कैलालीका अध्यक्ष थापाले भने मंगलबार गरिएको प्रतिनिधि छनोट पार्टीको आधिकारिक भएको बताए । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार ९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको बताए । उनले पार्टीका विरुद्ध गतिविधि गरेमा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले भनेका छन्, ‘नेकपा एमाले लम्किमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कहीँ कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजना गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन् । पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन । तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उद्देश्य हेरि उचित कारबाहीको विषय बनाउने छ ।’ त्यस्ता कार्यक्रममा सहभागी नहुन उनले पार्टी कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष थापाले एमालेका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट भइसकेको बताए । पार्टीको आधिकारिक संगठनले विधिवत् छलफल गरी महाधिवेशन प्रतिनिधि चयन गरिएको उनले बताए । तर, बुधबार कैलालीको लम्कीमा आयोजित गुटको भेलालाई भने मान्यता नदिइने उनले बताए ।

‘गुट रहित एमालेलाई जबरजस्ती गुट छ भन्ने देखाउन केही व्यक्तिले यस्ता क्रियाकलाप गरिरहेका छन्, उनले भने, ‘त्यो राम्रो हैन, संस्थागत निर्णय बेगर गरिएका कुनै पनि क्रियाकलाप मान्य हुनेवाला छैनन् ।’

यसैबीच उपाध्यक्ष भीम रावलले एक वक्तव्य जारी गर्दै कैलालीको विवाद समाधान गर्न पार्टी केपी शर्मा ओली तथा संगठन विभागलाई आग्रह गरेका छन् । उनले मंगलबार छनोट गरिएको महाधिवेशन प्रतिनिधिविरुद्ध उजुरी परेको भन्दै त्यसलाई मान्यता दिन नसकिने बताएका छन् ।

तर उनले बुधबार छनोट गरिएका प्रतिनिधिबारे भने केही उल्लेख गरेका छैनन् ।

प्रेस वक्तव्य
मितिः २०७८।८।१
पार्टीमा उत्पन्न अन्तरविरोध र समस्याहरुको समाधान गर्न तथा पार्टीलाई विधि र पद्धतिसम्मत किसिमले चलाउँदै एकताबद्धरुपमा अगाडि बढ्नको लागि १०–बुँदे सहमति भई त्यसको कार्यान्वयनको लागि अन्तरपार्टी निर्देशन–१२ जारी भएको थियो । यही भावनाका साथ विधि र पद्धतिको पूर्ण पालना गरी दसौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो । तर यस्तो चाहना र आवश्यकता विपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नविकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन् ।

कैलाली लगायतका कतिपय जिल्लामा सदस्यता वितरण, नविकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे मैले पार्टीका बैठकहरुमा कुरा उठाउनुका साथै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराई त्यस्ता क्रियाकलाप रोकी विधि र पद्धतिसम्मत किसिमले काम गर्न निर्देशन हुन मैले मात्र होइन अरुबाट पनि माग गरिएको थियो । तर त्यस्ता गतिविधि रोकिएको देखिएन । यसको ज्वलन्त उदाहरण कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचारी कार्यलाई लिनससकिन्छ ।

समयमै त्यहाँको वस्तुतथ्यबारे पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई लिखित र मौखिकरुपमा जानकारी गराउँदै विधिसम्मत् प्रतिनिधि चयनको काम हुन आग्रह गरिएको थियो । बिडम्बना, प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रिया बिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ । यसका विरुद्ध उक्त क्षेत्रका १२०० बढी पार्टी सदस्यहरुले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेका छन् । यसको पार्टी अध्यक्ष र संगठन विभागबाट सुनुवाई होस् र पार्टीको निर्णय–निर्देशन विपरीत कथित प्रतिनिधि चयन रद्द गरी विधिसम्मत् किसिमले प्रतिनिधिको चयन गरियोस् ।

२०७७ साल चैत मसान्तसम्म सदस्यता प्राप्त गरेका व्यक्तिहरुले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने, निर्वाचन कमिटीको गठन गरी निर्धारित प्रणाली अनुसार विधिवत् प्रतिनिधिको चयन गर्नुपर्ने स्पष्ट पार्टी निर्देशन विपरीत उम्मेदवारीको दरखास्त दिन नदिने, सहमति नै नभई, निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिनु अवैध हो । यस्तो क्रियाकलापप्रति असन्तुष्टि र विरोध प्रकट हुने क्रममा विभिन्न ठाउँबाट पार्टीमा लिखित र मौखिक उजुरी पर्नुका साथै जिल्ला कमिटीका सदस्यले पदबाट राजीनामा दिनेसम्मको स्थिति देखिएकोे छ । पार्टीले फुटको सामना गरिरहेको बेला उक्त प्रकारका क्रियाकलाप हुनु अत्यन्त दुःखको कुरा हो र यसले पार्टीलाई गम्भीर क्षति पु¥याउँछ । अतः उक्त प्रकारका पार्टी निर्णय र विधि–पद्धति विपरीतका कार्यलाई बदर गरी दसौं महाधिवेशनको स्वच्छता, निष्पक्षता, गरिमा र विश्वसनीयताको रक्षा गर्न उच्च नेतृत्व एवम् सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछु ।

भीम रावल
उपाध्यक्ष, केन्द्रीय कमिटी
नेकपा (एमाले)

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ३८ बजे

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका