द्वन्द्वका घाइतेले उपचार नपाउँदाको पीडा | Khabarhub Khabarhub

द्वन्द्वका घाइतेले उपचार नपाउँदाको पीडा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका कृष्णपुर नगरपालिका–६ बञ्जरियाका जीतबहादुर करियाकङ्ग्रहवाले आर्थिक अभावले शरीरमा रहेको गोली निकाल्न नसक्दा कष्टकर जीवन बिताउँदै आएका छन् । बायाँ खुट्टा, कम्मर र घुँडामा लागेको गोली निकाल्न नसक्दा उहाँले असैह्य पीडा सहेर बस्नुपरेको छ ।

“गोलीकै कारण खुट्टा आधा मात्रै चल्छ”, उनले भने, “पीडा खपिनसक्नु छ । पीडा सहेर बस्नुबाहेक विकल्प छैन ।” उपचारका लागि धेरै ठाउँमा गुहार लगाए पनि कुनै निकायबाट सहयोग पाउन नसकिएको उनले बताए । घरको आर्थिक अवस्था दयनीय भएकाले उपचार खर्च जुटाउन नसक्दा घरमै बस्नुपरेको दुखेसो उनले पोखे । गोलीका कारण उनको खुट्टा आधामात्रै चल्ने गरेको छ ।

चिसोको बेला गोलीकै कारण कम्मर र घुँडा असाध्यै दुख्ने गरेको छ । गत वर्षसम्म राज्यका तर्फबाट आजीवन निर्वाह भत्तावापत रु छ हजार रकम मासिकरूपमा पाउँदै आएका उनले हाल त्यो भत्ताको रकमसमेत पाउने गरेका छैनन् । “एक वर्षअघिदेखि पाउँदै आएको भत्ताको रकम रोकिएको छ”, उनले भने, “पुनः मूल्याङ्कन गर्ने भनेपछि निवेदनसहित प्रमुख जिल्ला अधिकारीलाई मेडिकल रिपोर्ट र एक्सरे पेश गरे पनि भत्ताको रकम उपलब्ध हुनसकेको छैन ।”

विसं २०६२ मा कालिकोटको पिलीमा व्यारेक कब्जा गर्ने क्रममा जीतबहादुर घाइते भएका हुन् । घाइते भएपछि तत्कालै भारतको गुडाँगावँमा ११ महिना उनको उपचार गरिएको थियो । भारतबाट फर्केका उनले केही समय घरमै बसे पनि शरीरमा असैह्य पीडा हुन थालेपछि काठमाडौँस्थित टिचिङ हस्पिटलमा छ महिना बसे । गोली निकाल्नका लागि जटिल प्रकारको शल्यक्रिया गर्नुपर्ने भएकाले आवश्यक रकम जुटाउन नसक्दा उनी घरमै बस्दै आएका छन् ।

“घरको आर्थिक अर्थावस्था कमजोर छ”, उनले भने, ‘दैनिक औषधि खानुपर्ने हुन्छ । औषधिको रकम जुटाउनसमेत सक्ने अवस्था छैन ।”

द्वन्द्वका घाइते भीमदत्त नगरपालिका–९ तिलकेनीका गजेन्द्र बोहरासमेत उपचार खर्चकै अभावमा घरमै बस्दै आएका छन् । बोहराको कम्मरको जोर्नीमा लागेको गोली निकाल्न सकिएको छैन । गोली निकाल्नका लागि चिकित्सकले रु पाँच लाख जति खर्च लाग्ने भनेपछि उनले रकमको जोहो मिलाउन सकेका छैनन् । परिवारको अर्थावस्था कमजोर भएकाले रकमको व्यवस्था गर्न नसकिएको उनले बताए ।

शुक्लाफाँटा नगरपालिका–३ की रीता चौधरीको शरीरमा लागेका बमका छर्रा निकाल्न नसब्दा उनले समेत पीडा खेप्दै आएका छन् । द्वन्द्वका क्रममा तत्कालीन सुरक्षा फौजले धारापानी भन्ने स्थानमा बम प्रहार गर्दा छर्रा लागेको थियो । लोकतन्त्र आएपछि सबैका सपना पूरा हुन्छन् भनिए पनि लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि ज्यानको बाजी थापेर लडेका योद्धालाई राज्यले बेवास्ता गरेको पीडितहरूका भनाइ छ ।

“जुन शासन व्यवस्था ल्याउनका लागि लड्यौँ । त्यो व्यवस्था आइसकेको छ”, द्वन्द्वका घाइते रामबहादुर रानाले भने, “संविधान बनेको छ । राज्य व्यवस्थाको परिकल्पनाअनुरुप तीन तहका सरकार बनेका छन् । जसले व्यवस्था ल्याउनका लागि लड्यो त्यसको अवस्था दयनीय छ । उपचार खर्चसमेत नपाउँदा छटपटिए बाँच्नुपरेको छ । जुन राजनीतिक दलहरुलाई निकट सम्झिन्थ्यौँ । ती पनि टाढिदै गएका छन्”, घाइते भएर घरमा आएपछि हालचाल बुझ्नसमेत कुनै पार्टीको नेता नआएको उनले दुखेसो पोखे।

द्वन्द्व अन्त्य भएको १५ वर्ष बित्नै लागेको छ । द्वन्द्वका घाइतेका अवस्था दयनीय छ । घाइतेका उपचारको व्यवस्था राज्यले मिलाउनुपर्ने हो । सोधीखोजी नै नहुनु विडम्बना भएको अधिकारकर्मीको भनाइ छ । कञ्चनपुरमा मात्रै सशस्त्र द्वन्द्वका क्रममा घाइते भएकाको सङ्ख्या ६५ जना बढी छन् । रासस

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : ३४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र