सिताके च्याउबाट राम्रो आम्दानी « Khabarhub

सिताके च्याउबाट राम्रो आम्दानी


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– च्याउ खेतीलाई रोजगारीको आधार बनाई किसानले मनग्य आम्दानी लिन थालेका छन्। सामान्य तालिम लिएपछि थोरै लगानीमा च्याउ खेती गर्न सकिने भएपछि किसानमा यसतर्फ आकर्षणसमेत बढेको छ।

गोरखा नगरपालिका–५ ठूलोरिपका सानुमाया थापामगरले सिताके च्याउको खेतीबाट मनग्य आम्दानी गर्दै आएकी छन् ।

मगर परिवारले च्याउखेतीबाट वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । बजारमा राम्रो मूल्यमा बिक्री हुने सिताके च्याउको व्यावसायिक खेतीले परिवारमा रहेका २२ जनाले राम्रोसँग जीविकोपार्जन गर्दै आएको उनले बताइन ।

सुरु–सुरुमा आफैँले खान खेती गरेका थापामगरको परिवारले विस्तारै यसलाई बढाउँदै लगेर अहिले व्यावसायिकरूपमा सिताके च्याउखेती गर्न थालेका हुन् ।

‘विसं २०७२ माघबाट खेती गर्न सुरु गरेको हो, अहिले करिब छ वर्ष हुनै लाग्यो’, थापामगरले भनिन्, ‘आम्दानी राम्रो भएकाले घरका २२ जना परिवार पाल्न समस्या परेको छैन ।’

सिताके च्याउखेतीबाट सिजनका बेला दैनिक रु पाँच हजारसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । ‘राम्रो उम्रेका बेला एकैदिनमा १० किलोसम्म उत्पादन हुन्छ, बजारमा माग बढी भएकाले पुर्‍याउन नै सकिदैन’, उनले भनिन् । अहिले बजारमा प्रतिकिलो रु ५०० मा सिताके च्याउ बिक्री हुने गरेको उनले जानकारी दिइन ।

उत्पादन भएका च्याउ बजारभन्दा पनि वरपर र छरछिमेकलाई बिक्री गर्दैमा सकिने भएकाले मुख्य बजारमा पुर्‍याउन अझै नपाएको थापामगरको भनाइ छ । ‘विशेषगरी मङ्सिरदेखि चैत महिनासम्म राम्रो उत्पादन हुने गर्छ’, उनले भनिन्, ‘वर्षभरिमा यो चार महिनाको अवधिमा राम्रो कमाइ हुन्छ ।’

थापामगरको परिवारले दुईवटा प्लाष्टिकको घर निर्माण गरेर सिताके च्याउखेती गर्दै आएका छन् । ती घरमा करिब एक हजार मुडामा सिताके च्याउखेती गर्दै आएको उनले बताइन । मुटुरोगीलाई फाइदा पुग्ने भन्ने सुनेकाले सुरु–सुरुमा आफैँले किनेर खाने गरेका थापामगरले विस्तारै आफैँ सिताके च्याउखेतीमा लागेका हुन् ।

‘पकाएर खाँदा अरु च्याउभन्दा स्वादिलो र मिठो भएपछि आफैँले खेती गर्ने सोच बनाएँ, अहिले यही खेतीबाट परिवारलाई खाना लाउन र बालबच्चा पढाउन पुगेको छ’, उनले भने । थोरै लगानीमा सुरु गरेको च्याउखेतीले राम्रो आम्दानी देला भन्ने नसोचेका थापामगरको परिवार अहिले यसबाट राम्रो आम्दानी हुन थालेपछि सन्तुष्ट बनेका छन् ।

व्यावसायिकरूपमा च्याउखेती गर्न थालेको पाँच वर्ष भइसक्दा पनि कतैबाट पनि आर्थिक तथा प्राविधिक सहयोग नपाएको गुनासो उनको छ । ‘राम्रोसँग तालिम पनि अहिलेसम्म लिन पाएको छैन’, उनले भने, ‘श्रीमानले युट्युब हेर्नुहुन्छ, त्यही हेरेर कसरी खेती गर्न सिक्छौँ र त्यसैका आधारमा काम गछौँ ।’ शुरुमा काठको मुढामा च्याउको बीउ प्वाल पारेर रोपेपछि करिब छ महिनापछि उत्पादन सुरु हुने किसान थापामगरको भनाइ छ ।

‘छ महिना ठ्याक्कै लाग्छ पहिलोपटक उत्पादन सुरु हुन’, उनले भनिन्, ‘त्यसपछि निरन्तर पाँच वर्षसम्म एकपटक रोपेको बीउले उत्पादन दिने हुँदा काम गर्न त्यति झन्झटिलो भने छैन ।’ सुरुमा राम्रो हुँदैन कि भन्ने लागेको भए पनि अहिले उत्पादन र आम्दानी भएको देखेर आफूहरु सिताके च्याउको खेतीबाट सन्तुष्ट भएको कृषक थापामगरको भनाइ छ ।

जिल्लामा एक हजारभन्दा बढी किसान च्याउ खेतीमा संलग्न रहेको बताइएको छ । च्याउ खेतीमा किसानको आकर्षण बढेकाले प्राविधिक समस्या निराकरणका लागि आवश्यक जनशक्ति परिचालन गर्नुपर्ने माग किसानको छ । च्याउको माग ठूला सहरहरूमा धेरै छ । त्यसैले ठूलो परिमाणमा सामूहिक खेती गर्न किसानहरूलाई सुझाएको प्राविधिकहरुको भनाइ छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ३ : ४० बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र