कोरोना महामारीकाबीच आज सेतो मच्छेन्द्रनाथको रथयात्रा, राष्ट्रपतिले दर्शन गर्ने « Khabarhub

कोरोना महामारीकाबीच आज सेतो मच्छेन्द्रनाथको रथयात्रा, राष्ट्रपतिले दर्शन गर्ने


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको छ ।

वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गर्ने निर्णय गरेको समितिका संयोजक नीलकाजी शाक्यले राससलाई जानकारी दिए ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षित रुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।

एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो ।

रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गरेको शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले बताए । अष्टमीका दिन कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा शुरु गर्ने परम्परा छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ ।

असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो ।

रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पूजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौँ महानगरपालिका वडा नं. २५ का अध्यक्ष शाक्यले बताए ।

सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहज रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ ।

यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समितिका सचिव बज्राचार्यले सुनाए । रथयात्रा चलाउने मार्गमा एक घण्टा अघि नै माइकिङ गरेर सुरक्षित रुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गर्ने तयारी समितिको छ ।

जात्रामा सहभागी हुनुअघि र भइसकेपछि पनि साबुन पानीले हात धुन पनि समितिले अनुरोध गरेको छ ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ ।

प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : ५५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते