विश्वनाथन आनन्द, सचिन तेन्दुलकर, मेरी कोम या ध्यान चन्द; दक्षिण एसियाली खेलकुदमा सर्वकालीन उत्कृष्ट व्यक्तित्व को हो ?
यो प्रश्नको जवाफ त्यति सजिलो छैन । त्यसो त इमरान खान, सनथ जयसुर्या, सुशान्तिका जयसिंघे, हसिम खान र जहाँगिर खान लगायत अनेकन् स्टारका आफ्नै फ्यान थिए । आजका दिनमा पनि यिनका खेलबाट लालायित हुनेहरू छन् ।
परन्तु, लामो समय आफ्नो खेलमा जगजगी मच्चाएका यी चार खेलाडीले नै शायद दक्षिण एसियाली खेलकुदका तिन उत्कृष्ट खेलाडीको कोटीमा आफूलाई लामो समय उभ्याउन सक्नेछन् ।
सन् १९६९ मा तामिलनाडुमा जन्मिएका आनन्द सन् १९८८ मा भारतका पहिलो ग्रान्डमास्टर बनेका थिए । उनी सन् २००६ मा २८०० रेटिङ पार गर्दै यो सफलता पाउने चौथो खेलाडी थिए । यस अघि क्रामेनिक, भासेलिन टोपोलोभ र गेरी कास्पारोभले यो सफलता पाएका थिए ।
यो सफलताभन्दा अघि नै आनन्द सन् २००२ मा विश्व च्याम्पियन भइसकेका थिए । एलेक्सी सिरोभलाई ६ खेलको शृंखलामा हराउँदै उनी पहिलो पटक विश्व च्याम्पियन भएका हुन् ।
यसपछि सन् २००७ मा भ्लाडिमिर क्रामेनिक, सन् २०१० मा भासेलिन टोपोलोभ तथा सन् २०१२ बोरिस गेलफान्दलाई हराउँदै आनन्द विश्व च्याम्पियन भएका थिए ।
सन् २०१३ मा म्याग्नस कार्लसनसँग पराजित हुँदै उपाधि गुमाएका आनन्दले अर्को वर्ष पनि क्यान्डिडेट प्रतियोगितामा सफलता पाउँदै कार्लसनसँगको भिडन्त त पक्का गरे तर उनी दोस्रो पटक पनि हारे । बरियता क्रममा उलटपुलट चेस खेलमा स्वाभाविक मानिन्छ । उनको हकमा पनि शीर्ष बरियता गुमाउने र पाउने क्रम कायम रह्यो । यस क्रममा उनी सबैभन्दा धेरै शीर्ष बरियतामा टिकेको २१ महिना हो ।
छिटो चेस खेल्ने खेलाडी भएका कारण बाल्यकालमा आनन्दको छवि र्यापिड खेलाडीका रूपमा थियो । उमेर पाको बन्दै गएपछि उनले आफूलाई क्लासिकल खेलाडीको रूपमा परिणत गरे । सन् २००३ र सन् २०१७ मा उनले फिडे र्यापिड चेस च्याम्पियनसिपको उपाधि जिते ।
उनले सन् १९९१–९२ मा भारतको सर्वाधिक प्रतिष्ठित राजीव गान्धी खेल रत्न अवार्ड जिते । सन् २००७ मा उनलाई भारतीय नागरिकले पाउने दोस्रो ठूलो अवार्ड पद्म भूषण प्रदान गरियो ।
चेस बोर्डका जीवनबाहेक आनन्दका अन्य थुप्रै विषय विवादित पनि बने । उनका कतिपय कामका त्यतिकै प्रशंसित पनि भए ।
सन् २०१० मा आनन्दले ओलम्पिक गोल्डक्वेस्ट स्थापना गरे । युवा खेलाडीहरूका लागि पथ प्रदर्शक बन्ने योजनाका साथ यो स्थापित भएको हो । सन् २०१० मा गुजरात विश्वविद्यालयमा उनी अतिथिको रूपमा पुगेका थिए । जहाँ एकै पटक २०४८६ खेलाडीको खेल भएर कीर्तिमान कायम भएको थियो ।
राजनीतिक चलखेलभन्दा टाढा रहने भएका कारण कारण आनन्द विवादमा आएनन् । यसैको प्रतिफल हो कि उनका प्रतिस्पर्धीका रूपमा रहेका क्रामेनिक, कास्पारोभ र कार्लसन नै सन् २०१० को विश्व च्याम्पियनसिपको तयारीमा उनका सहयोगी बनेका थिए ।
सबै चेस खेलाडीका माझ लोकप्रिय आनन्द ‘टाइगर अफ मद्रास ’को रूपमा चिनिन्छन् । ८० को दशकमा टिनएजमै रहँदा भारतीय चेसमा सनसनी फैलाएका आनन्दका लागि सन् ९० को दशकमा संसारका हेर्न लायक खेलाडी भइसकेका थिए ।
सन् १९९८ को फिडे साइकलमा उत्कृष्ट प्रदर्शन गर्दै आनन्द पहिलोपटक विश्व च्याम्पियनसिपको उपाधिनजिक पुगेका थिए । एन्तोनी कार्पोभसँगको खेलमा ३–३ को बराबरी भएपछि र्यापिडमा आनन्द पराजित भएका थिए ।
सन् २००० को दशकदेखि विश्व स्तरीय प्रतियोगितामा छाएका आनन्दको ओलम्पियाडमा उपस्थिति र प्रदर्शनका कारण धेरै भारतीयको असन्तुष्टि नभएको होइन । उच्च फर्ममा रहँदा भारतीयसँग सामिप्य नभएको आरोप उनीमाथि लागे पनि दक्षिण एसियाको शीर्ष खेलकर्मीको कोटीमा इतिहासले उनलाई सम्झने छ ।
आनन्दभन्दा चार वर्षपछि जन्मिएका सचिन रमेश तेन्दुलकर १०० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने संसारका एकमात्र क्रिकेटर हुन् । साथै उनी एक दिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि हुन् ।
१५ नोभेम्बर १९८९ मा तेन्दुलकर पहिलो पटक टेस्ट टोलीमा समावेश थिए । १६ वर्षको उमेरमा उनले पाकिस्तान विरुद्धमा टेस्टमा खेल्ने अवसर पाएका थिए । उनले २४ वर्ष भारतको राष्ट्रिय टोलीमा तथा घरेलु प्रतियोगितामा मुम्बईको प्रतिनिधित्व गर्दै बिताए ।
सन् २००२ मा सचिन एलन बोर्डरपछिको दोस्रो उत्कृष्ट टेस्ट ब्याट्सम्यान तथा भिभियन रिचर्डसन पछिको दोस्रो उत्कृष्ट ब्याट्सम्यानमा सूचीकृत गरिए । उनी छैटौँ पटक विश्वकपमा सहभागी भएपछि सन् २०११ मा भारत उपाधि जित्न सफल भयो ।
यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा भारत फाइनलमा प्रवेश गरेको थियो । यसै प्रतियोगितामा सचिन ‘म्यान अफ द सिरिज’ भएका थिए ।
सचिनले सन् १९९४ मा अर्जुन अवार्ड पाएका थिए । उनी सन् १९९७ मा खेल रत्न अवार्ड, सन् १९९९ मा पद्मश्री तथा सन् २००८ मा पद्म भूषण अवार्ड पाउन सफल भए । सन् २०१३ को १६ नोभेम्बरमा अन्तिम खेल खेलेको केही घण्टापछि नै भारतीय सरकारले उनलाई भारत रत्न प्रदान गर्ने निर्णय गरेको थियो ।
सचिन सन् २०१० मा क्रिकेटर अफ द इयर अवार्डसहित गेरी सोर्बर्स ट्रफी जित्न सफल भएका थिए । उनी सन् २०१२ मा भारतको माथिल्लो सदन राज्यसभाका लागि चयन भएका थिए ।
सन् २०१२ मै उनी विना सैन्य पृष्ठभूमिको पहिलो व्यक्तिको रूपमा इन्डियन एयर फोर्सको ग्रुप क्याप्टेन घोषित गरिए । सोही वर्ष उनी ‘अर्डर अफ अस्ट्रेलिया’ का मानार्थ सदस्य भए ।
सन् २०१० मा टाइम म्यागेजिनले संसारका १०० प्रभावकारी व्यक्तिको सूचीमा सचिनलाई पनि समावेश गरेको थियो । सन् २०१२ को डिसेम्बरमा उनले एक दिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । सन् २०१३ को अक्टोबरमा उनले टी २० क्रिकेटबाट पनि सन्यास घोषणा गरे ।
१६ नोभेम्बर २०१३ मा आफ्नो व्यक्तिगत दुई सयौँ टेस्टको रूपमा वेस्टइन्डिजविरुद्ध सहभागी हुँदै सचिनले खेलाडी जीवनलाई पूर्ण विराम लगाए । उनले ६६४ अन्तर्राष्ट्रिय खेलमा कुल ३४ हजार ३५७ रन प्रहार गरे ।
सन् १९७३ मा महाराष्ट्रका मराठी उपन्यासकार तथा कवि रमेश तेन्दुलकर तथा बिमा कम्पनीमा काम गर्ने रजनीका छोराका रूपमा जन्मिएका सचिन नामकरण सङ्गीतकार सचिनदेव बर्माबाट प्रभावित हुँदै गरिएको थियो ।
सचिन बाल्यकालमा झगडालु स्वभावका थिए । टेनिस खेल्न रुचाउँथे । सन् १९८४ मा दाजु अजित मार्फत सचिन चर्चित क्रिकेट प्रशिक्षक रमाकान्त आर्चेकरको सामिप्यमा पुगे ।
पहिलो परीक्षणमा प्रशिक्षक वाक्क भए पनि अजितको अनुरोधमा सचिनले अर्को मौका पाए । यसपछि उनी उक्त एकेडेमीमा आबद्ध भएका थिए ।
प्रशिक्षक आर्चेकर सचिनको प्रतिभाबाट प्रभावित हुँदै गएपछि क्रिकेटमय वातावरण भएको श्रद्धाश्रम विद्या मन्दिरमा भर्ना गर्न सल्लाह दिए । सचिन भने न्यु इङ्लिस स्कुलमा पुगे । बिहान र बेलुका भने उनले अर्चेकरसँग प्रशिक्षण गरी रहे ।
सचिन १४ वर्षको उमेरमा रणजी ट्रफीको टोलीमा रहे पनि उनले खेल्न पाएनन् । अर्को वर्ष गुजरातसँगको खेलमा शतक प्रहार गरेपछि उनका सफलताका दिन सुरु भएका थिए ।
संसारमै डरलाग्दो मानिएका फास्ट बलिङ मानिएको पाकिस्तान विरुद्धको सुरुवाती टेस्टमा वकार युनिसबाट १५ रनमा आउट भएका सचिन यसै शृंखलामा चोट पनि बोक्न पुगे । यसका बाबजुद क्रिजमा डटीरहे ।
यसपछि पेसावरमै २० ओभरको प्रदर्शन खेल भएको थियो जहाँ उनले १८ बलमा ५३ रनमात्र प्रहार गरे । यसमा अब्दुल कादिरको एकै ओभरमा प्रहार गरिएको २७ रन पनि समावेश थियो । सुरुवाती केही खेलमा दबाबमा रहेका सचिन एकाएक ९० को दशकमा संसारकै हेर्न लायक खेलाडी भइसकेका थिए ।
संसारमै प्रभाव जमाउने पहिलो दक्षिण एसियाली खेल व्यक्तित्व भने ध्यानचन्द थिए । भारतले सन् १०२८ देखि १९६४ का बीच भएका ८ ओलम्पिकमध्ये ७ मा हक्कीको स्वर्ण पदक जितेको थियो । यसमा सन् १९२८, सन् १९३२ र सन् १९३६ को टोलीमा ध्यानचन्द सबैभन्दा प्रभावशाली खेलाडी थिए ।
हक्कीका जादुगरको नामले चिनिने ध्यानचन्दमा बललाई नियन्त्रणमा राख्ने कला गजबको थियो । उनले १८५ खेलमा ५७० गोल गरेका थिए । सन् १९५६ को पद्म भूषण पाएका उनकै जन्म दिन पारेर २९ अगस्टको दिन भारतमा प्रत्येक वर्ष राष्ट्रिय खेल दिवस मनाइन्छ ।
सन् १९०५ मा सामान्य परिवारमा ध्यानचन्दको जन्म भएको थियो । राजपूत परिवारका यिनका बाबु सेनाका जागिरे भएका कारण यिनको बाल्यकाल बाबुसँगै बितेको थियो । सानोमा कुस्तीमा रुचि भएका उनी सेनामा जागिरे भएपछि हक्की खेल्न सुरु गरेका थिए ।
सन् १९२६ मा आर्मी टिममा छनोट हुँदै उनी न्युजिल्यान्ड खेल्न जाने भारतीय टोलीमा रहेका थिए । भारतका लागि संयोग नै मान्नुपर्छ कि ध्यानचन्दको उदय हुनु र ओलम्पिकमा हक्की समावेश हुनु एकै पटक भएको थियो । सन् १९२८ को आम्र्सड्रमको ओलम्पिकमै हक्की पहिलो पटक समावेश भएको हो ।
तीन ओलम्पिकमा स्वर्ण पदक जितेपछि विश्व युद्धले ओलम्पिक खेललाई पनि प्रभावित तुल्याएको थियो । सन् १९३६ मा ध्यानचन्दको नेतृत्वमा भारतले उपाधिमात्र जितेन, उनले १२ खेलमा ३३ गोल गरे । यी महान् खेलाडीको प्रतिभाबाट प्रभावित एडोल्फ हिट्लरले जर्मन नागरिकता लिन अनुरोध गरे पनि ध्यान चन्दले यस प्रस्ताव अस्वीकार गरेका थिए ।
अहिले भारतीय हक्की विगतको जति गर्वीलो छैन । परन्तु ध्यानचन्दको नाममा एउटा इज्जत हक्कीले दिएको छ । संसारमा ब्रिटिस कोलोनी भएकै समयमा भारतको यो साखको असर नेपालमा पनि नपरेको होइन । ब्रिटिस आर्मी र इन्डियन आर्मीमा अत्यन्त लोकप्रिय रहेको यो खेल नेपालमा पनि ५० को दशकमा प्रभाव रहेको जनाइन्छ ।
क्रिकेट, चेस, बक्सिङ, सुटिङ, स्क्वास र टेनिसमा केही दक्षिण एसियाली खेलाडीले संसारमा प्रभाव छाड्ने सम्भावना नदेखाएका होइनन् । लामो समय संसारमा राज गर्ने खेलाडीको भने अभाव नै छ ।
मेरी कोमको उदय सन् २००१ को आइवा विश्व च्याम्पियनसिपमा उपविजेता भएपछि सुरु भएको थियो । यसको एक वर्षपछि नै विश्व च्याम्पियन भएकी उनले ५ पटक विश्व च्याम्पियन हुने महत्त्वपूर्ण सफलता पाइन् ।
सन् २००२, सन् २००५, सन् २००६, सन् २००८, सन् २०१० र सन् २०१८ मा उनी विश्व च्याम्पियन भएकी हुन् । सन् १९८२ मा मणिपुरमा जन्मिएकी मेरी कोम नै यस्ती खेलाडी हुन् जसले सात विश्व च्याम्पियनसिप पदक मात्र होइन ६ पटक एसियन च्याम्पियन पनि भइन् ।
एसियाड र कमनवेल्थमा स्वर्ण जितेकी उनी ओलम्पिक खेलको हकमा भने सन् २०१२ मा कास्य पदक जित्न मात्र सफल भइन् । ओलम्पिक खेलमा आशाअनुरूप परिणाम नदिए पनि विश्व च्याम्पियनसिप र एसियाली च्याम्पियनसिपको प्रदर्शनको आधारमा उनलाई संसारमा प्रभाव जमाउने दक्षिण एसियाली खेलाडीको रूपमा व्याख्या गरिएको छ ।
संसारको कुल जनसंख्याको ७ प्रतिशत दक्षिण एसियामा बसोबास गर्ने गरेका छन् । संसारकै पुरानो मानव सभ्यता बोकेको यो क्षेत्र २१औँ शताब्दीमा आइपुग्दा आर्थिक विकासको सूचकांकमा मात्र होइन, विज्ञान र प्रविधिमा पनि धरै पछि पर्न थालेको छ ।
खेलकुदमा पनि यो भूगोलको प्रभाव जनसंख्याको तुलनामा धेरै कम रहेको छ । ओलम्पिक खेलकुदमा त अन्य देशमात्र होइन शक्ति राष्ट्रको रूपमा रहेको भारतको पनि जनसंख्याको आधारमा पाएको पदक संख्या हेरेर यदाकदा पश्चिमा सञ्चारमाध्यमले गर्ने गरेका छन् ।
तथापि यदाकदा क्रिकेट, चेस, बक्सिङ, सुटिङ, स्क्वास र टेनिसका केही दक्षिण एसियाली खेलाडीले संसारमा प्रभाव छाड्ने सम्भावना नदेखाएका होइनन् । यी खेलाडी झैँ लामो समय संसारमा राज गर्ने खेलाडीको भने अभाव नै छ ।
-(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया