प्रदेश २ : मन्त्रालय सरुवा गर्छ तर डाक्टर जाँदैनन् | Khabarhub Khabarhub

प्रदेश २ : मन्त्रालय सरुवा गर्छ तर डाक्टर जाँदैनन्

दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहीन



जनकपुरधाम– महोत्तरीको जलेश्वर अस्पतालमा दक्ष जनशक्ति अभावमा कोरोना संक्रमितको उपचारमा कठिनाइ भयो । दक्ष चिकित्सक नहुँदा भेन्टिलेटर यसै थन्क्याइएको थियो । बिरामीहरूले उपचार पाउन सकेका थिएनन् ।

वैशाख २७ गते प्रदेश सरकारले डा. शैलेन्द्र कुमार यादवलाई जलेश्वर अस्पतालमा पठाउने निर्णय गर्‍यो । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत्त एनेस्थेसिस्ट डा. यादवलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयले तत्काल अर्को व्यवस्था नभएसम्म जलेश्वर अस्पतालमा काजमा खटाएको भन्ने पत्र पठायो ।

मन्त्रालयका शाखा अधिकृत रामहृदय यादवले वैशाख २६ गते नै काज सरुवाको पत्र पठाए पनि डा. यादव अहिलेसम्म अस्पताल गएका छैनन् । जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले उनी आइनपुगेको जानकारी दिए ।

वैशाख २८ गते सामाजिक विकास मन्त्रालयले फेरि दुई जना चिकित्सकलाई जलेश्वर अस्पतालमा काजमा खटाउने निर्णय गर्‍यो । प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डा. रवि प्रधान र मेडिकल अधिकृत डा. सन्तकुमार यादवलाई जलेश्वर पठाउने निर्णय भए पनि उनीहरूले वास्ता गरेनन् ।

मन्त्रालयका अनुसार जलेश्वर विकास समितिका अध्यक्षले अस्पतालका बिरामीहरू जोखिममा रहेको जानकारी गराउँदै एक वर्षअघिदेखि नै चिकित्सक पठाउन आग्रह गरिरहेका थिए । नयाँ भेरिएन्टसहित कोरोना भाइरसको दोस्रो लहर शुरू हुँदा पनि चकित्सक नआएको भन्दै पाण्डेले जेठ ५ गतेदेखि अमरण अनशन बस्ने घोषणा गरेका थिए ।

पाण्डेले मन्त्रालयको आश्वासन पाएपछि अनशन स्थगित गरेको कुरा आफ्नो फेसबुकमार्फत जनाएका छन् । मन्त्रालयले उनलाई छिटै चिकित्सक पठाउने आश्वासन दिएको छ ।

चिकित्सक अभाव हुँदा अस्पतालमा भर्ना भएका कोभिडका बिरामीहरू समस्यामा परेका छन् । अस्पतालमा पाँच वटा भेन्टिलेटर छन् तर दक्ष जनशक्ति अभावमा प्रयोगविहीन छन् । भेन्टिलेटर चाहिने त्यहाँका बिरामीलाई भने अर्को अस्पताल पठाउने गरिएको छ ।

अस्पतालले भर्ना लिनै छोडे

प्रदेश २ का अधिकांश अस्पतालले अक्सिजन अभाव रहेको भन्दै कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्री अस्पताल लगायत कतिपय निजी अस्पतालले भर्ना लिन छाडेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन अभावका कारण कोरोना संक्रमित बिरामीको उपचार गर्न नसकिने अवस्था सिर्जना भएको बताए ।

‘कोभिड अस्पतालमा ६५ जना बिरामी छन्, सबै संक्रमितलाई अक्सिजनसहितको उपचार गर्नुपरेको छ,’ उनले भने, ‘अक्सिजन आपूर्तिमा समस्या भएपछि उपचार गर्न नसकिने भयो ।’

गजेन्द्रनारायण सिंह अस्पतालमा पनि अक्सिजन अभाव भएको छ । सुनसरीको दुहबीस्थित डिपोले अक्सिजन नदिँदा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले बताए ।

अस्पतालहरूले संक्रमितका आफन्तहरूलाई अक्सिजनको व्यवस्था आफैँ गर्नू भन्ने गरेका छन् ।

निजी अस्पताल संघ, धनुषाका अध्यक्ष एवं काव्या हस्पिटलका सञ्चालक डा. सुधांशु सिंहले जनकपुरधाममा करिब १५ वटा अस्पतालले कोरोना बिरामीको उपचार गर्दै आएको बताए । अक्सिजन अभावमा अब ती अस्पतालले बिरामीको उपचार गर्न नसक्ने अवस्था आएको उनले बताए ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले काज सरुवा गरिएका डाक्टरहरू प्रादेशिक अस्पतालमा पनि नआएको बताए । उनीहरूसँग सम्पर्क गर्ने खबरहबको प्रयास सफल भएन ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : २१ बजे

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको

सफा हिमाल अभियान दुई मानव शव सङ्कलन

काठमाडौं – नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल