आइतबार बिहान बिहानै एक इसाई सज्जन दीनबन्धु एन्ड्रयुजसँग भेट गर्नको लागि आए । कुरा हुन थाल्यो । कुरै कुरामा ९ बज्यो ।
दीनबन्धु एन्ड्रयुजले जब घडी हेरे तब माफी माग्दै बोले, माफ गर्नुस्, मैले गिर्जाघर जानुपर्ने छ ।
ती सज्जनले भने, गिर्जाघर त मैले पनि जानु छ, साथ राम्रो हुनेछ ।
तर म तपाईंको गिर्जाघरमा जाँदिन, दिनबन्धु एन्ड्रयुजले भने ।
अनि तपाईं पूजा कहाँ गर्नुहुन्छ ? ती सज्जनले आश्चर्य मान्दै सोधे ।
दीनबन्धु मुस्कुराए र ती सज्जनलाई सँगै आउन भने । उनी उनलाई लिएर शहरको सफा सुग्घर गल्ली छोड्दै हरिजन बस्तीको एउटा झुपडीमा गएर बसे । त्यहाँ एउटा बूढो खाटमा सुतिरहेको एक १०–१२ वर्षको बच्चालाई पंखा हम्किरहेका थिए ।
दीनबन्धुले बूढोको हातबाट पङ्खा लिए र भने, बाबा, अब तपाईं जानुस् ।
बूढो गएपछि उनले ती सज्जनलाई भने, यो बालक अनाथ हो र क्षयरोगको रोगी हो । छिमेकको यो बूढोले यसको रेखदेख गर्छ । तर यो बूढो १०–२ बजेसम्म काममा जानुपर्ने हुन्छ । यस बीचमा म यसको सेवा गर्छु । ४ घण्टापछि त्यो बूढो फर्केर आउँछ । यही मेरो पूजा हो, यही झुपडी मेरो गिर्जाघर हो ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया