मतदाता नामावली संकलन सुरु गर्दै निर्वाचन आयोग | Khabarhub Khabarhub

मतदाता नामावली संकलन सुरु गर्दै निर्वाचन आयोग


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले ६ सय ३७ वटा स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन शुरु गर्ने भएको छ ।

७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता संकलन कार्यलाई निरन्तरता दिँदै यही मंसिर १७ गतेबाट स्थानीय तहको केन्द्रमा पनि नामावली संकलन गरिने आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र तराई, भित्रि मधेश तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगका सहसचिव एवं प्रबक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१८ बर्ष उमेर पूरा भएका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।

प्रेस विज्ञप्ति

मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सम्बन्धमा
निर्वाचन आयोगले मतदाता नामावली ऐन, २०७३ बमोजिम नियमित रूपमा ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन कार्य गर्दै आइरहेकोमा गत वर्ष कोभिड १९ महामारीको कारणले उल्लिखित स्थानहरूबाट हुँदै आएको नामावली सङ्कलन कार्यलाई स्थगन गर्नुपरेको थियो । २०७७ पौष ५ गते र २०७८ जेठ ८ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएको कारण मतदाता नामावली ऐन, २०७३ को दफा ४ बमोजिम मतदाता नामावली दर्ता कार्यलाई रोक्नु परेको थियो । उल्लिखित कारणले गर्दा गत वर्ष अपेक्षाकृत मतदाता नामावली सङ्कलन हुन सकेको थिएन । जसको कारण मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका आम नागरिक तथा विभिन्न सरोकारवालाहरूबाट स्थानीय स्तरमै पुगी मतदाता नामावली सङ्कलन कार्य गरिदिन निर्वाचन आयोग समक्ष अनुरोध हुँदै आइरहेको थियो ।

२०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुन लागेको र प्रचलित कानुनी व्यवस्था बमोजिम निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएको छ । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका कोही पनि नेपाली नागरिक मताधिकारबाट बञ्चित हुन नपरोस भनी आयोगले ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली सङ्कलन कार्यलाई निरन्तरता दिँदै यही मिति २०७८–०८–१७ गते देखि उल्लिखित कार्यालयहरू रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलन सम्बन्धी विशेष कार्यक्रम अभियानको रूपमा शुरू गर्दैछ ।

मतदाता नामावली सङ्कलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाण्डौ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । सङ्कलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।

उक्त नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरूको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको नाम मतदाता नामावलीमा समावेश गरिनेछ । आफ्नो स्थायी ठेगाना रहेको जिल्ला स्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने साविकको व्यवस्था हुँदा हुँदै विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकहरूलाई समेत सहज रूपमा मतदाता दर्ता प्रकृयामा सहभागी गराउन मिति २०७८–०८–१७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली सङ्कलन कार्य शुरू हुँदैछ ।

यसरी अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइनेछ । साथै निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।

आगामी मंसिर १७ गतेदेखि शुरू हुने मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा देशभर करिव २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । २०७८ पौष २० गते भित्र सबै स्थानीय तहमा मतदाता नामावलीको सङ्कलन कार्य सम्पन्न भइसक्नेछ । २०७७ पौष ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई समावेश गरी आयोगबाट २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम रहेकोमा यस कार्यक्रमबाट देशभर करिव १० लाख मतदाता थप हुने अनुमान गरिएको छ ।

आवधिक निर्वाचन लोकतन्त्रको मेरूदण्डको रूपमा रहेको हुन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय तवरले सम्पन्न गर्न समय सापेक्ष, अद्याविधक तथा त्रुटिरहित मतदाता नामावली अत्यावश्यक हुन्छ । निर्वाचनको आधारस्तम्भको रूपमा रहेको मतदाता नामावलीलाई समय सापेक्ष, अद्याविधक तथा त्रुटिरहित बनाउने कार्य निर्वाचन आयोगले गर्दै आएको छ । मतदाता नामावलीमा नाम दर्ता भएका नागरिकले निर्वाचनमा चुन्न र आफु चुनिन पाउने अधिकार रहेको हुँदा यस्तो अधिकार प्रयोग गर्नबाट कोही पनि बञ्चित नहुन भन्नेमा निर्वाचन आयोग सदैव सचेत रहँदै आएको छ । यस कार्यमा सबै राजनीतिक दल, तीनै तहका सरकारहरू, आम सञ्चार माध्यम तथा नागरिक समाज समेतले आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन समेत निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ ।

अन्तमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरी मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी रहेका नेपाली नागरिकहरूले आफ्नो स्थानीय तह वा नामावली सङ्कलन भइरहेको आफ्नो जिल्ला स्थित इलाका प्रशासन कार्यालय वा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालय वा कुनै पनि निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउनुहुन निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ ।

(शालिग्राम शर्मा पौडेल)
सहसचिव एवं प्रवक्ता

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ४३ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति