जसले अरूलाई बचाउने प्रयासमा आफ्नो ज्यान गुमाए | Khabarhub Khabarhub

जसले अरूलाई बचाउने प्रयासमा आफ्नो ज्यान गुमाए


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१९ को अन्त्यमा सुरु भएको कोरोना महामारीले स्वास्थ्यकर्मीलाई धेरै असर गरेको छ । उपचार गर्ने क्रममा आफैँ थला परेर जीवन गुमाएका चिकित्सक र नर्सको पीडादायक मृत्युको समाचार र तस्बिरहरू सञ्चारमाध्यममा थुप्रै छापिए ।

चीनको वुहानबाट सुरु भएको यो सङ्क्रमणले सन् २०२० को सुरुवातमै युरोप र अमेरिकालाई सबैभन्दा बढी प्रभाव पारेको थियो । उत्कृष्ट स्वास्थ्य संरचना भएका देशहरू इटाली, स्पेन र अमेरिकामा केही दिनमै महामारी उच्च बिन्दुमा पुगेपछि यसबाट चिकित्सकहरू सबैभन्दा धेरै प्रभावित भए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएअनुसार कोरोना महामारीका कम्तीमा कारण ८० हजार देखि १ लाख ८० हजार जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । डब्ल्युएचओको यो तथ्याङ्क सन् २०२० को जनवरीदेखि यसै वर्षको मेसम्मको हो ।

महामारीकाल कति समय रहला भन्ने अनुमान धेरैको हुनसक्छ तर कसैले यकिन गरेर भन्ने अवस्था अझ छैन । डब्ल्युएचओका अधिकारीहरू अहिले पनि भ्याक्सिनेसनको कामबाट सन्तुष्ट छैनन् । उनीहरूले सुस्त भ्याक्सिनेसनका कारण महामारी अर्को वर्ष पनि रहनसक्ने चेतावनी दिएसकेका छन् ।

डब्ल्युएचओका प्रमुख टेड्रोस अडहानोमले भ्याक्सिन वितरणमा भएको असमानताको चर्को आलोचना गरेका छन् । उनका अनुसार संसारमा लगभग दश करोड ३५ लाख स्वास्थ्यकर्मी छन् ।

यीमध्येका ४० प्रतिशत मात्र पूरा इम्युन भएका छन्, ११९ देशको डाटाको आधारमा यो तथ्य सार्वजनिक भएको हो । डब्ल्युएचओले कुनै समय सङ्क्रमितमध्ये १० प्रतिशत स्वास्थ्यकर्मी रहनसक्ने जनाइएको थियो ।

चिकित्सकमा भ्याक्सिनेसनको यो डाटा भौगोलिक क्षेत्र र देशको आर्थिक अवस्था अनुसार फरक छ ।

अफ्रिकामा १० प्रतिशतभन्दा कम स्वास्थ्यकर्मी पुरै इम्युन भएका छन् भने यो दर बलियो अर्थतन्त्र भएको देशमा ८० प्रतिशभन्दा बढी छ । यसअघि नै डब्ल्युएचओका वरिष्ठ अधिकारी डा. ब्रस एलवार्डले भ्याक्सिनमा रहेको यो असमानताका कारण महामारी सन् २०२२ मा पनि नसकिने चेतावनी दिएका थिए ।

अफ्रिकामा ५ प्रतिशतमात्रै पुरा इम्युन भएका छन् । यसरी धेरै भ्याक्सिन दिइएका देशमा उच्च तथा उच्च मध्यम आय भएका देशहरू रहेका छन् । संसारको कुल वितरित भ्याक्सिनमध्ये अफ्रिकामा २.६ प्रतिशतमात्र वितरण भएको छ ।

डब्ल्युएचओको पहलमा संसारका सबै देशमा भ्याक्सिनको समान वितरण होस् भन्ने हेतु कोभ्याक्सको अवधारणा आएको थियो तर ‘जी सेभेन’ ले भ्याक्सिनमाथि नियन्त्रण राखेपछि कोभ्याक्सको अवधारणाअनुसार भ्याक्सिन वितरण हुन सकेन । धनी देशले आफ्ना नागरिकलाई खोप अभाव नरहे पनि थप डोज सुरक्षित राख्ने क्रम जारी राखेका छन् ।

डा. एलेवार्डले औषधि उत्पादक कम्पनीलाई आफूले पहिले नै बुक गरे पनि अन्य देशलाई भ्याक्सिन दिने वातावरण बनाउन धनी देशलाई आग्रह गरेका छन् । अहिलेकै जस्तो अवस्था रहे महामारी अझ लामो समय रहने उनको भनाइ छ ।

अहिले विभिन्न निकायले कोभ्याक्समा भन्दा पनि आफ्नै नागरिकलाई मात्र प्राथमिकता दिएको भन्दै बेलायत र क्यानडाको चर्को आलोचना भएको छ ।

यसै वर्ष सार्वजनिक भएको तथ्याङ्कले बेलायतले कोभ्याक्स सुविधामार्फत ५ लाख ३९ हजार ३७० डोज फाइजर भ्याक्सिन लिएको देखिएको छ । क्यानडाले एक मिलियन भन्दा अलि कम अस्ट्राजेनका भ्याक्सिन लिएको छ ।

कोरोना संक्रमणमा संक्रमितको उपचारको क्रममा आफ्नो ज्यान गुमाउने करिब १ लाख ८० हजार जना स्वास्थ्यकर्मी संसारका जुनसुकै देशका नागरिक भए पनि हामी सबैका लागि सम्मानका पात्र हुन् । उनीहरूले अरूलाई बचाउन खोज्दा आफ्नो ज्यान गुमाए ।

अक्सफामका स्वास्थ्य सल्लाहकार रोहित मालपानीले बेलायत र क्यानडाले कोभ्याक्सलाई गरेको आर्थिक सहयोगको तुलनामा उनीहरूले लिएको डोज कम भए पनि यो लिन हुने कि नहुने भन्ने नैतिक विषय पनि भएको बताएका छन् ।

बेलायतले भने गत वर्ष ५ करोड ४८ मिलियन पाउन्ड सहयोग ग¥यो । यसरी कोभ्याक्स परियोजना चालु गर्न आफ्नो अहम् भूमिका भएको भन्दै आफ्नो आलोचना गर्न नहुने जिकिर गरेको छ ।

त्यसो त बेलायतले विभिन्न देशलाई गरी एक करोड डोज भ्याक्सिन आफैले दिएको छ भने १० करोड भ्याक्सिनको प्रतिबद्धता जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदायबाट विरोधका स्वरहरू उठ्न थालेपछि क्यानडाले कोभ्याक्सको भ्याक्सिन उपयोग गर्न छाडेको छ ।

क्यानडाकी अन्तर्राष्ट्रिय विकासमन्त्री करिना गोल्डले आफूहरूले विभिन्न उत्पादक कम्पनीसँग गरेको सम्झौताको आधारमा पाउने भ्याक्सिन नागरिकका लागि पर्याप्त भएका कारण कोभ्याक्समार्फत लिएको डोज फिर्ता गर्ने र यो गरिब देशलाई पठाउन सहयोग गर्ने बताएकी छन् ।

कोभ्याक्सको यो वर्षको अन्त्यसम्ममा दुई अर्ब कोभिड डोज दिने लक्ष्य राखे पनि अहिलेसम्म ३७ करोड एक लाख मात्र दिइएको छ ।

डब्ल्युएचओले सेप्टेम्बरसम्म १० प्रतिशतभन्दा बढीलाई भ्याक्सिन लगाइसक्ने लक्ष्य राखेको थियो । यो लक्ष्यमा ५० भन्दा बढी देश धेरै टाढा रहेका छन् ।

अक्टोबरको पहिलो सातासम्म अफ्रिकामा पुरै इम्युन हुने ४ प्रतिशत थिए । बेलायतमा सोही समयमा ६६ प्रतिशत, युरोपेली युनियनमा ६२ तथा अमेरिकामा ५५ प्रतिशतले पूरा डोज भ्याक्सिन लगाइसकेका थिए ।

यसरी १० प्रतिशत नपुग्ने देशमा यमन, इराक, सिरिया, इराक, अफगानिस्तान र म्यानमार जस्ता घरेलु राजनीतिक समस्याले ग्रस्त देश रहेका छन् । प्राकृतिक विपत्तिको सामना गरेको हाइटी पनि पछि परेको छ ।

सम्पन्न देश ताइवान पनि भ्याक्सिनमा धेरै पछि छ । केही महिना अघिसम्म ‘जिरो कोभिड’ को रणनीतिमा सफल देखिएको भियतनाम पनि भ्याक्सिनेसनमा धेरै पछाडि छ ।

अफ्रिकाका ५४ मध्य १५ देश १० प्रतिशतले लक्ष्य पार गर्न सके । आधा देशमा दुई प्रतिशतभन्दा कमले मात्र भ्याक्सिन लगाएका छन् । अफ्रिकाका ठूला र धेरै जनसङ्ख्या भएका इजिप्टमा ५ प्रतिशत तथा इथियोपिया र नाइजेरियामा ३ प्रतिशतभन्दा कमले मात्रै दुवै डोज भ्याक्सिन पाएका छन् ।

बुरुन्डी र इरिट्रियामा त भ्याक्सिन दिने काम नै भएको छैन ।

कोभ्याक्समा निर्भर धेरै अफ्रिकी देशका लागि जुनमा भएको ‘जी सेभेन’ राष्ट्रको शिखर सम्मेलनपछि भ्याक्सिन वितरणको बाटो खुलेको हो । सोही सम्मेलनले कोभ्याक्स सुविधाको भ्याक्सिन सिधै धनी देशले अफ्रिकी देशमा लैजाने नीति लिएका थिए ।

यो महामारी कहिलेसम्म रहन्छ भन्ने निश्चित छैन । परन्तु, महामारी रहेसम्म भ्याक्सिन नलगाएका स्वास्थ्यकर्मी नै सबैभन्दा बढी जोखिममा रहने निश्चित छ ।

सङ्क्रमण हुने र ज्यान नै जाने जोखिममात्र होइन, अन्य अनेकन समस्या पनि महामारीको समयमा चिकित्सकले भोगेका छन् । यसै बारेमा बङ्गलादेशमा एक अध्ययन पनि भएको थियो ।

सन् २०२० को मेदेखि अगस्टसम्मको बीचमा चिकित्सक र नर्सले भोगेका समस्याका बारे उक्त अध्ययन भएको थियो । बङ्गलादेशका चिकित्सकले सात प्रमुख समस्या भोगेको अनुभव गरेका थिए । कामको अधिक भार एउटा प्रमुख समस्या रहेको थियो ।

मानसिक तनाव, दुव्र्यवहार, जिम्मेवार निकायको लापरबाही, समन्वयको अभाव र पीपीई अभावलगायत समस्या स्वास्थ्यकर्मीहरूले भोगेका थिए ।

सर्वेक्षण बङ्गलादेशमा भए पनि यो समस्या तेस्रो विश्वका प्रायः सबै देशका स्वास्थ्यकर्मीको हो ।

जब, सन् २०२० को मे महिनामा युरोप र अमेरिकामा कोभिडको पहिलो लहरको पिक देखियो, सोही समयमा यी देशका लागि यो महामारी नौलो थियो र कुनै तयारी थिएन । धनी र बलियो स्वास्थ्य संरचना भएका देशमा समेत पीपीई अभाव थियो ।

यसै समयमा धेरै चिकित्सकले आफ्नो ज्यान गुमाए । सामाजिक सुरक्षाको मापदण्ड पूरा गर्दै उपचार गर्नु उनीहरूका लागि लगभग असम्भव नै थियो ।

कोभिड महामारीका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मी धेरै कुन उमेरका थिए भन्ने अध्ययन र पूर्ण डाटा अझसम्म उपलब्ध भएको छैन । बेलायतमा सुरुवाती समयमै १६७ जना स्वास्थ्यकर्मीको निधन हुँदा ८ जना ३० वर्ष भन्दा कम उमेरका थिए ।

हरेक एक सय वर्षको अन्तरमा महामारीले मानव सभ्यतालाई सताइरहेको छ । हरेकको जीवनको आफ्नै महत्व त हुन्छ नै, यसमा पनि स्वास्थ्यकर्मी गुमाउनुको पीडा समाजका लागि लामो समय रहन सक्छ ।

यसरी ज्यान गुमाउने ती करिब १ लाख ८० हजार जना स्वास्थ्यकर्मी संसारको जुनसुकै देशका नागरिक भए पनि हामी सबैका लागि सम्मानका पात्र हुन् । उनीहरूले अरूलाई बचाउन खोज्दा आफ्नो ज्यान गुमाए ।

–एजेन्सीहरूको सहयोयमा

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : १० बजे

तनहुँको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ– धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

हुम्ला– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण

मेलनिया ट्रम्पले सुरु गरिन् प्रशासनिक जिम्मेवारी

न्युयोर्क – प्रथम अमेरिकी महिला मेलनिया ट्रम्पले प्रशासनिक जिम्मेवारीको सुरुवात

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र प्रहरी

झापा– सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल