बाँदर भुलाउन जङ्गलमा फलफूल खेती | Khabarhub Khabarhub

बाँदर भुलाउन जङ्गलमा फलफूल खेती


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको छ । बाँदर आतङ्क रहेको यस ठाउँमा बाँदरलाई जङ्गलमै भुलाउन विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण शुरु गरिएको हो ।

डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा नमूना फलफूल वन स्थापना गर्ने उद्देश्यले फलफूलका बिरुवा रोपिएको हो । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले फलफूलका बिरुवा रोपेर उक्त कार्यको शुभारम्भ गरेका हुन ।

जङ्गलमा बाँदरको आहारा पाइन छाडेपछि त्यसको खोजीमा बाँदर मानव वस्ती छेउ आउने गरेका छन् । मानव वस्ती छेउमा आउन बाँदरले कृषकले उत्पादन गरेको खेतीबाली नष्ट गरिदिने गरेको छ । बाँदर आतङ्कका कारण यहाँका कृषक हैरान छन् ।

बाँदर आतङ्क न्यूनीकरण गर्दै बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती शुरु गरिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।

उनका अनुसार यहाँको तीन हेक्टर क्षेत्रफलमा १४ प्रजातिका ८ सय ५० वटा फलफूलका बिरुवा रोपण गरिनेछ । तनहुँमै पहिलो पटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको प्रमुख रानाभाटको भनाइ छ ।

उनले भने, “बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसलाई नै आक्रमण गर्ने समस्या न्यूनीकरणका लागि फलफूलका बिरुवा लगाउन लागेका हौं ।”

यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ ।

“बुट्यान जङ्गलमा बाँदरले मन पराउने वर्षेनी उत्पादन हुने खालका बिरुवा लगाउन शुरु गरेका छौ, दुई तीन दिनमा सबै क्षेत्रमा बिरुवा रोपेर सकिन्छ,” उनले भने ।

उनका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चिली लगायतका बिरुवा उत्पादन गरिनेछ । दुई तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ ।

“म्याग्देका विभिन्न ठाउँमा बाँदर आतङ्क छ, त्यसमध्ये पनि उमाचोकमा बढी नै आतङ्क रहेको पाइयो,” प्रमुख रानाभाटले भने, “विगतमा धेरै पटक खेतबारीमै गएर महिलालाई आक्रमण गर्ने गरेको घटना छ ।”

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए ।

म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले फलफूलका बिरुवा उत्पादन भएपछि सर्वसाधारणले बाँदर आतङ्कबाट मुक्ति पाउने बताउँदै फलफूलका बिरुवा रोपणका लागि गाउँपालिकाका तर्फबाट रु दश हजार सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयवासी इन्द्र अधिकारीले फलफूल खेतीले बाँदर आतङ्क न्यूनीकरणका साथै आयआर्जन पनि गर्न सकिने बताए । उमाचोक सामुदायिक वनका अध्यक्ष श्यामलाल श्रेष्ठले वनमै फलफूल भएपछि बाँदर त्यतै भुलेर बस्तीतिर नआउने भएकाले फलफूलका बिरुवा रोपिएको जानकारी दिए ।

“खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतङ्कबाट हैरानै भइयो,” श्रेष्ठले भने, “फलफूल खेतीले बाँदर आतङ्कबाट छुटकारा पाइएला भन्ने आशा छ ।”

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १ : ४० बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने