कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै « Khabarhub

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

३५ वर्ष मुनिको एक सहमहामन्त्री अनिवार्य, महामन्त्री थप्नेबारे छलफल जारी



काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने भएको छ । यो प्रावधान असोज १९ गतेबाट सुरु हुने बन्द सत्रमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गर्दैछन् । यस्तै, एक उपसभापति र दुई सहमहामन्त्री थप्ने प्रावधान पनि राखिँदैछ । कांग्रेस शीर्ष नेताका अनुसार एक वरिष्ठ नेता, एक उपसभापति र दुईजना खुल्ला सहमहामन्त्री थप्ने विषयमा सबै क्षेत्रबाट छलफल सकिएको छ । यो प्रस्ताव हलबाट पारित भएपछि सिधै विधान बन्नेछ । अब थपिने उपसभापतिमा महिला अनिवार्य रहने प्रावधान राखिँदैछ ।

कांग्रेसको हालको विधानमा दुई उपसभापति रहने व्यवस्था छ । त्यस्तै ११ जना सहमहामन्त्रीमा ८ जना निर्वाचन प्रक्रियामार्फत आउने र ३ जना पार्टी सभापतिले मनोनीत गर्ने व्यवस्था छ। अब त्यसलाई बढाएर १३ जना पुर्‍याउन लागिएको हो । दुइ जना सहमहामन्त्री थपिँदा कांग्रेसको विधानअनुसार १३ जना सहमहामन्त्री बन्नेछन् । यो प्रस्ताव तयारी अवस्थामा रहेको र बन्दसत्र हलमा प्रस्तुत गरिने कांग्रेसका एक शीर्ष नेताले जानकारी दिए। ‘एक उपसभापति र तीनजना सहमहामन्त्री थप्ने प्रस्ताव सर्वसम्मतिले पास होला, वरिष्ठ नेता र सम्मानित नेताको विषयमा चाहिँ छलफल भइरहेको छ,’ कांग्रेसका ती नेताले भने, ‘एकजना महिला उपसभापति र दुईजना खुल्ला उपसभापति रहने विधान आउन लागेको हो। वरिष्ठ नेता या सम्मानित नेता जे भनेपनि एउटा रहन्छ ।’

सहमहामन्त्रीमा ३५ वर्ष मुनिका युवालाई पनि समेट्ने प्रस्ताव अगाडि बढेको छ। यो प्रस्तावलाई सर्वसम्मत रुपमा हलले पारित गर्ने बताइएको छ । केन्द्रीय सदस्यमा पनि २२ जना युवा आउँदैछन्। २०८२ साल भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपालको राजनीति परिस्थिति परिवर्तन भएको थियो । त्यसपछाडि नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेर युवाको भावना समेट्दै गगन थापालाई सभापति बनाएको थियो ।

एक महामन्त्री थप्ने बारे छलफल जारी
कांग्रेसको विधानमा अहिले दुई महामन्त्रीको व्यवस्था छ । तर पार्टीमा तीनजना महामन्त्री बनाएर एक महिला अनिवार्य गर्नुपर्ने विषय पनि चर्को रुपमा उठेको छ। यसबारे छलफल भएपनि निर्णय भइसकेको छैन। तर यो छलफलको विषय बनाउनुपर्ने माग महिला नेत्रीसँगै अरुले पनि राखेका छन् ।

‘महामन्त्री तीनजना बनाएर एक महिला अनिवार्य गरौँ भन्ने प्रस्ताव पनि आएको छ तर यसबारे छलफल हुँदैछ, टुङ्गिएको छैन,’ कांग्रेसका एक शीर्ष नेताले भने, ‘सभापतिले मनोनीत गर्ने तीनजना सहमहामन्त्रीमा एक महिला अनिवार्य यस अगाडिकै प्रावधान हो। यता, महामन्त्रीमा पनि तीनजना बनाएर एक महिला अनिवार्य गर्दा पदाधिकारीमा महिलाको आकार बढ्छ भन्ने हाम्रो माग छ। उपसभापतिमा पनि एक महिला अनिवार्य बन्नुहुन्छ ।’

कांग्रेसमा अहिले एक सभापति र दुई उपसभापति रहने व्यवस्था छ। जसमा एक उपसभापति थपेर तीनजना बनाउने र एक महिला अनिवार्य गर्ने तयारी भएको हो। यस्तै विधान अनुसार कोषाध्यक्ष पद पनि केन्द्रीय सदस्यबाट नै सभापतिले चुन्न पाउने व्यवस्थालाई निरन्तरता दिन लागिएको छ। विधानअनुसार प्रवक्ता पनि केन्द्रीय सदस्य मध्येबाट आउनेछन्। यो पदमा पनि निर्वाचन प्रक्रियामा जानुपर्ने छैन ।

कांग्रेसमा अहिले पदाधिकारीका लागि थुप्रै नेताहरु आकांक्षी देखिन्छन्। विशेष गरेर उपसभापति, महामन्त्री र सहममन्त्री पदमा धेरै जनाको इच्छा देखिन्छ। सभापति पदका लागि भने गगन थापा र अर्का नेता किशोर सिंह राठोरले उम्मेदवारी दिने भएका छन् । राठोर अहिलेसम्म महाधिवेशन प्रतिनिधि चुनिएका छैनन् । आज मात्रै उनको निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुँदैछ । कांग्रेसको पदाधिकारी संख्या २० पुग्ने जानकारी पार्टीका शीर्षस्थ नेताहरू बताउँछन्। अहिले १४औँ महाधिवेशनमा कांग्रेसको पदाधिकारी १४ जना थिए । विशेष अधिवेशनबाट तीनजना थपिएर १७ जना पुर्‍याइएकाे थियो। अब पदाधिकारीको संख्या २० जना हुन लागेको बताइन्छ। महाधिवेशनले २ सय ३८ सदस्यीय केन्द्रीय समिति चुन्ने छ । त्यसमध्ये ६१ जना सभापतिले मनोनीत गर्न पाउने व्यवस्था छ ।

अहिलेसम्मकै बृहत् महाधिवेशन
प्रतिनिधिको हिसाब गर्दा कांग्रेसमा अहिलेसम्मकै ठूलो महाधिवेशन हुने भनिएको छ । तर कांग्रेस अहिले तीनधारमा भएका कारण एकताको महाधिवेशन हुने सम्भावना न्यून देखिन्छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा ७ हजार ६ सय प्रतिनिधि सहभागी हुनेछन् । काठमाडौँको खुला मञ्चमै ऐतिहासिक महाधिवेशन गर्न लागेकाले नीति, नेतृत्व र रूपान्तरणको महाधिवेशनमा परिणत हुने उपसभापति पुष्पा भुसालको दाबी छ । कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि थिए । त्यसको आकार हेर्दा यो पटकको महाधिवेशन ठूलो र बृहत हुने देखिन्छ । महाधिवेशनका लागि काठमाडौँको खुल्ला मञ्चमा तीनवटा पण्डाल बनाइएको छ ।

महाधिवेशनको बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । जसमा आगामी वर्षको राजनीतिक कार्यसूची पाँच वर्षको कार्यदिशा कार्यक्रम र नीति प्रस्तुत हुनेछ । यस्तै, उपसभापति विश्व प्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उनले समसामयिक राजनीति र संगठनात्मक ढाँचा परिवर्तनको प्रतिवेदन पेश गर्न लागेको बताइएको छ। उपसभापति पुष्पा भुसाल तथा महामन्त्री प्रदिप पौडेल र गुरु घिमिरेले पनि प्रतिवेदन पेश गर्नेछन्।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १२ : ४४ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको