दोहा : लेवनानमा बन्धक नेपाली महिलाको उद्धार गरिएको छ ।
एक दशकदेखि एक लेवनानीको घरमा बन्धक भएकी सजिता लामालाई ‘दिस इज लेवनान’ नामक सस्थाको अगुवाइमा उद्धार गरिएको हो ।
उनी काठमाडौँ जोरपाटीस्थित नयाँबस्तीकी रहेको दिइ इज लेवनान संस्थाले जनाएको छ । यो संस्था लेवनानमा समस्यामा परेका मानिसको सहयोगमा जुटेको छ ।
यही संस्थामा जोडिएका दीपेन्द्र उप्रेतीसहितको टोलीले सजिता एक दशकदेखि रोजगारदाता रिचार्ड खौरीको घरमा बन्धक भएको जानकारी पाएपछि उद्धारमा जुटेको थियो । लेवनानको राजधानी बेरूतमा “जर्ज पसल” सञ्चालन गर्दै आएका खौरी र उनकी पत्नी राना जर्मानोसले २०१२ देखि सजितालाई बन्धक बनाएको खुलेको उप्रेतीले बताए ।
उनी बन्धक भएको सूचनाका आधारमा दिस इज लेवनानको पहलमा खौरीको घरमा छापा मारेर उनलाई बन्धन मुक्त गरिएको बताइएको छ ।
रोजगारदाताले उनलाई एक वर्ष ९ महिनाको मात्र तलब दिएको पाइएको छ ।
सेप्टेम्बर २०१० मा त्यहाँ पुगेकी सजिताले ११० महिना (९ वर्ष २ महिना) काम गरेको तलब पाउन बाँकी छ । उनलाई हरेक हप्ता ८० घण्टा काम गराइन्थ्यो । अभियन्ताहरुले अबको आफ्नो लक्ष्य सजिताको बाँकी तलब दिलाउन केन्द्रित हुने बताएका छन् ।
दिस इज लेबनानले सजितालाई उद्धार गरी अहिले सेल्टर हाउसमा राखेको छ । स्वदेश फिर्ता गरी उनको परिवारसँग पुनर्मिलन गराउने संस्थाले जनाएको छ ।
प्रतिक्रिया