एकपटक गोरक्षण सभाका एक प्रचारक आर्थिक अनुदानका लागि विवेकानन्दकोमा आए ।
विवेकानन्दले सोधे— तपाईंहरुको सभाको उद्देश्य के हो ?
प्रचारक महोदयले भने— हामी देशका गौमातालाई कसाईबाट बचाउँछौँ । ठाउँ–ठाउँमा गौशाला बनाएका छौँ । जहाँ रोगग्रस्त, दुर्बल र कसाईलाई बेचिसकेका गौमाताको पालन गर्छौँ ।
विवेकानन्दले गद्गद् हुँदै भने— बडो प्रशंसनीय कुरा हो । तर, सभाको आय कसरी हुन्छ ?
प्रचारकले भने— मारवाडी सम्प्रदायले यस कामका लागि प्रचुर मात्रामा धन दिने गर्छन् । तपाईंजस्ता धर्मात्माले पनि हामीलाई सहयोग दिनुहुन्छ ।
मध्य भारतमा यो वर्ष भयङ्कर अनिकालले लाखौँ मानिस मारिए । के तपाईंको संस्थाले यसमा सहायता गर्यो ?
हामी अनिकाल आदिमा कुनै सहायता गर्दैनौँ । यो संस्थाले केवल गौरक्षाको कार्य गर्छ । त्यसै पनि मानिसहरुको कर्मफल अर्थात् पापका कारण यो अनिकाल परेको हो । उनीहरुले कर्मअनुसारको फल भोगेका छन् ।
प्रचारकको यस्तो कुरा सुनेर विवेकानन्द रिसाए तर संयमित हुँदै भने— जुन सभा र समितिले मानिसमा सहानुभूति राख्दैन, आफ्ना दाजुभाई अन्न नपाएर मरेको देखेर पनि उनीहरुको सहायता गर्न उद्यत हुँदैन, म त्यो सभा या समितिमा लेसमात्र पनि सहानुभूति राख्दिनँ ।
यदि आफ्नो कर्मले मानिस अनिकालको शिकार भएका हुन् भने गौमाताहरु पनि आफ्नो कर्मका कारण कसाईकोमा पुग्छन् । तिनको रक्षाका लागि म आर्थिक सहायता गर्न सक्दिनँ ।
किनभने म सन्यासी हुँ । मसँग धन कहाँबाट आओस् ? यदि मसँग जम्मा भयो भने पनि त्यो मानिसको सेवाका लागि खर्च गर्नेछु । यो काम गरेर यदि केही पैसा बच्यो भने मात्र म तपाईंको संस्थालाई दिनेछु ।
साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट
प्रतिक्रिया