पाटनको भीमसेन मन्दिर पुनःनिर्माण तिहारपछि सम्पन्न हुने « Khabarhub

पाटनको भीमसेन मन्दिर पुनःनिर्माण तिहारपछि सम्पन्न हुने


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम नजिकै आइरहेको दशैँ-तिहारअघि सम्पन्न नहुने भएको छ । हिन्दू धर्मावलम्बीको महान् पर्व दशैँ–तिहार नजिकिएसँगै कामदार अभाव हुँदै जाँदा पछि मात्र सम्पन्न हुने भएको हो ।

मन्दिरको सबैभन्दा माथि तामाको छाना छाउने काममा जनशक्ति अभाव भइरहेकाले सो पर्वपछि मात्रै मन्दिर पुनःनिर्माण सम्पन्न हुने प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)का देशीय निर्देशक रोहित रञ्जितकारले बताए । उनले भने, ‘मन्दिरको बाँकी दुई तलामा झिङ्गटीको छानो छाउने भएकाले सामान भने आउने क्रम जारी छ ।’ मन्दिर सरसफाइ आदिमा समेत केही समय खर्च हुने भएकाले केही समय लाग्ने भएको रञ्जितकारको भनाइ छ ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको दलिन, बिम र माथिल्लो तलाको गारो थाम्ने थामसमेत भाँचिएर भित्ता चिराचिरा परेका थिए । निर्माणाधीन मन्दिरमा गारो लगाउने काम पूर्णरूपमा सकिएर माथिल्लो तलामा छाना हाल्ने काम भइरहेको ललितपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले बताए । उनले भने, ‘कोरोना महामारी बढेर मुलुकमा बन्दाबन्दी नभए यही असोजभित्र मन्दिर निर्माण सम्पन्न गर्ने योजना बनाएका थियौँ, तर केही ढिलाइ हुने भयो ।’

मन्दिरको माथिल्लो तलामा काठ हाल्ने काम सकिएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरमा पुरानै गजुर प्रयोग गर्न मिल्ने भएकाले यसैलाई फेरि हाल्नेछौँ ।’ प्राचीन शैलीमा निर्माणाधीन मन्दिर सम्पन्न भएपश्चात माथिदेखि स्काफोल्डिङ झिक्दै आउने श्रेष्ठले जानकारी गराए ।

‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा लाग्दा विदेशीसँग हात फैलाउन नपर्ने उदाहरण प्रमाणित गर्न सफल भएको सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले दाबी गरे। व्यापारीको आराध्य देवता मानिने सो मन्दिर पुनःनिर्माणका लागि दाताबाट लगभग रु पाँच करोड चन्दा सङ्कलन भइसकेको निवर्तमान अध्यक्ष महर्जनको भनाइ छ ।

भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको भीमसेन मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि परिसरबाट आवतजावत गर्ने हजारौँ स्वदेशी तथा विदेशीलाई नोक्सानी पुग्ने डरका कारण ललितपुरवासी स्वयं अग्रसर भएका थिए । सङ्घले सो मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरेको थियो । मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तुको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको थियो ।

मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुको छाना निकाल्ने र मर्मतपछि पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकार र मन्दिरलाई चाहिने डाँची तथा इँटा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने प्रतिबद्धताअनुरुप सहयोग गरेका सङ्घले जानकारी गराएको छ । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोेहरका रूपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।

भीमसेन मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई विश्व हस्तकला परिषद्ले विश्वको ३५औँ कला नगरी घोषणा गरिसकेको छ । मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा केभिपिटी लिनाका साथै नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, मङ्गल टोल सुधार समिति, ललितपुरका जातीय समाजलगायत विभिन्न सङ्घसंस्थासमेत लागिपरेका छन् ।

पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीको पुरानो थलो पनि हो । पाँच पाण्डवका माइला भाइ भीमसेनको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास आम व्यवसायीको छ । पाटनका प्रसिद्ध धरोहरका रूपमा सोलगायत कृष्ण मन्दिर, चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदि रहेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ११ : १५ बजे

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त