जापानमा सङ्कटकाल यथावत् रहनुका बाबजुद अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ओलम्पिक खेलकुद निर्धारित समयमै गर्ने अडानमा रहेको छ ।
सन् २०२० का लागि तय भएको ओलम्पिक खेलकुद स्थगित हुँदै सन् २०२१ को जुलाई २३ देखि ८ अगस्टसम्म जापानको राजधानी टोकियोमा नै हुने घोषणा भएको छ ।
विशेष शारीरिक क्षमता भएकाका लागि पारा ओलम्पिक खेलकुद २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्मका लागि तय भएको छ । कुल ३३ खेलका ३३९ स्पर्धा ४२ स्थानमा गर्ने तयारी छ । पारा ओलम्पिकका लागि २१ स्थानमा २२ खेलका ५३९ स्पर्धा तय गरिएका छन् ।
धेरै खेलहरू ग्रेटर टोक्यो एरियामा हुने छन् भने म्याराथन र फुटबल होकाइडोको सपारोमा हुनेछन् । यस स्थानमा पनि अहिले सङ्कटकाल लागु छ ।
कोरोना भाइरसको पहिलो लहरले जापानलाई त्यति धेरै प्रभाव पारको थिएन, जति संसारका अन्य देशलाई पारेको थियो । गत अप्रिलमा जापानमा पनि दोस्रो लहर शुरू भयो ।
यस बीचमा ७ लाखभन्दा बढी संक्रमित भए, १२ हजारभन्दा बढीको मृत्यु भयो । मे महिनाको अन्त्यसम्मका जापानका धेरै स्थानमा संकटकाल लगाइने छन् । केही स्थानमा २० जुनसम्म संकटकाल लाग्नेछ ।
अरू थुप्रै विकसित देशले भन्दा जापानले ढिला गरी भ्याक्सिन वितरण गरेको हो । फेब्रुअरीमा भ्याक्सिन लगाउन शुरू भएकोमा तीन प्रतिशतभन्दा कममात्रै पूरै इम्युन भएका छन् । सबैभन्दा बढी संक्रमणको प्रभाव रहेको टोक्यो र ओशाकामा समुदायमा भ्याक्सिन लगाउने काम मेमा मात्र शुरू भएको हो । जुलाईको अन्त्यमा ६५ वर्षभन्दा माथि उमेरका सबैले भ्याक्सिन पाउने अनुमान गरिएको छ ।
जापानका अन्तर्राष्ट्रिय सीमाना बन्द छन् । बाह्य दर्शकको यहाँ कुनै सम्भावना छैन । दर्शकविनाको खेल हुने सम्भावनाकै बीच तयारी अघि बढाइएको छ । अरू देशबाट आउने खेलाडी र अफिसियल त्यहाँ उपस्थित हुनु अगाडि र पुगेपछि कोरोना परीक्षण गर्नु पर्नेछ । उनीहरूलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छैन ।
खेलाडीहरूलाई भ्याक्सिन दिन जरुरी छैन । तर, ८० प्रतिशतको दैनिक कोरोना परीक्षण गर्ने तयारी गरिएको छ । कुनै पनि बाह्य व्यक्ति त्यहाँका नागरिकसँग घुलमिल हुन पाउने छैनन् ।
जापानका बासिन्दा भने ओलम्पिक आयोजनाको विपक्षमा रहेका छन् । पछिल्लो सर्वेक्षणअनुसार ७० प्रतिशत जापानी ओलम्पिक खेलकुद रद्द गर्दा उपयुक्त हुने ठहरमा छन् ।
ओलम्पिककै कारण महामारी झनै फैलिएर स्वास्थ्य संयन्त्रले धान्नै नसक्ने अवस्थामा पुग्ने त होइन भन्ने चिन्ता धेरैलाई छ । चिकित्सकहरूको सङ्गठनले ओलम्पिक आयोजना गर्ने निर्णय अत्यन्त गलत भएको धारणा सार्वजनिक गरेको छ । ६ हजार संस्थाले ओलम्पिकका कारण जापान भयङ्कर ठूलो दुर्घटनाको बाटोमा पनि जान सक्ने र स्वास्थ्य संयन्त्र तहसनहस हुन सक्ने चेतावनी एक महिना अघि नै दिएको हो ।
कोयोटा विश्वविद्यालयका प्राध्यापक हिरोसी निसुइराले त बारम्बार ओलम्पिक खेलकुद आयोजना गर्न नहुने धारणा राख्दै आएका थिए । उनले अर्को एक वर्ष पर सारेमा धेरै जापानीले भ्याक्सिन लगाइसक्ने भएकाले कम जोखिम हुने धारणा राखेका थिए । एक वर्षमा संसारका धेरै देशका नागरिकले भ्याक्सिन लगाइसक्ने भएकाले जापानले मात्र होइन, संसारले नै महामारीबाट पार पाइसक्ने उनको धारणा थियो ।
चिकित्सक मात्र होइन, जापानका व्यापारी पनि ओलम्पिक खेलकुद आयोजनाको विपक्षमा छन् । प्रतिष्ठित व्यापारी संस्था टाइकनले त अझ खुलेर विरोध गरेको छ ।
सफ्ट बैङ्कका कार्यकारी प्रमुख मासायोसी सनले ओलम्पिक हुनु हुँदैन भन्ने यति धेरै व्यक्तिको मतका बाबजुद कसको दबाबमा यसो भइरहेको छ भन्ने प्रश्न गरेका छन् । मेको अन्त्यमै जापानको सञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको पत्रिका आसासी सिमुवानले पनि ओलम्पिक खेलकुद नगराउन लबिङ नै गरेको थियो ।
संसारका ६० भन्दा बढी देशका ८५ हजारभन्दा बढी खेलाडी सदस्य रहेको एथलेट एसोसिएसनले खेलाडीको स्वास्थ्य पहिलो प्राथमिकता भएको कारण सामाजिक सुरक्षाका प्रोटोकलपालना र व्यापक परीक्षणमा कन्जुस्याइँ हुन नहुने जनाएको छ । कुन खेलाडी सहभागी हुने भन्ने बहस हुनुपर्ने भए पनि आइओसी यस विषयमा मौन रहेको छ ।
यो बहसमा जापानका धेरै खेलाडी मौन बसेका छन् । टेनिस स्टार नाओमी ओसाका यो गम्भीर बहसको विषय भएको बताउँछन् । खेलकुदमा परिचित सञ्चारकर्मी तथा ‘पोलिटिकल हिस्ट्री अफ द ओलम्पिक गेम’ का लेखक जुल्स ब्वाइकफले न्युयोर्क टाइम्स मार्फत यस पटकको ओलम्पिक खेलकुद हुन नहुने भन्दै लेख लेखेका छन् । उनले आर्थिक नाफाघाटाभन्दा व्यक्तिको जीवन महत्त्वपूर्ण भएको कुरामा जोड दिएका छन् ।
संसारका अन्य देशले भने ओलम्पिक आयोजनाको विरुद्धमा आवाज उठाएका छैनन् । जापानले अन्य देशको यात्रा प्रतिबन्ध गरेपछि अमेरिकाले यसमा गम्भीर चासो देखाएको छ । यसका बाबजुद अन्त्यसम्म आफ्नो सहभागिता निश्चित गर्नेमा अमेरिका रहेको छ ।
आर्थिक कारणले आइओसी जुनै हालतमा पनि ओलम्पिक आयोजना गर्ने पक्षमा छ । जापानले हात झिकेमा सम्पूर्ण आर्थिक क्षति उसले मात्र व्यहोर्नु पर्नेछ । यसको अर्थ जापानले १२ अर्ब डलरभन्दा बढीको घाटा सहनु पर्नेछ ।
बेलायतले टोक्यो ओलम्पिकमा पूर्ण टोली नै पठाउने तयारी गरेको छ । सन् २०२२ को फेब्रुअरमा शीतकालीन खेल आयोजना गर्न लागेको चीनले पनि जापानमा ओलम्पिक खेलकुद आयोजनाको पक्षमा आफूलाई उभ्याएको छ ।
ओलम्पिक खेलकुदको कानुनी दायर नै यस्तो छ कि खेलकुद आयोजनाको बिडिङदेखि नै आइओसी सम्बन्धित नगरमाथि हाबी हुने गर्छ । टोक्यो शहरले पनि यसरी सम्झौता गरेको छ कि खेल रद्द गर्ने अधिकार आइओसीसँग मात्र छ ।
आइओसीले ७० प्रतिशत रकम प्रसारण अधिकार बिक्री गरेर उठाउने गरेको छ भने १८ प्रतिशत प्रायोजकबाट । खेल हुन नसके ठूलो आर्थिक क्षति आइओसीले सहनु पर्नेछ र ओलम्पिक गतिविधिमा असर पर्न सक्नेछ ।
आर्थिक कारणले आइओसी जुनै हालतमा पनि ओलम्पिक खेल आयोजना गर्ने पक्षमा छ । जापानले आयोजनाबाट हात झिकेमा सम्पूर्ण आर्थिक क्षति उसले मात्र व्यहोर्नु पर्नेछ । यसको अर्थ जापानले १२ अर्ब डलरभन्दा बढीको घाटा सहनु पर्नेछ । ओलम्पिक खेल भए पनि विगतको भन्दा फरक ढङ्गले हुने भएका कारण घाटा त हुन्छ नै तर यस्तो घाटा दुवैले बेहोर्नेछन् ।
जापान सरकारकै सबै अङ्ग ओलम्पिक आयोजनाको पक्षमा छैनन् । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका महासचिव सिनिहारो निकाइले एक महिना अघि नै एक टेलिभिजन अन्तरवार्तामा ओलम्पिक खेल रद्द हुनुपर्ने जनाएका थिए । उनको आवाजलाई सत्तारूढ दलले नै त्यति धेरै चासो दिएन ।
अहिले जापानका आठ वटा शहर कोरोनाबाट अत्यन्त प्रभावित मानिएका छन् । बेलायती भेरिएन्टको दबदबाका कारण सामान्य लापरबाहीले पनि जापानको अवस्था अझ भयावह त हुने होइन भन्ने चिन्ता देखिएको छ । अहिले नयाँ थपिने संक्रमितमा ८० प्रतिशतभन्दा बढी बेलायती भेरिअन्ट भेटिएका छन् ।
जापानले बिस्तारै बेलायती भेरिएन्टबाट पार पाउनसक्ने भए पनि कतै भारतीय भेरिएन्ट आयो भने कस्तो समस्या होला भन्ने चिन्ता पनि थपिएको छ । टोकियोका गभर्नर कोइके युरीकोले भर्खर भ्याक्सिन दिने काम शुरू भएकाले केही समय धैर्य गर्नुको विकल्प नभएको प्रतिक्रिया दिएका छन् ।
यस्तो अन्योलका बिच जापानका लागि ओलम्पिक आयोजनामात्र होइन आफ्नो टोलीको तयारी पनि त्यतिकै चुनौतीपूर्ण बनेको छ । मानिसहरू प्रशिक्षण गर्न पनि डराइरहेका छन् । ओलम्पिक खेलको क्रममा आफ्नो देशको संस्कृति अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने उद्देश्यले सांस्कृतिक कार्यक्रम पनि हुने गर्छ । यस पटक जापानमा यसका लागि छानिएका कलाकारले पनि तयारी गर्न पाएका छैनन् ।
थुप्रै देशका लागि थप समस्या पनि उत्पन्न भएको छ । उत्कृष्ट प्रदर्शनका लागि त्यहाँको हावापानी र मौसममा आफूलाई ढाल्न जरुरी हुन्छ तर जापानका धेरै सहरले अन्य देशका खेलाडीलाई अहिले प्रशिक्षण शिविर सञ्चालन गर्न दिने सम्भावना निकै कम छ ।
अमेरिकी महाद्वीपको बेलिजले जसोतसो योकोशिबाहीकारीमा प्रशिक्षणका लागि १० जनासम्म रहन अनुमति पाएको छ । उनीहरूले शिविरभन्दा बाहिर स्थानीय जापानीसँग सम्पर्क गर्न पाउने छैनन् । जापानले भ्याक्सिन दिने कामलाई तीव्रता दिएको छ र जुनसुकै ठाउँलाई भ्याक्सिन क्याम्प बनाउन सक्नेछ । यसले गर्दा प्रशिक्षण शिविर चलाउन पनि कठिन हुनेछ ।
ओलम्पिकमा विभिन्न प्रयोजनका लागि ५२८ नगरका भिन्न शहरहरू चयन भएका थिए । यसमा ५४ वटा शहरले ओलम्पिक र पारा ओलम्पिकका प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रमको प्रशिक्षण स्थगन गरेका छन् । जापानकै एक थरीले भने यसरी निर्धारित कार्यक्रम भङ्ग गर्नु भनेको खेलकुदको भावनाविरुद्ध मात्र भएको नभई समानताको विरुद्धको पनि भएको प्रतिक्रिया दिएका छन् ।
देशभित्रको यावत विरोध र आम असन्तुष्टिका बाबजुद प्रधानमन्त्री सुगा योसुहिदेले सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउँदै खेल सञ्चालन गर्ने आफ्नो अडान छाडेका छैनन् । उनले विदेशबाट आउने व्यक्तिको संख्या घटाउने भनेका छन् । उनले हालसम्म तय भएका धेरै नाम हटाउन मिल्ने जनाएका छन् ।
आयोजकले सहभागी र सञ्चारकर्मी गरी ९० हजारभन्दा कम व्यक्तिमात्र अन्य देशबाट जापानमा पुग्ने जनाएका छन् । यो संख्या महामारी शुरू हुनुअघि तय भएको भन्दा आधा हो ।
महामारीको बीच पनि ठूलो आर्थिक क्षति सहनुको साटो स्वास्थ्य जोखिम लिन तयार हुँदै जापानले ओलम्पिक खेलकुद आयोजनाको तयारी गरेको छ । यो तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना संक्रमणमा यसको प्रभाव कस्तो पर्ला भन्ने थाहा पाउन त जुलाई अन्तिमसम्म पर्खिनुपर्ने छ ।
-एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया