देउवाविरुद्धको कांग्रेस क्याम्प | Khabarhub Khabarhub

देउवाविरुद्धको कांग्रेस क्याम्प



नेपाली कांग्रेसले पार्टीलाई चलायमान बनाउने नयाँ योजना र कार्यक्रमहरू जनसमक्ष प्रस्तुत गर्न नसकेको बीपी कोइरालाको शेषपछि नै हो । बीपीको निधनयताका कुनै पनि महाधिवेशनमा विचार, सिद्धान्त र नीतिमाथि गम्भीर छलफल र बहस भएको छैन । आसन्न चौधौँ महाधिवेशन त कोरोना महामारीको ‘विशेष परिस्थिति’ हुन लागेकाले पदाधिकारी छान्ने प्रक्रियामा मात्रै सीमित हुने पक्का छ ।

लोकतन्त्रमा पार्टीको नीति, सिद्धान्त र कार्यक्रमसँगै दलको नेतृत्व गर्ने व्यक्तिको साख र पृष्ठभूमि महत्वपूर्ण हुन्छ । नीति, सिद्धान्त र कार्यक्रम त कुनै पनि पार्टीले नराम्रो बनाउँदैनन्, कतैबाट खोजेरै भए पनि आकर्षक बनाएकै हुन्छन् । आम निर्वाचनमा मतदाताले हेर्ने भनेको पार्टीको मुख्य नेताको व्यक्तित्व नै हो । नेकपा एमालेलाई एक्कासि धरहराको उचाइमा पुर्‍याएको मदन भण्डारीको व्यक्तित्वको प्रभावले नै हो ।

कांग्रेसमा बीपी कोइरालाले नेतृत्वमा व्यक्ति छनौटलाई केन्द्र बिन्दुमा राखेर निर्णय गर्ने गरेको पाइन्छ । २००७ सालको जनक्रान्तिपछि बीपीले दलित समुदायका नेता देवव्रत परियारलाई पार्टीको महामन्त्री बनाए । यसबाट २०१५ सालको आमनिर्वाचनमा दलित समुदायले कांग्रेसमाथि ठूलो भरोसा गर्‍यो, ‘जहाँ दलित त्यहाँ नेपाली कांग्रेस’ भन्ने मान्यता स्थापित भयो ।

कांग्रेसले जातभात मान्दैन भन्दै मुख्य प्रतिस्पर्धी पार्टी गोर्खा परिषदले ठूला जातका भनिने मतदातालाई भड्काउने प्रयास नगरेको होइन तर सफल हुन सकेन ।

सभापति शेरबहादुर देउवाले पदको आशक्ति छाड्ने हो भने कांग्रेसलाई आगामी राष्ट्रिय निर्वाचनमा बहुमत हासिल गर्न कुनै पनि शक्तिले रोक्न सक्नेछैन ।

२०१७ सालको ‘कु’ पछि कांग्रेसको सङ्गठन शिथिल भयो, बलियो बनाउने परिस्थिति नै थिएन । २०३६ सालमा अचानक विद्यार्थी आन्दोलन उठ्यो । राजा वीरेन्द्रले जनमत सङ्ग्रह घोषणा गरे ।

कांग्रेस कमजोर भएको मौका छोपेर पञ्चायती व्यवस्थालाई जनताबाट अनुमोदन गराउने रणनीति हो कि राजा वीरेन्द्रले साँच्चै सुरक्षित अवतरण खोजेका हुन् भन्ने कुरामा बीपी अन्योलमा परे । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको रवैयाले बीपीलाई वास्तविकता बुझ्न धेरै समय लागेन ।

पञ्चायतलाई जिताउने षड्यन्त्र हो भन्ने थाहा पाएर पनि बीपीले समयको लामो अन्तरालमा जनताबीच जाने अवसरका रूपमा जनमत सङ्ग्रह उपयोग गर्ने निधो गरे ।

बीपीले सडक यातायत पुगेका सबै जिल्लामा आफैँ पुग्ने निधो गरे । पहाडी क्षेत्रमा थोरै ठाउँमा मात्रै सडक यातायात पुगेको थियो तर ती ठाउँमा पनि बीपीलाई आमसभा गर्न दिइएन । स्याङ्जामा त ज्यानै लिने नियतले आक्रमण भयो ।

पहाडमा सम्भव छैन भन्ने बुझेर बीपी तराईमा केन्द्रित भए । त्यतिबेला तराईमा कुल जनसंख्याको करिब ४० प्रतिशतको बसोवास थियो ।

बीपीले तराईलाई बहुदलको अनुकूल बनाएर पञ्चायतलाई धक्का दिने रणनीति अवलम्बन गरे । उनले जनमत सङ्ग्रहको प्रचारप्रसारको प्रारम्भमै महामन्त्री परशुनारायण चौधरीलाई भावी प्रधानमन्त्री घोषणा गरे । यसबाट तराईको रैथाने समुदायमा पञ्चायतका समर्थक छिर्नै नसक्ने वातावरण बन्यो ।

दोस्रो धक्काका रूपमा बीपीले ६ वर्षदेखि रोकिएको नेवि संघको तेस्रो महाधिवेशन जनकपुरम गराउने निधो गरे । जनकपुरको विशाल आमसभामा बोल्दै उनले २३ वर्षे युवा विमलेन्द्र निधिलाई नेवि संघको अध्यक्ष घोषणा गरे । त्यतिबेला निधि जनकपुर क्याम्पसको स्ववियु सभापति र नेवि संघको केन्द्रीय सदस्य थिए । अध्यक्ष बन्न लाइनमा बसेका सिनियरहरूको असन्तुष्टि बीपीले तार्किक ढङ्गले साम्य बनाए ।

महामन्त्री चौधरीलाई भावी प्रधानमन्त्री र निधिलाई नेवि संघको अध्यक्ष घोषणा गरेपछि बहुदलको पक्षमा महालो बन्यो भन्ने कुरा परिणामले प्रमाणित गर्‍यो । कपिलवस्तु बाहेक तराईका सबै जिल्लामा बहुदलको पक्षमा बहुमत भयो । पहाडमा भने सडक यातायात पुगेका जिल्लामा मात्रै बहुदलको पक्षमा बढी भोट आयो । सडक यातायत नपुगेका जिल्लामध्ये ओखलढुङ्ग मात्रै अपवाद रह्यो ।

सभापति शेरबहादुर देउवाले पदको आशक्ति छाड्ने हो भने कांग्रेसलाई आगामी राष्ट्रिय निर्वाचनमा बहुमत हासिल गर्न कुनै पनि शक्तिले रोक्न सक्नेछैन ।

निधि अध्यक्ष बन्दा नेवि संघले स्ववियु निर्वाचन जित्ने गरेका क्याम्पस नेपालभरि दुई वटा मात्रै थिए । निधि आएपछि लहर नै आयो । मधेशी समुदायका विद्यार्थीहरू धेरै भएका ठाउँमा नेवि संघले चुनाव जित्ने लहर चल्यो । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर र आयुर्वेद क्याम्पस नरदेवीमा स्ववियु निर्वाचन जितेर नेवि संघले काठमाडौँमा पनि खाता खोल्यो ।

जसरी २०१५ सालको आमनिर्वाचनमा दलित भन्नासाथ कुन पार्टीको भनेर सोध्नुपर्ने अवस्था थिएन त्यसरी नै २०३६ सालको जनमत सङ्ग्रहपछि मधेशी विद्यार्थी भन्नासाथ कुन सङ्गठनको भनेर सोध्नुपर्ने भएन । नेवि संघ र मधेशी विद्यार्थी एक अर्काका पर्याय बने । त्यसको ब्याज नेवि संघ र नेपाली कांग्रेसले २०६३ सालको मधेश आन्दोलनसम्म पाइरहे । मधेशको साथ पाउन्जेल कांग्रेस जनमतका दोस्रो बन्नु परेन । मधेशसँगको तन्तु चुँडिन थालेपछि कांग्रेसको दशा शुरू भयो ।

अहिले तराईको जनसंख्या २०३६ सालको जस्तो ४० प्रतिशतमात्रै छैन, करिब ५२ प्रतिशत छ । लोकतन्त्र भनेको मूलतः टाउको गन्ने अभ्यास नै हो । जनसंख्या बढी भएकै ठाउँको राजनीतिक प्रभाव बढी हुन्छ । प्रतिनिधिसभाको सिट संख्या पनि तराई र काठमाडौँ उपत्यकाको करिब ६५ प्रतिशत हुन आउँछ ।

तराई र काठमाडौँ उपत्यकाको मन जित्न नसक्ने राजनीतिक दलले अब सत्ताको सपना नदेखे हुन्छ । तराई र काठमाडौँ उपत्यकाको मन जित्ने अवसर नेपाली कांग्रेसलाई अहिले आएको छ । यो अवसरबाट लाभ लिन सकेन भने कांग्रेसले फेरि लामो समय पछि पर्नसक्छ ।

यतिबेला उपसभापति निधि र पूर्वउपसभापति प्रकाशमान सिंह सभापति पदका लागि सबै मापदण्डले योग्य छन् । समस्या कहाँ छ भने यी दुईलाई आपसमा भिडाएर दाउ मार्ने तेस्रो व्यक्तिको रणनीति विगतमा जस्तै बलियो छ । बाह्रौँ महाधिवेशनमा नेपाली यस्तो दुर्घटना भइसकेको छ । कांग्रेसलाई ओरालोरित धकेल्ने शक्तिले कुन रुद्रघण्टी समातेर खेल अघि बढाइरहेको छ भन्ने प्रष्ट भइसकेको छ । महाधिवेशन प्रतिनिधिहरूले सोच्नुपर्ने यहीँनिर हो ।

निधिको उम्मेदवारीबाट हुने क्षतिपूर्तिका लागि तह्रौँ महाधिवेशनमा झैँ कृष्णप्रसाद सिटौला र गगन थापा समूहको साथ लिने रणनीति देउवाको छ ।

कांग्रेसको ७५ वर्षको इतिहासमा पार्टीको नेतृत्वमा एकै समुदायका नेता रहेका छन् । बीपीको निधनपछि करिब एक दशक गणेशमान सिंहको निर्णायक भूमिका थियो । २०४० सालदेखिको एक दशक कांग्रेसका लागि स्वर्णकाल नै थियो भन्दा अत्युक्ति हुने छैन ।

सभापति शेरबहादुर देउवाले पदको आशक्ति छाड्ने हो भने कांग्रेसलाई आगामी राष्ट्रिय निर्वाचनमा बहुमत हासिल गर्न कुनै पनि शक्तिले रोक्न सक्नेछैन । यस्तो सम्भावना भने न्युन छ । कोइराला परिवारका नेताहरूले यो कुरा आत्मसात गरे भने देउवाको आशक्ति प्रज्ज्वलित गराउने शक्तिकेन्द्रको केही जोडबल चल्ने छैन । यो सम्भावना भने जीवितै छ ।

अहिलेसम्मको अवस्थामा देउवा कुनै पनि हालतमा फेरि सभापति बनेरै छाड्ने अभियानमा छन् । उनका विपक्षीहरू कुनै पनि हालतमा देउवालाई दोहोर्‍याउन नदिने पक्षमा छन् । आफ्ना विपक्षीहरूलाई छिन्नभिन्न गराउने देउवाको दाउ अहिलेसम्म सफलोन्मुख छ । ‘मैले बाहेक अर्कोले देउवालाई हराउन सक्दैन’ भन्दै उम्मेदवारी घोषणा गर्नेहरूको संख्या देउवाइतर पक्षमा आधा दर्जनभन्दा बढी छ ।

कांग्रेसमा अलिससम्म ठूलो र बलियो गुट देउवाकै हो । अरू गुटबाट जति धेरै जना प्रतिस्पर्धामा उत्रिन्छन् त्यति नै बढी लाभ देउवालाई हुनेछ ।

उपसभापति निधिको नयाँ कदमले देउवालाई कुन स्तरको धक्का लाग्ला भन्ने लेखाजोखा हुन बाँकी छ । निधिको उम्मेदवारीबाट हुने क्षतिपूर्तिका लागि तह्रौँ महाधिवेशनमा झैँ कृष्णप्रसाद सिटौला र गगन थापा समूहको साथ लिने रणनीति देउवाको छ । देउवाले आफ्ना सहयोगी रमेश लेखकलाई छिटै दिल्ली पठाउने तयारी गरेको उनका निकटस्थहरू बताउँछन् ।

तेह्रौँ महाधिवेशनमा सिटौला समूहको साथ पाउँदा देउवा दोस्रो चरणमा झिनो मतान्तरले सभापति निर्वाचित भएका हुन् । त्यतिबेला पहिलो चरणमा साथ दिनेमध्ये निधि र महामन्त्रीका उम्मेदवार बनेका अर्जुननरसिंह केसी देउवाबाट अलग भएका छन् । केबी गुरुङ र गोविन्दराज जोशीले पनि साथ नदिने पक्काजस्तै छ । विगतमा देउवाको टिमबाट केन्द्रीय सदस्यमा निर्वाचिन भएकामध्ये चन्द्र भण्डारी, फरमुल्लाह मन्सुर लगायतका अन्य केही बाहिरिएका छन् ।

निधि र सिंहको प्रतिस्पर्धा देउवाका लागि अवसर भए पनि कांग्रेसका लागि निकै महँगो सावित हुनेछ ।

देउवा गुटमा भित्रिनेहको संख्या पनि कम छैन । विजयकुमार गच्छदार, सुनिल थापा, कुमार खड्का लगायतले नेतृत्व गरेका करिब आधा दर्जन पार्टीहरू नेपाली कांग्रेसमा समाहित भएर देउवाका पक्षमा छन् । ती पार्टीहरूबाट कम्तीमा पाँच सय महाधिवेशन प्रतिनिधिहरू ल्याउने देउवाको दाउ छ । विगतमा इतर पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका डा. नारायण खड्का, गोविन्द भट्टराई लगायत केही देउवाका साथमा छन् ।

यता इतर पक्षले सझा उम्मेदवारका रूपमा निधिलाई अघि बढाउन छलफल चलाएको छ । महामन्त्री डा. शशांक कोइरालाले यो छलफलको अगुवाइ गरेका छन् । इतर पक्षको यो प्रयास सफल भयो भने देउवा पराजित हुनेछन् । जित्ने पक्का नभए देउवा पछि हट्न सक्छन् ।

शुरूको तीन वर्ष निधि सभापति बन्ने, त्यसपछिको एक वर्ष डा. शशांक कोइराला कार्यबहाक सभापति बनेर पन्ध्रौँ महाधिवेशनबाट सभापति बन्ने र आगामी आम निर्वाचनमा प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने गरी यी तीन नेताको छलफल अघि बढेको भन्ने समाचार केही मिडियामा आएको छ ।

महामन्त्री डा. कोइराला निधिका लागि बाटो छोड्न तयार भए पनि सिंहले आफ्नो दाबी छाडेका छैनन् । निधि र सिंहको प्रतिस्पर्धा देउवाका लागि अवसर भए पनि कांग्रेसका लागि निकै महँगो सावित हुनेछ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ९ : ५१ बजे

रुसका राष्ट्रपतिले गरे तीन दिने युद्धविरामको घोषणा

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर

पत्रकार बिनु सुवेदीलाई अम्बिका देवी ओली स्मृति राष्ट्रिय पुरस्कार

काठमाडौं- यस वर्षको अम्बिका देवी ओली स्मृति प्रतिष्ठान ‘राष्ट्रिय साहित्य

इरानमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो 

तेहरान– इरानको राजी बन्दरगाहमा शनिबार भएको  विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

विशेष जिल्ला कमिटीले गर्‍यो क्यालेण्डर विमोचन  

काठमाडौं– नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी, काठमाडौंले ‘२०८२ सालको

आवश्यकताको आधारमा समय सापेक्ष ऐन कानुन संशोधन हुनुपर्छ : श्रममन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा