हराउँदै कोदो, बढ्दै माग « Khabarhub

हराउँदै कोदो, बढ्दै माग


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तानसेन– यहाँका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदोखेती हराउँदै गएको छ । मुख्यतया नगदे बालीको लोकप्रियता, कोदोखेतीमा धेरै मेहनत र लगानीको आवश्यकता भएका कारणले धेरै किसानले कोदोखेती छाड्दै गएको पाइन्छ । 

जिल्लाका कृषकहरू अहिले अन्य नगदेबाली खुर्सानी, आलु, अदुवा, बेसार र तरकारीखेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका हुन् । जिल्लाको केही क्षेत्रमा कोदोखेती अझै  केही मात्रामा भइरहेको भए पनि, यी क्षेत्रमा समेत उत्पादनमा कमी आएको देखिन्छ । यहाँका कोदो फल्ने  अधिकांश बारीमा घाँस र पातपतिङ्गर जस्ता झारले भरिएको छ ।

एक दशकअघिसम्म यहाँको रिब्दीकोट बगनासकाली गाउँपालिका सिरुखर्काकी शर्मिला थापाको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाडेका छन्। उनले कोदोखेती गर्दै आएको जग्गा बनमारा र बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने मान्छे नभएको थापाले बताए। 

बगनासकाली गाउँपालिका खानेगाउँका दीपक पचाभैया पनि धेरै कोदो उत्पादन गर्ने किसान हुन्। तर उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन् । केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट माथागढी, निस्दी, पूर्वखोला, रम्भा, तिनाउलगायत जिल्लाका अन्य किसानहरुको मुख्य बाली कोदो थियो । युवाहरु विदेश र सहरतिर, गाउँमा  बूढाबूढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ । यहाँको दुई वर्षको तथ्याङ्क हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ । 

यहाँ आर्थिक वर्ष २०८०-८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएको थियो  । जुन आर्थिक वर्ष २०८-८२ मा आएर दुई हजार ३४९  हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए। उनका अनुसार कृषकहरू सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदोखेती हुने क्षेत्रफल घट्दै गएको हो । कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायः जसो  जिल्लाका सबै गाउँ बस्तीमा हुन्थ्यो तर आजभोलि सबै हराए ।

कोदो हराउँदै गए पनि माग भने बढ्दो रहेको छ । पछिल्लो केही वर्षयता यहाँका होटलहरूमा कोदोका परिकारको माग बढेको तानसेन कैलाशनगरका होटल व्यवसायी दीपक अधिकारीले बताए। कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ छ । 

माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको कार्कीले बताए। बजारमा सहजरुपमा कोदोको पीठो पाउन गाह्रो हुने उनको भनाइ छ । 

‘पहिले कोदोको ढिँडोको माग खासै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ ढिँडो हुन्छ । विशेषगरी स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ । अहिले धेरै व्यक्तिमा अग्र्यानिक खाना खानुपर्छ भन्ने सोच बढेको छ,’ अधिकारीले भने, ‘कोदोको खेती कम भएर होला, भनेको समयमा पीठो पाउन सकिँदैन । कहिले गाउँमै गएर ल्याउँछौँ । कहिले किसान आफैँ यही ल्याइदिएर हाउँछन्। स्थानीय उत्पादनको महत्व नागरिकले बुझ्दै गएका छन् ।’

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ०४ बजे

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’