महाशिवरात्रिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश « Khabarhub

महाशिवरात्रिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री-२०७८ आज मंगलबार धुमधामका साथ मनाइँदैछ। उपत्यकाको पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ।

यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वर्णित छ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।

पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिले नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्दै शुभकामना सन्देश जारी गरेकी छन्।

उनले भनेकी छन्, ‘नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भूभाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो, हाम्रो मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइन्छ।’

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा विश्वास व्यक्त गरेका छन्। ‘आजै नेपाली सेना दिवस पनि हो। नेपाली सेना दिवस-२०७८ को अवसरमा नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रीले नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको बताएका छन्। नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले हरेक जातजातिका आआफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ७ : ३७ बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ