विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

आज वैशाख १८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे १, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

युरोप जाने क्रममा ३ हजार भन्दा धेरै आप्रवासीको मृत्यु भएको राष्ट्रसंघको भनाइ

गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यो संख्या सन् २०२० को तुलनामा दोब्बर हो ।

गत वर्ष भूमध्यसागर र एट्लान्टिक मार्गहरू पार गर्ने क्रममा ३ हजार ७७ जना हराएका थिए । जवकी सन् २०२० मा यो संख्या १५४४ थियो ।

यस वर्षको सुरुदेखि अहिलेसम्म थप ४७८ व्यक्तिहरूको समुद्रमा मृत्यु भएको वा बेपत्ता भएका शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का प्रवक्ता साबिया मन्टुले जेनेभामा पत्रकारहरूलाई जानकारी दिए ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरको पछिल्लो प्रतिवेदनले शरणार्थी र युरोप पुग्न खोज्ने अन्य आप्रवासीहरूबीच बढ्दो मृत्युलाई रोक्न तत्काल कदम चाल्न माग गरेको छ ।

चीनले युक्रेनको सुरक्षा प्रत्याभूति गर्नसक्ने युक्रेनी विदेशमन्त्रीको भनाइ

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले चीनलगायत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताएका छन् । 

चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा प्रत्याभूतसम्बन्धी बुडापेस्ट घोषणापत्रले युक्रेनको वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताए ।

कुलेबाका अनुसार रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ ।

युक्रेनी विदेशमन्त्रीले सिन्ह्वालाई बताएअनुसार अब सुरक्षा परिषद्का स्थायी सदस्यहरू र चीनलगायत अन्य प्रमुख शक्तिहरूबाट सुरक्षा ग्यारेन्टीहरू प्राप्त गर्ने सम्भावनाहरू खोजी भइरहेको छ र चीजलाई युक्रेनको सुरक्षा ग्यारेन्टीहरू मध्ये एक बन्न प्रस्ताव गरिएको छ ।

उनले चीनले युक्रेनमा युद्धविरामको पहल गर्न रुसलाई आह्वान गर्ने आशा राखेको समेत जानकारी दिए ।

रुसले  गत फेब्रुअरी २४ मा युक्रेनमा ‘विशेष सैन्य कारवाही’ शुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताउने गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका जनतालाई जोगाउने लक्ष्य रहेको बताएका थिए, ‘जो आठ वर्षदेखि किभको सत्ताद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका छन्।’

त्यस्ता दाबीको खण्डन गर्दै पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् ।

हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसको दाबी

रुसको सेनाले १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको आक्रमणबाट रकेट तथा तोपखाना भण्डार गर्न प्रयोग हुने गोदामलाई नष्ट गरेको दाबी गरेको छ ।

हवाई हमलामा २ सयभन्दा बढी युक्रेनी फौज मारिएको र २३ ओटा बख्तरबन्द बहानहरु ध्वस्त पारेको एउटा अनलाईन पोस्टमा रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ । हमलाबारे युक्रेनी पक्षले कुनै टिप्पणी गरेको छैन।

अनलाइन पोस्टमा ओडेसा विमानस्थलमा भएको हमलाको कुनै उल्लेख गरेको छैन । विमानस्थललाई लक्षित गरी रुसले मिसाइल प्रहार गरेको स्थानीय स्थानीय गभर्नरले बताएका छन् । हमलापछि धावनमार्ग अवरुद्ध भएको छ ।

२४ फेब्रुअरीदेखि गरेको रुसी हमलामा लाखौँ युक्रेनी विस्थापित भएका छन् ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनबाट १० लाख मानिसहरूलाई उद्धार गरिएको दाबी गरेका छन् । हमलापछि बिचल्लीमा परेका आफ्ना नागरिकहरूलाई उनीहरूको इच्छाविपरीत सीमापारि लगेको आरोप युक्रेनले बारम्बार लगाउने गरेको छ । रुसले उद्धार गरेको भनिएकामध्ये १ लाख मानिस दोनेत्स्क र लुहान्स्का गणतन्त्रका बासिन्दा छन् ।

श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि

आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । श्रीलंकामा  एन्टिबायोटिक्स, पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि गरिएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय चरम आर्थिक संकटका कारण श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ । त्यहाँ औषधि आपूर्तिका लागि विदेशमा नै निर्भर हुनुपर्ने बाध्यता रहेको बताइएको छ । यो ६ हप्ताको अवधिमा दोस्रो वृद्धि हो ।

यसअघि सरकारले खाद्यान्न र औषधिहरूसहित केही आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । ‘यो सरकारले स्वेच्छाले गरेको निर्णय होइन’, श्रीलंकाका सञ्चारमन्त्री नालाका गोदाहेवाले बीबीसीलाई बताए ।

श्रीलंकाली रुपैयाँको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको उनले बताए । मूल्य वृद्धि नगरे गम्भीर अभाव हुन सक्ने समेत उनको चेतावनी छ । 

यता औषधि अभावका कारण तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

‘अवस्था निकै खराब छ । कहिलेकाहीँ एन्टिबायोटिकहरू पाँच दिनको लागि निर्धारित गरिन्छ । तर, अहिले मेरा ग्राहकले दुई तीन दिनको लागि मात्र एन्टिबायोटिक मागिरहेका छन्’ कोलम्बोमा फार्मेसी चलाउने रुचिरा हेवावासमले बीबीसीलाई भनिन् । 

उच्च मूल्य तिर्न इच्छुक र सक्षम भएकाहरूका लागि पनि केही औषधिहरूको आपूर्ति कम भएकोमा केही चिन्तित रहेको जनाइएको छ ।

मध्य रत्नपुरा जिल्लामा बस्ने वेलुपिल्लई विग्नेश्वरन विगत एक वर्षदेखि गम्भीर न्युरोलोजिकल डिसअर्डरबाट पीडित आफ्नी बहिनीका लागि औषधिको ट्याब्लेट खोजिरहेको बताउछन् । 

‘हामीले धेरै फार्मेसीहरू खोज्यौँ तर औषधिहरू उपलब्ध छैनन् । डाक्टरहरूले हामीलाई फरक औषधि नखान सल्लाह दिएका छन् । हामी हाम्रा साथीहरूमार्फत भारतबाट औषधि ल्याउँदै छौँ,’ उनले भने ।

महिला सहकर्मीकै अगाडि पोर्न हेर्ने बेलायती सांसदद्वारा राजीनामा

बेलायतमा संसद्मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल परिसले अन्ततः पदबाट राजीनामा दिएका छन् ।

६५ वर्षीय परिसले ‘पागलपनको क्षण’ का लागि माफीसमेत मागेका छन् । आफूले संसद्मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेको युरोन्युजले जनाएको छ । 

यसअघि उनले उनले झुक्किएर पोर्न भिडियो हेरेको बताएका थिए । उनले बैठकमै पोर्न हेरेको भन्दै दुई महिला सहकर्मीले उजुरी दिएपछि यसबारे छानबिन थालिएको जनाइएको छ ।

विगत १२ वर्षदेखि टिभरटन एण्ड होनिटन निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने उनले राजीनामा दिएपछि सो क्षेत्रमा पुनः निर्वाचन हुने युरोन्युजले जनाएको छ ।

यता सो निर्वाचन क्षेत्रको कन्जरभेटिभ पार्टीले १२ वर्षसम्म सेवा गरेको भन्दै उनलाई धन्यवाद दिएको बताइएको छ । पछिल्लो समय बेलायती संसद्मा भएका यौन दुराचारका घटना बाहिर आउन थालेको युरोन्युजले जनाएको छ ।

मारिउपोलको एजोभस्तल क्षेत्रबाट झण्डै २० जनाको उद्धार

झन्डै २० जनाको समूह रुसको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको बन्दरगाह शहर मारिउपोलस्थित एजोभस्तल स्टिल कारखानाबाट बाहिर निस्केको छ । रुसी सञ्चारमाध्यमले एजोभस्तल औद्योगिक क्षेत्रबाट २० जनालाई उद्धार गरिएको जनाएका हुन् ।

बीबीसीका अनुसार उद्धार गरिएकाहरुमध्ये अधिकांश महिला र बालबालिका छन् । एक साताअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोलमा रुसले विजय हासिल गरेको दाबी गरेका थिए ।

मारिउपोलका अधिकांश क्षेत्रमा कब्जा जमाएपनि रुसी फौजले एजोभस्तल क्षेत्रलाई अझै कब्जा गर्न सकेका छैनन् । एजोभस्तल क्षेत्रमा अझै पनि हजारौँ युक्रेनी सैनिकले रुसी आक्रमणको सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कारखानाभित्र अझै फसेका एक हजार जनालाई मुक्त गर्ने बारेमा छलफल भइरहेको बताइएको छ ।

एक साताअघि रुसी सेनाले मारिउपोल कब्जा गरेको घोषणा गर्ने क्रममा राष्ट्रपति पुटिनले आफ्ना सैनिकहरूलाई ‘झिँगा पनि उम्किन नपाउनेगरी’ औद्योगिक क्षेत्रलाई बन्द गर्न निर्देशन दिएका थिए ।

श्रीलङ्कामा प्रदर्शन अघि अमेरिकी दूतावासद्वारा ‘प्रदर्शन चेतावनी’ जारी

श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले राजधानी कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि ‘प्रदर्शन चेतावनी’ जारी गरेको छ ।

देशमा जारी आर्थिक संकटको विरोध गर्न कोलम्बो र शहर आसपास धेरै प्रदर्शन र र्‍यालीको आयोजना गरिएको बताइएको छ ।

‘प्रदर्शनले कोलम्बो भित्रको यात्रालाई अझ कठिन बनाउने र दिनभर सडक बन्द र ट्राफिक जाम निम्त्याउने सम्भावना छ’ अमेरिकी दूतावासले जनाएको छ ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । मुलुकमा हाल खाद्यान्न र बिजुलीको चरम अभाव रहेको बताइन्छ ।

अहिले श्रीलङ्का आफ्ना छिमेकीहरूबाट सहयोग लिन बाध्य रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । कोभिड–१९ महामारीको समयमा पर्यटन क्षेत्रमा आएको कमीका कारणले गर्दा विदेशी मुद्राको अभाव भएकाले मन्दी आएको बताइएको छ ।

यसबाट श्रीलङ्कालाई पर्याप्त इन्धन किन्न समेत धौधौ परिरहेको छ । मानिसहरूले खाद्यान्न र आधारभूत आवश्यकताहरू जस्तै इन्धन र ग्यासको तीव्र अभावको सामना गरिरहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै त्यहाँको कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमण हाल बढ्न थालेको बताइएको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो ।

२४ घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमित मध्ये एक हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल  राजधानीमा ५ हजार ७१६ सक्रिय सङ्क्रमित रहेका पनि जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८ सय ४३ पुगेको छ ।

भारतभर अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ९२ जना रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायता सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायता सक्रिय सङ्क्रमित बढेको पाइएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाको समयावधिमा दुई हजार ८७६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ३६ हजार  २५३ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अमेरिकामा डढेलोले ९७ हजार एकड जमिनमा क्षति

अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । राज्यको ९७ हजार एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।

त्यस क्षेत्रभरि हावाको तीव्र वहावका कारण डढेलो फैलिएको बताइएको छ । हावाको तीव्र प्रवाहले डढेलो अनुमान भन्दा छिटो फैलिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

‘यो तीव्रता आज पनि जारी रहनेछ’ सान्टा फे नेसनल फरेस्टका अग्नि नियन्त्रण अधिकारीहरुले जानकारी दिएका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ।

विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो  नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ७ : ५९ बजे

नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन

तेलअभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ केही

नेपालमा ३० हजारभन्दा बढी एचआईभी संक्रमित, अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती

काठमाडौं– नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्त्व दिँदै आएको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

कायरो– इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटमा शुक्रबार एउटा ट्रक (लोरी) र