बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै | Khabarhub Khabarhub

बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ ।

बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा सञ्चालित सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढेको बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी रानाले बताए ।
“कोभिड–१९ को सङ्क्रमणका कारण लामो समय बन्दीपुरको पर्यटन ठप्पै भयो,” उनले भने, “अहिले जनजीवन सामान्य बनेपछि बन्दीपुर घुम्न आउनेको सङ्ख्या क्रमश बढिरहेको छ ।”

बन्दीपुर आउने अधिकांश पर्यटक घरबासमा बस्न रुचाउने गरेको उनले बताए । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार घरबासमा बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको हो । “ती दिनमा हामीलाई पाहुना स्वागत गर्न भ्याइनभ्याइ हुन्छ, उहाँहरुको स्वागतार्थ पूर्वतयारी गर्नुपर्ने पनि हुन्छ” रानाले भने ।

उनका अनुसार एकदिन मात्रै घरबासमा बस्ने गरेर आएका पर्यटक एकदिन मात्रै नभइ दोस्रो दिन पनि बस्ने गरेका छन् । “एक दिन मात्रै बस्दा रहर पुगेन भनेर अर्को दिन पनि बस्नुहुने पर्यटकको सङ्ख्या पनि धेरै नै छ,” उनले भने ।

घरबासमा बस्ने पर्यटकलाई बेलुकाको समयमा स्वागत र जाने बेलामा बिदाइ गर्ने गरिएको छ । “घरबासमा बस्दा पाहुनाहरुले पारिवारिक वातावरणमा बसेको जस्तो अनुभूति भएको हामीलाई प्रतिक्रिया दिनुहुन्छ, होटलमा बस्दा त्यस्तो अनुभव गर्न सायद पाउनुहुँदैन,” उनले भने ।

बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजु बानियाँका अनुसार पर्यटकीय मौसमका बेलामा घरबासमा थेग्नै नसकिने भीड हुन्छ । बेमौसममा पनि समूह–समूहमा पाहुना आउने गरेको उनले बताए । “समूहमा आउने पर्यटकलाई यहाँका सबै घरबासमा मिलाएर राख्ने व्यवस्था मिलाइन्छ,” उनले भने ।

यहाँ बन्दीपुर सामुदायिक घरबास, मोहोरिया घरबास र विन्ध्यावासिनी घरबास सञ्चालित छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा सञ्चालित घरबासले पर्यटक आकर्षित गरेको बताए । “बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि घरबासले पनि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्,” उनले भने ।

पोखराबाट घरबासमा बास बस्न आएका हरि पौडेलले घरबासको आतिथ्यता र सत्कार देखेर खुशी लागेको बताए । बन्दीपुरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए ।

बन्दीपुर गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य पनि हो । यहाँबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर दूरीको डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि पर्यटकीय बन्दीपुर पुगिन्छ । १८औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा विछ्याइएको बाटो निर्माण गरेका थिए ।

बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेलीशैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।

 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ३ : २४ बजे

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं – आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप

वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो

सिरहा – सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन – वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि

काडाँघारीको आइडियल सहकारीका सञ्चालक भागे, बचतकर्ता आन्दोलित

काठमाडौं- काठमाडौंको काँडाघारीस्थित आइडियल यमुना सहकारी संस्थाका सञ्चालहरू फरार भएका

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी,