दिनभर आजः रेल्वे विधेयक पारित, रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता | Khabarhub Khabarhub

दिनभर आजः रेल्वे विधेयक पारित, रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दिनभर पत्रकारिता छाडेर राजनीतिमा लागेका रवि लामिछानेको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, राष्ट्रिय सभाबाट रेल्वे विधेयक सर्वसम्मतले पारित लगायतका समाचार चर्चामा रहे ।

यी हुन् आजका शीर्ष समाचारहरुः

विद्युत प्राधिकरणको लापरवाहीले बालिकाले हात गुमाइन्

नेपाल विद्युत प्राधिकरणको लापरबाहीले एक बालिकाले हात गुमाउन पुगेकी छिन् । त्रियुगा नगरपालिका– ३ मोतिगडाबाट जोगिदह हडिया लगेको एघार हजार भोल्टेजको नाङ्गो तार घरको छतबाट लगेका कारण सो तार छुँदा बालिकाले हात गुमाएकी हुन् ।

मोतीगडाका सन्तोष बरालको घरको छतबाट प्रशारण लाइन जाँदासोही घरमा डेरा गरी बस्ने भरत दाहालकी छोरी कृष्टिना दाहाल करेन्ट लागेर गम्भीर घाइते भएकी हुन् ।

विद्युत प्राधिकरणले घरको छतमा हाइभोल्डेजको तार लगेका कारण बालिकालाई करेन्ट लागेको स्थानीयले बताए ।

छतमा खेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । त्यसलगत्तै उनलाई तत्काल उदयपुर जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

करेन्ट लागेर घाइते भएकी कृष्टिनाको दाहिने हात काट्नुपर्ने चिकित्सकले बताएको परिवारले जनाएको छ ।

राष्ट्रिय सभाबाट तीनवटा विधेयक पारित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको बहिष्कारका बीच राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित विभिन्न तीनवटा विधेयक पारित गरेको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

त्यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले तीनवटै विधेयकलाई मुल रुपमा नै सुझाव दिन पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

बैठकमा अर्थमन्त्रीले उक्त विधेयक पेश गर्दा एमालेका सांसदहरुले विरोध जनाएका थिए । एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै संसदीय छानविन समिति बनाउन माग गर्दै आएको छ । एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पु¥याएर मुलुकलाई हानी पु¥याएकाले त्यसको निश्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताए ।

बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरुको माग रहेको र एमाले संसदीय दलको बैठकले सो माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको उनले बताए ।

त्यसलगत्तै एमाले सांसदहरु कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए ।

एमालेको बहिष्कारका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाएका थिए ।

रेल्वे विधेयक सर्वसम्मतले पारित

राष्ट्रिय सभाको बैठकले रेल्वे विधेयक २०७९ सर्वसम्मतले पारित गरेको छ । आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गरेकी थिइन् ।

छलफलमा क्रममा सांसदहरुले विधेयकका उल्लेख केही विषयमा संशोधन गर्नुपर्ने बताएका थिए । मन्त्री यादवले निश्चित समयमा ऐन कार्यान्वयनको मापन गर्दै त्यसको जानकारी सदनमा गराउने बताइन् ।

रेल्वे बोर्डको काम कर्तव्य र अधिकारका विषयमा पनि सांसदहरुले उठाएका विषयलाई सम्बोधन गर्ने उनले बताइन् ।

मन्त्री यादवले परिमार्जन गर्दै रेल्वे विधेयकमा पूर्ण बनाउने जिकिर गरिन् । छलफलपछि बैठकले रेल्वे विधेयकलाई पारित गरेको हो ।

त्यस्तै बैठकले औषधि तेस्रो संशोधन विधेयक, २०७९ पनि पारित गरेको छ भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ सर्वसम्मतले पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार २० गते

बोलाइएको छ ।

सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्छः गृहमन्त्री खाण

गृह मन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।

साथै उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत सरकारले नभई व्यक्तिले जस लिने गरी दुरुपयोग हुने पनि बताए ।

मन्त्री खाणले सात सय ५३ वटा पालिकामध्ये सात सय ५२ वटा पालिकामा बैंक पुगेको र बाँकी एउटा पालिकामा पनि यही असार मसान्तसम्ममा पुग्ने जानकारी दिए ।

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगको आज बसेको बैठकले दल दर्ताका लागि सो पार्टीले दिएको निवेदनलाई स्वीकार्दै दलको मान्यता दिएको हो । रवि लामिछानेले असार ७ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

निवेदनलाई आयोगले स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको सो पार्टीका संयोजक लामिछानेले जानकारी दिए ।

त्यस्तै चूनाव चिन्ह गोलाकारभित्र घण्टी प्राप्त भएको पनि उनले बताए । उनले दल दर्ता भएसँगै आफ्ना एजेण्डा जनतामाझ लैजाने उल्लेख गरे ।

यसअघि सो दलको नाममा आपत्ती जनाउँदै स्वतन्त्र उम्मेदवारहरुले दल दर्ता नगर्न आयोगमा निवेदन दिएका थिए । तर उनीहरुले दाबी नपुगेको आयोगले जनाएको छ ।

पर्यटन बोर्डका सदस्यद्वयको पुनर्बहाली

पर्यटन बोर्डका सदस्यद्वय कृष्ण शाह र ङावा ङिमा शेर्पा पुनर्बहाली हुने भएका छन् ।

सर्वोच्च अदालतले बोर्डका सदस्यद्वय शाह र शेर्पालाई हटाउने निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएसँगै शाह र शेर्पा पुनर्बहाली हुने भएका हुन् ।

तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले सरकारबाट बाहिरिँदै गर्दा निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गरेका दुई सदस्यलाई हटाएका थिए । कार्यकाल बाँकी छँदै आफूहरूलाई हटाउने निर्णय कानुनविपरीत भएको भन्दै शाह र शेर्पा सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले उनीहरूको बर्खास्ती सम्बन्धमा कारण देखाऊ आदेश समेत जारी गरेको अदालत प्रशाशनले जनाएको छ ।

मुस्ताङको लोमान्थाङ र कोरला सडक एक हप्ताका लागि बन्द

मुस्ताङको लोमान्थाङ र कोरला सडक एक हप्ताका लागि आवागमन बन्द गरिने भएको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीस्थित घमी खोलाको अस्थायी काठे मोटरेबल पुल मर्मत कार्यका लागि घमीदेखि चराङ, लोमान्थाङ र कोरला पहुँचमार्ग सडक असार २० गतेदेखि असार २७ गतेसम्म एक हप्ताका लागि पूर्वरुपमा बन्द गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले लोघेकर दामोदरकुण्ड–२ घमीस्थित घमी खोलामा अवस्थित अस्थायी काठे पुल जीर्ण भएको र जीर्ण पुलबाट सवारी साधन आवतजावत गर्दा जोखिम हुने भएकाले मर्मतका लागि सडक बन्द गर्नु परेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आज एक सूचना प्रकाशित गरी सडक आवागमन पूर्णरुपमा बन्द हुने जानकारी गराएको हो ।

नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय ६७ पीसीआर परीक्षणका क्रममा ३५ जना र १ हजार ३ सय ४७ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ८० जना निको भएका छन् । हाल नेपालमा २ सय ९७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप ३ जनामा हैजा पुष्टि

काठमाण्डौ उपत्यकामा थप ३ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको थियो ।

योसगैँ १७ जनाका हेजाको संक्रमण पृष्टि भएको छ । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका बताए ।

यद्यपि नआत्तिन आग्रह गर्दै मन्त्रालयले हैजाबाट जोगिन खानपानमा ध्यान दिन पनि सबैमा आग्रह गरेको छ ।

बारामा चट्याङ लागेर एकजनाको मृत्यु

बारामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । चट्याङ लागेर आज दिउँसो करिब १ बजे सुवर्ण गाउँपालिका–७ समफुलवाका २० वर्षीय धीरजप्रसाद यादवको मृत्यु भएको हो ।

खेतमा काम गर्न गएका यादवको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सोही ठाउँका २८ वर्षका नेतालाल पण्डित र ८ वर्षकी बालिका रुबी कुमारी घाइते भएकी छिन् ।

उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेका जनाइएको छ ।

शेयर बजार घट्यो

शेयर बजार नेप्से परिसूचक आज झन्डै नौ अङ्कले घटेको छ । कारोबार हुने अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से आठ दशमलव ८७ अङ्कले घटेर दुई हजार २८ दशमलव ७७ विन्दुमा झरेको छ ।

आज दुई सय २१ वटा कम्पनीको ३६ लाख ६३ हजार २ सय २० कित्ता शेयर कुल एक अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको पाँच करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ आज स्ट्यान्डर्ड चार्टर बैंक र युनाइटेट इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार घटे पनि आँधीखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

मोदी र पुटिनबीच फोनवार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन सवांद भएको छ ।

रुस र युक्रेन युद्धका बारे कुराकानी केन्द्रित रहेको दुवै तर्फका अधिकारीहरूले जनाएका छन् । कुराकानीका क्रममा भारतका प्रधानमन्त्री मोदीले वार्तामार्फत् नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गरेका थिए ।

उनले वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने सुझाव आफूले सुरुदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पारेका थिए ।

आफू सधै वार्ता र कूटनीतिक पहलबाट नै यस्ता कुराको निकाश निकाल्न सकिन्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो ।

भारतले युक्रेनमाथि रुसले आक्रमण गरेदेखि नै आक्रमण तत्काल रोक्न र वार्ता मार्फत दुई देशीय समस्या समाधान गर्न आग्रह गर्दै आएको थियो ।

दुई शीर्ष नेताबीच विगतमा भएका अन्य सहमति र सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको छ ।

गत वर्षको डिसेम्बरमा पुटिनको भारत भ्रमणका क्रममा भएका सम्झौता र सहमतिको कार्यान्वयनको अवस्थाका बारेमा पनि उनीहरुले समीक्षा गरेका थिए ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : १६ बजे

दशैँ टीकाको साइत कुन देशमा कतिबेला ?

काठमाडौं– अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको

रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

रामेछाप– सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल

म्यानचेस्टर युनाइटेड ३-० ले पराजित

काठमाडौं – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा मयानचेस्टर युनाइटेडलाई

देशभरको मौसम बदली, केही भूभागमा वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज १४ गते सोमबा सन्