काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :
१. महाअभियोग सिफारिस समिति बैठक आज पनि
प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ । हिजोको बैठकमा जबरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो ।
२. राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव, शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
३. सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै
पाँच दलीय सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दैछ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा हिजो भएको छलफल बिना निस्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारे गम्भीर रुपमा छलफल भए पनि निष्कर्षमा पुग्न असफल भएको थियो ।
४. प्रचण्डको सुर्खेत जाने कार्यक्रम स्थगित
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन सुर्खेत जाने कार्यक्रम स्थगित भएको छ । प्रचण्ड भोलि एक घण्टाको समय भए पनि समय मिलाएर सुर्खेत जाने विषयमा कुरा भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए। कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले बताए ।
५. मिटरब्याजीविरुद्ध काठमाडौँमा किसान–मजदुर मार्च
मिटरब्याजीविरुद्ध एक महिनादेखि काठमाडौँमा आन्दोलन गरिरहेको ‘किसान–मजदुर संघर्ष समिति’ले आज किसान–मजदुर मार्च गर्ने भएको छ । साँवाभन्दा ब्याज बढी बुझाइसक्दा पनि ऋणबाट मुक्त हुन नसकेका किसान–मजदुरले काठमाडौँमा संघर्ष थालेको आज एक महिना पुगेको छ । यसै अवसरमा पीडितहरूको न्यायका लागि उनीहरूले आज माइतीघरदेखि बालुवाटारसम्म किसान–मजदुर मार्च गर्न लागेको बताएका छन् ।
६. मुग्लिन–नारायणगढ सडकमा पहिरो
मुग्लिन–नारायणगढ सडकखण्डमा ठाउँठाउमा पहिरो गएपछि सवारी साधन बाटोमै रोकिएका छन् । पहिरो पन्छाउन झण्डै ५ घण्टा लाग्ने भएको छ । विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खसेकोको आवत जावतमा समेत समस्या भएको जनाइएको छ । सडक बन्द भएपछि राजमार्गमा सवारीको लामो लाइन लागेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान लेदोसहितको पहिरो खसेको छ । त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
७. राष्ट्रिय बाल दिवसको नारा तय
सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी समाज’ तय गरेको छ । बर्सेनी भदौ २९ गते मनाइँदै आएको उक्त दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै उक्त नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिए । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवस मनाउँदै आएको छ । मन्त्रालयले दिवस मनाउन स्थानीय तह, प्रदेश सरकार, विभिन्न बाल क्लब, नागरिक सङ्घसंस्था र सञ्जाललाई आग्रह गरेको छ ।
८. डेंगु संक्रमणबाट कैलालीमा जनाको मृत्यु
डेंगुको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुको संक्रमणबाट मृत्यु भएको हो। उनको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । पछिल्लो समय कैलालीमा डेंगुका बिरामी बढ्दै गएको जनाइएको छ ।
९.गोर्बाचेभको अन्त्येष्टि शनिबार हुने
सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने भएको छ । मंगलबार निधन भएका गोर्वाचेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुममा हुने उनकी छोरीको भनाई उदृत गर्दै रुसी समाचार एजेन्सीहरूले जनाएका छन् । सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही स्थानमा प्रदर्शनमा राखिएको थियो ।
१०. आर्सनलको लगातार पाँचौं जित
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । गए राति भएको खेलमा एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराएर आर्सनलले पाँचौं जित निकालेको हो । आर्सनललाई जित दिलाउन ग्राबियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । एस्टनका डुग्लास लुइजले एक गोल फर्काएका थिए । जितसँगै आर्सनलले ५ खेलमा १५ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा रहेको छ । एस्टन ३ अंक जोडेर पुछारमा रहेको छ ।
प्रतिक्रिया