होमस्टेले लमजुङका महिलाको दैनिकी फेरिँदै | Khabarhub Khabarhub

होमस्टेले लमजुङका महिलाको दैनिकी फेरिँदै


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ ।

महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् ।

कुनैबेला पर्यटकीय गाउँ घलेगाउँकी विष्णुमाया घले घरधन्दा र बन पाखामा खास दाउरा गरेर नै आफ्नो जीवन बिताउँथिइन् । तर गाउँमा होमस्टे सुरु भएपछि उनको दैनिकी फेरिएको छ । अहिले उनले गाउँमै होमस्टे खोलेर सेवासँगै नाम र दाम पनि कमाइरहेकी छन् । घले विगत नौ वर्षदेखि यो पेसामा सक्रिय छन् ।

ऊर्जाशील समय चुलो चौकासँगै घाँस दाउरा गर्दैमा बित्यो । आफूलाई आवश्यक पर्ने खर्च पनि श्रीमन‍्कै भर पर्नुपर्ने बाध्यता थियो । उनी मात्र होइन काउलेपानी होमस्टेकी सञ्चालक तिलकाशी गुरुङ पनि गाउँमै होमस्टे सञ्चालनबाट मनग्य आम्दानी गर्दै आएकी छन् । उनी भन्छिन्, ‘घरमा आएका पाहुनालाई खाना दिने र उनीहरूलाई नाचगान देखाउँदैमा समय बितेको छ । योसँगै आम्दानी पनि उत्तिकै छ ।’ उनीहरू त प्रतिनिधि पात्र मात्र हुन् अहिले जिल्लाका ग्रामिण भेगमा सञ्चालनमा आएका अधिकांश होमस्टे सञ्चालक महिला नै छन् । उनीहरू घरमा होमस्टे सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

होमस्टेले फर्कायो गाउँ

सुरुवाती अवस्थामा जीविकोपार्जन कै लागि सदरमुकाम हानिएका महिलाहरू पछिल्लो समय आफ्नै गाउँमा फर्किन थालेका छन् । गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएपछि गाउँ फर्किएर होमस्टेको थालनी गर्ने महिलाहरूको संख्यामा वृद्धि भएको क्व्होसोथार गाउँपालिकाका अध्यक्ष एवं होमस्टेका योजनाकार प्रेम घलेले बताए ।

उनका अनुसार सामान्य अवस्थामा पनि एउटा महिलाले मासिक ५० देखि ६० हजारको हाराहारीमा कमाई गर्न थालेका छन् । होमस्टेकी सञ्चालक विमाया घलेले पाहुना आउँदा गाउँका सबै महिला मिलेर स्वागत सत्कार तथा नाचगान गर्ने हुँदा गाउँमा एकता भएको छ । उनका अनुसार महिलाहरूमा होमस्टे चलाउन थालेपछि परिवर्तन आउन थालेको छ ।

होमस्टेमा महिलाको सक्रियता

लमजुङ जनजातिको बाहुल्यता रहेको जिल्ला हो । यसैले पनि यहाँका विभिन्न स्थानमा होमस्टे फस्टाउँदै गएका छन् । घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरू होमस्टेका कारण जीवन नै परिवर्तन हुन थालेको बताउँछन् ।

घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक संकट भोग्दै आएका लमजुङका महिलाहरू होमस्टे सञ्चालनसँगै सक्षम बन्दै गएका छन् । होमस्टेले आर्थिक मात्रै होइन सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको होमस्टेका महिला सञ्चालक बताउँछन् ।

जिल्लामा अहिले २० भन्दा बढी सामुदायिक होमस्टेमा महिलाको सक्रियता छ । सामाजिक कार्यमा सहभागी नभएका महिलाहरू होमस्टे सञ्चालकसँगै बोल्न सक्ने, तालिममा सहभागी हुने, पर्यटनको विकासमा लाग्न समेत थालेको घरेलु विकास समितिका अधिकारीहरू बताउँछन् । सुरुमा होमस्टे सञ्चालनबारे अनभिज्ञ रहेका महिलाहरू आफ्नो दैनिकीसँगै होमस्टेमा आएका पाहुनाको स्वागत तथा सत्कारमा जुट्ने गर्छन् ।

घरखर्च चलाउनसमेत श्रीमान् र परिवारका सदस्यको भरमा पर्ने महिलाहरू होमस्टे सञ्चालनसँगै आर्थिक रूपमा समेत सबल बन्दै गएको र गाउँलाई फरक पहिचानमा चिनाउन सफल भएको काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङ बताउँछन् । उनका अनुसार होमस्टेमा पुरुषभन्दा महिलाको बाहुल्यता बढी छ ।

नेतृत्व गर्ने क्षमतामा वृद्धि

कुनैबेला गाउँमा पर्यटक आउँदा लुक्ने र भाग्ने गरेका जिल्लाका ग्रामीण भेगका महिला पछिल्लो समय व्यवसायी बनेका छन् । होमस्टे व्यवसायसँगै अहिले उनीहरूको आनीबानीमा समेत परिवर्तन आएको छ । होमस्टेले गाउँले महिलाहरूमा नेतृत्व गर्ने क्षमताको विकास भएको पुमा होमस्टेकी सञ्चालक आशमाया गुरुङ बताउँछिन् ।

उनका अनुसार केही वर्षयता महिलाहरू संघसंस्था हुँदै वडा र जिल्ला तहको राजनीतिक नेतृत्वसम्म पुगेका छन् । ‘होमस्टेले महिलाहरूलाई नेतृत्व गर्ने शैली र बोल्ने क्षमतामा सहयोग पुर्‍याएको छ,’ उनले भनिन्, ‘एकातिर आम्दानीको स्रोत बनेको छ भने अर्कोतिर सामाजिक काममा समेत व्यस्त बनाएको छ ।’

महिलाहरूले घरायसी कामबाहेक होमस्टे सञ्चालन गरी राम्रो आम्दानी मात्रै होइन व्यक्तित्व विकाससमेत गर्दै आएको होमस्टेका अर्का सञ्चालक दुर्गाबहादुर गुरुङ गुरुङ बताउँछन् । ‘गाउँमा होमस्टे सञ्चालनमा आएपछि गाउँघरका दिदीबहिनीहरूको दैनिकीमा परिवर्तन आएको छ,’ उनले भने, ‘हाम्रो काम गर्ने शैली, बोलीचाली र भेषभूषामा समेत सुधारिएको छ ।’

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : ३२ बजे

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म