११ वर्षमा मनसुनजन्य विपद्‍बाट २६ सय ६२ जनाको मृत्यु | Khabarhub Khabarhub

११ वर्षमा मनसुनजन्य विपद्‍बाट २६ सय ६२ जनाको मृत्यु

८८० बेपत्ता र १९ अर्बभन्दा बढी आर्थिक क्षति


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनजन्य विपद्का घटनाले बितेको ११ वर्षमा नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७८ चैत मसान्तसम्म ११ वर्षको अवधिमा नेपालमा मनसुनजन्य विपद्का घटनाका कारण २ हजार ६६२ जनाको मृत्यु भएको छ ।

सोही समयमा रेकर्ड भएका ५ हजार ८२५ वटा मनसुनजन्य विपद्का घटनामा ८८० जना व्यक्ति बेपत्ता भएका छन् । विपद्का घटनाले ११ वर्षमा १९ अर्ब ८ करोड ३७ लाख ९७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

‘नेपालको भौगर्भिक, भौगोलिक तथा जलवायुको अवस्था, वर्षातको प्रकृति एवं प्रवृत्ति, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन, जथाभाबी हुने विकासका कार्यहरू र प्रकृतिमा मानवको अतिक्रमणका कारण बाढी, पहिरो, हिमताल विस्फोट, हिम पहिरो जस्ता जलवायु तथा मनसुनजन्य प्रकोपका घटना हुने र ठूलो जनसङ्ख्यालाई प्रभावित गर्ने क्रम बढिरहेको छ,’ प्राधिकरणले तयार गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना २०७९ मा उल्लेख छ ।

नेपालमा मनसुनजन्य विपद्मध्ये बाढी, डुबान, कटान, पहिरो र भारी वर्षाले सबैभन्दा ठूलो जनधनको क्षति गर्ने गरेको छ । मनसुनजन्य विपद्ले पछिल्लो ११ वर्षमा १६ हजार ३९ घरमा पूर्ण क्षति र ४५ हजार ३९३ घरामा आंशिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

प्राधिकरणका अनुसार बितेको ११ वर्षको अवधिमा नेपालमा १ हजार ७५६ वटा बाढीका घटना रेकर्ड भएका छन् । ती घटनामा ८७५ जनाको मृत्यु र ५४८ जना बेपत्ता भएका छन् । बाढीका घटनाले १६ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी गरेको जानकारी प्राधिकरणले दिएको छ ।

‘नेपालको तराई र भित्री मधेसमा पर्ने तेइस जिल्लाहरू बाढीको उच्च जोखिममा छन् । काठमाडौं उपत्यकामा अवस्थित सहरहरू (काठमाडौँ, भक्तपुर, ललितपुर), हेटौडा, चितवन, तुलसीपुर, घोराही एवं वीरेन्द्रनगर सहरी बाढीको दृष्टिबाट उच्च प्रकोपयुक्त मानिन्छन्,’ कार्य योजनामा उल्लेख छ ।

विगत ११ वर्षमा मनसुनजन्य विपद्का घटनामध्ये सबैभन्दा बढी पहिरोका घटना भएका छन् । मानवीय क्षति पनि पहिरोबाट धेरै भएको छ । यस अवधिमा २ हजार ४६५ वटा पहिरोका घटना रेकर्ड भएको छन् । ती घटनामा परी १ हजार ३८७ जनाको ज्यान गएको छ भने ३३० जना बेपत्ता भएका छन् ।

पहिरोले पछिल्लो ११ वर्षमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

‘२०२६ देखि २०७५ सालसम्म गएका पहिरोहरूको तथ्याङ्कलाई विश्लेषण गर्दा नेपालको महाभारत श्रृङ्खलादेखि उच्च हिमाली क्षेत्र बिचको भू–खण्डमा बढी मात्रामा पहिरो गएको पाइन्छ । पहिरोको घनत्वको हिसाबले बागमती तथा गण्डकी प्रदेश उच्च जोखिममा रहेको पाइन्छ । त्यसै गरी लुम्बिनी तथा मधेस प्रदेश भने सापेक्षिक रूपमा पहिरोको कम जोखिममा रहेको पाइन्छ,’ कार्य योजनामा भनिएको छ ।

नेपालमा मनसुनमा हुने भारी वर्षाका कारण पनि ठूलो जनधनको क्षति हुने गरेको छ ।

विगत ११ वर्षमा नेपालमा १ हजार ६०४ वटा भारी वर्षाका घटना भएका छन् । यसबाट १ हजार ९८४ घरमा क्षति पुगेको छ भने ५ हजार ४७७ परिवार प्रभावित भएका छन् ।

भारी वर्षाका कारण उक्त अवधिमा नेपालमा ११८ जनाको मृत्यु भएको छ । भारी वर्षाले ५२ करोडभन्दा बढी आर्थिक क्षति गरेको छ ।

‘भौगोलिक रूपमा मध्य पहाडी क्षेत्रका जिल्लाहरूमा भारी वर्षाका धेरै घटना र क्षति हुने गरेको देखिन्छ,’ कार्य योजनामा उल्लेख छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : ५१ बजे

सहकारी अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने एकीकृत समाजवादीको माग 

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन

राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका

गृहमन्त्रीले संसद्‍मा बोल्न पाउनुपर्छ, त्यसपछि समिति बनाउन तयार छौँ : उपसभापति अर्याल

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री

संसद्मा अवरोधबीच सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

काठमाडौं– इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निशाना