बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. चितवनको विद्युत लाइन भूमिगत गरिने 
चितवनको पूल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गरिने भएको छ । विद्युत लाइन प्रसारण भूमिगत गर्ने आयोजनाको नान १ . माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज शिलान्यास गरेका हुन् ।  कास्कीको पोखरा महानगरपालिका र भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा ४९ करोड ६८ लाख ३१ हजार ८ सय ९९ रुपैयाँको लागतमा विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले भारतीय कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडसँग सन् २०२२ जनवरी २० मा ठेक्का सम्झौता गरेको हो  । बसपार्कदेखि गोन्द्राङसम्म झण्डै २ किलोमिटर सडकमा ३३ केभिए प्रसारण लाइन मात्रै भूमिगत हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । विद्युत वितरण प्रणालीलाई भूमिगत तथा सुदृढीकरण र अटोमेसन गर्ने उद्देश्यले भरतपुर र पोखराका मुख्य चोक र सडक विद्युत भूमिगत गर्न लागिएको  हो । पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण नाम दिइएको आयोजना सन् २०२४ को जनवरी १९ भित्र सक्ने लक्ष्य राखिएको छ । नेपाल सरकार, विद्युत प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोगमा भरतपुर र पोखरामा विद्युत लाइन भूमिगत गर्न लागिएको हो ।

२. मोरङका नेता सरदार थारु माओवादी केन्द्रमा प्रवेश 
नेकपा एमाले मोरङका नेता बलभद्र सरदार थारु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । थारुसहित मोरङ एमालेका विभिन्न पदमा सक्रिय नेता कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज पार्टी प्रवेश गराएका हुन् । सो क्रममा अध्यक्ष दाहालले थारुसहितका नेताहरुको प्रवेशले मोरङमा माओवादी पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे । बूढीगंगा गाउँपालिका अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवार भएका थारु कांग्रेसका जितनारायण थापा मगरसँग पराजित  भएका थिए । मगरले ८ हजार २ सय ९९ मत ल्याई विजयी हुँदा एमाले उम्मेदवार बलभद्र सरदार थारूले ७ हजार ८८० मत ल्याएका थिए । नवप्रवेशीलाई योग्यताअनुसारको जिम्मेवारी दिइने दाहाले आश्वासन  दिएका छन् ।

३. गगन थापा काठमाडौँ क्षेत्र नम्बर ४ बाट सर्वसम्मत सिफारिस 
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।  क्षेत्रीय समितिको हिजो साँझ बसेको बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । थापाको नाम एकल सिफारिस भएको र सिफारिस भएका नामहरु आज औपचारिक रुपमा जिल्ला समितिमा पठाउने तयारी भएको जनाइएको छ ।

४. उज्याली गौरा पर्व मनाइँदै 
उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै छ । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन  रही आएको छ । आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम गर्ने प्रचलन पनि रही आएको छ ।

५. डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने 
जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ । शे फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने पदयात्रामा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहेको आयोजक संस्था साथसाथै फाउण्डेसनले जानकारी दिएका छन्। जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय फाउण्डेशनले आयोजना गर्ने  सो पदयात्रापछि ,शे फोक्सुण्डो ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले स्थानीय जनजीवनमा परेको प्रभावलगायत विषयमा अन्तक्र्रिया हुने  फाउण्डेसनले जनाएको हो । उच्च हिमाली क्षेत्रमा महिलाको जनजीवन र पर्यापर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रका विज्ञ महिलासहित ६० जनाले पदयात्रा गर्ने भएको हो।

६. काठमाडौँको दक्षिणकालीमा ट्रक दुर्घटना  
काठमाडौँको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक गए राति साढे ८ बजे आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । घाइते भएका दुवै जना पुरुषको उद्धार गरी मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जनाको पहिचान न खुल्न बाकी रहको छ  । दक्षिणकाली नगरपालिका–८ छैमलेको शीतलचोकमा बा.प्र.–०१–००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना  भएको हो  ।दुर्घटना भएको ट्रक  घटनास्थलमै रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

७. श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किए 
श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् ।देश सबैभन्दा खराब आर्थिक संकटमा पुगेपछि देश छाडेर भागेका  राजापाक्षे सात हप्ता पछि  पुन हिजो  स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजापाक्षे विमानस्थलमा उत्रँदा उहाँलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले स्वागत गरेको थियो  । श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स पुगेका राजापाक्षे  त्यहाँबाट सिंगापुर गएका थिए । उनले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा दिएका थिए । राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यालयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए ।

८. अमेरिकाद्धारा ताइवानलाई नयाँ प्याकेज घोषणा 
अमेरिकाले  ताइवानलाई १अर्बभन्दा बढीको नयाँ हतियार प्याकेज घोषणा गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले नयाँ हतियार प्याकेज घोषणा गरेको हो । अमेरिकाको रक्षा सुरक्षा सहयोग एजेन्सीले हतियार प्याकेजमा ६० वटा एन्टी–शिपमिसाइल, एक सय वटा एयर–टु–एयर मिसाइल र निगरानी रडार कार्यक्रम समावेश रहेको बताएका छन् । बेइजिङसँग बढ्दो तनावबीच  टापुको प्रतिरक्षालाई बढावा दिन  १ अर्ब १० करोड अमेरिकी डलरको नयाँ हतियार प्याकेज घोषणा  गरिएको हो । सो सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । चीन  भने अमेरिकाको सो घोषणाले रुष्ट बनेको छ ।

९. केन्याविरुद्ध दोस्रो एक दिवसीयमा नेपाल  
केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज दिउँसो पौने १ बजे नेपालले  केन्याको सामना गर्ने भएको हो ।  केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज एक खेल अगावै जित्ने योजनामा हुनेछ । हिजो भएको पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ । नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने आगामी सोमबार खेल्नेछ।

१०. एसिया कप क्रिकेट : सुपर चारका खेल आज सुरु हुँदै 
युएईमा जारी एसिया कप क्रिकेटमासुपर चारका खेल आज सुरु हुँदैछ । सारजाह क्रिकेट मैदानमा हुने सुपर चारको पहिलो खेलमा समूह ’बी’ का विजेता अफगानिस्तान र उपविजेता श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।  खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु   हुनेछ । समूह चरणमा भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो । प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् । समूह ’ए’ बाट भारत र पाकिस्तान तथा समूह ’बी’ बाट अफतानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् । सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १० : १४ बजे

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण