पिङ हाल्न अनुदान « Khabarhub

पिङ हाल्न अनुदान


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपुर- दसैँ र पिङ एकअर्कामा पर्यायवाची जस्तै बनेका छन् । दसैँमा टीकाको दिन भुईँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्त्व छ ।

 पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ रु पाँच हजार दिने निर्णय गरेको छ । “दसैँ तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो समयमा प्रविधिको विकाससँगै यस्ता मौलिकता हराउँदै छन्”, वडाध्यक्ष शिवकान्त तिवारीले भने, “फूलपातीको अघिल्लो दिनसम्म गाउँमा कहीँ कतै पिङ हाल्ने सुरसार नदेखेपछि वडाले पिङ बनाउन रु पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।”

गैँडाकोट वडा नम्बर ३ मा रहेका प्रत्येक टोल सुधार संस्थामा एक/एक वटा पिङ निर्माण गर्न पनि उनले अनुरोध गरे। “पिङ रोको प्रमाणसहित वडा कार्यालयमा पुगेपछि कार्यालयले टोल सुधारलाई पाँच हजार रुपैयाँ सहयोग गर्नेछ”, उनले भने, “यो हाम्रो परम्परादेखि चलेको संस्कृति संरक्षणका लागि वडा कार्यालयले सानो प्रयास गरेको हो ।” दसैँको पर्यायवाचीजस्तै बनेको पिङ गाउँघरबाट हराउन नदिनका लागि सबै समुदाय लाग्नुपर्ने तिवारीको भनाइ छ ।

“हाम्रो वडामा मात्रै नभएर धेरै ठाउँमा दसैँको सातौँ दिन फूलपातीसम्म पनि पिङ राख्ने सुरसार देखिएन”, वडाध्यक्ष तिवारीले भने, “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने चटारो हुने गर्थ्यो ।” गाउँघरका चोक, चौर, चौतारामा दसैँ लाग्नु अघिनै पिङ राख्ने चहलपहलसँगै सबै भेट्ने थलो बन्ने गरेको भन्दै वडाध्यक्ष तिवारीले टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने बुढापाकाको भनाइ रहेको बताए। पछिल्ला आठ/दश वर्षमा समुदायबाट लिङ्गे पिङसँगै दसैँको रमाइलो पनि हराएकोजस्तै भइरहेको उनको भनाइ छ ।

गाउँघरमा पिङ निर्माण गरिने बाँसको लिङ्गो पाउन गाह्रो हुन थालेपछि पिङ निर्माणमा समुदायले बेवास्ता गरेको हुनसक्ने मध्यविन्दु–३ का भानुभक्त पौडेलले बताए। बह्मदीप युवा क्लबका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले विगतका वर्षहरूमा आफ्नो गाउँमा पिङ निर्माण गर्ने गरिएको भए पनि यस वर्ष गाउँमा पनि पिङ निर्माण नभएको बताए। “पहिला पहिला गाउँमा युवा जनशक्ति टन्नै हुने गर्दथे”, उनले भने, “अहिले वैदेशिक रोजगार र विभिन्न कारणले युवा विदेश पलायन हुँदा गाउँमा युवा देख्न मुस्किल भएको छ ।”

पिङ निर्माणमा युवाहरुको सहभागिता आवश्यक भए पनि युवा नभेटिँदा पिङ बनाउन कठिन भएको उनले बताए । “कोरोना कालभन्दा अघिसम्म हामी युवाहरु गाउँमा भेला भएर प्रत्येक घरघरबाट बाबियो तथा सुनपाट सङ्कलन गरेर पिङको लठ्ठा बाट्ने गर्दथ्यौँ”, उनले भने, “घटस्थापनाको दिनसम्म सबै तयारी सकेर पिङ ठड्याएर खेल्न सुरु हुन्थ्यो ।” दसैँमा हालिएको पिङ हरिबोधनी एकादशीपछि मात्रै निकाल्ने गरिएको उनले स्मरण गरे।

विदेश गएका युवा दसैँमा घर फर्किने क्रम न्यून हुने तथा अध्ययनका लागि जिल्ला बाहिर रहेका युवा ढिला गरी घर फर्किने गर्दा गाउँघरबाट पिङ हराउने अवस्थामा पुगेको उनले बताए । “हामीले अझै पनि पिङ निर्माण गर्ने तयारी भने गरिरहेका छौँ”, उनले भने, “आवश्यक स्रोत र साधन जुट्यो भने अष्टमीको साँझसम्म गाउँमा पिङ तयार हुन्छ ।” पिङ निर्माण भएपछि मात्रै दसैँ आएको जस्तो लाग्ने स्थानीय बताउँछन् ।

पिङ निर्माणका लागि आवश्यक पर्ने बाँसको लिङ्गो पाउनै कठिन हुन थालेपछि पिङ बनाउने उत्साह हराएको मध्यविन्दु–३ का शिखाराम थनेतले बताए । “पहिले पिङ हाल्ने भनेपछि हामीले अनुमति लिएर नारायणी पारी निकुञ्जको पहाडमा पुगेर बाबियो काटेर ल्याउने गरेका थियौँ”,उनले भने, “बाबियो काट्न नजाने गाउँमा बाँसको लिङ्गो खोज्न हिँड्ने गर्दथे ।” सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेका अहिलेका युवा पुस्ताले पिङ निर्माणमा चासो नदिँदा आफूहरूको संस्कृति नै हराउने पो हो कि भन्ने चिन्ता लाग्ने गरेको उनको भनाइ छ ।

आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले हाम्रा पुराना संस्कृति नै हराउँदै जान थालेका छन् । अहिलेका युवापुस्ताले पिङप्रति त्यति चासो दिँदैनन् । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने संस्कृति लोप हुँदै गएका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ११ : २७ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको