मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने « Khabarhub

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन्। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका हुन्। बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी भएका छन्।

किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्‍याउन उनलाई निकै गाह्रो भयो। घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो। सडकमा किवी पुर्‍याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी बिक्री गर्न निकै समस्या भयो।

उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो। किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ। नगरपालिकाका किसानले उत्पादन गरेको किवी कर्णाली वेभरेज प्रालिले खरिद गर्ने भएको हो।

आठबीसकोट नगरपालिका–१२ झिनचौरमा रहेको उक्त प्रालि र किसानको सहमतिअनुसार फलाएको किवी प्रतिकिलो रु एक सय २५ मा खरिद हुने नगर प्रमुख रवि केसी जानकारी दिन्छन्।

उनका अनुसार यस नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा एक सय ४२ क्विन्टल किवी उत्पादन भएको छ। छ वटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यावसायिक किवी उत्पादक किसान छन्। पहिलो स्थानीय सरकारले किवी खेतीलाई जोड दिएपछि नगरपालिकामा किवी खेती गर्ने किसानको सङ्ख्या धेरै पुगेको छ।

सरकारले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको बिरुवा विरतरण गरेको थियो भने किसान आफैँले किनेर पनि बिरुवा लगाएका थिए। नगरपालिकामा गत वर्ष मात्र दुई हजार एक सय वटा किवीका बिरुवा रोपिएका थिए। अहिले नगर भरमा करिब एक हजार पाँच सय किवीका बोटले उत्पादन दिइरहेको नगरपालिकाको अनुमान छ।

ती बोटबाट करिब एक सय ४२ क्विन्टल किवी उत्पादन हुने अनुमानसहित नगरपालिकाको रोहवरमा उक्त प्रालि र किसानबीचमा सहमति भएको हो। त्यस्तै नगरपालिकाले ढुवानीका लागि अनुदान पनि दिने भएको छ। किसानको बारीबाट वडा नम्बर १२ मा रहेको कम्पनीसम्म किवी पुर्‍याउन लाग्ने भाडा नगरपालिकाले तिरिदिने नगर प्रमुख केसी बताउँछन्।

अहिलेसम्म किसानले आ–आफैँ किवी बिक्री गरिरहेकामा पहिलोपटक नगरभरको किवी एकमुस्ट बिक्री हुन लागेको हो। नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषक खुसी भएका छन्। कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : ५३ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि