सडक नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी « Khabarhub

सडक नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– विनयी त्रिवेणी १ बहुवनमा बर्सनि खोलाकै कारण मान्छेको ज्यान जान्छ । कोही बगेर त कोही खोला तर्न नसक्दा उपचार नपाएपछि ज्यान गुमाउँछन् ।एकातिर जंगली जनावरको आतंक, अर्कोतिर नदी डुवानको त्रास । त्राहीत्राहीमै दैनिकी चलाइरहेका छन्, बहुवनका नागरिकहरू ।

हिउँदको बेलामा समेत मान्छे डुबाउने पानी बग्ने ठाउँमा बर्खाका बेला खोला तर्न सक्ने कुरै हुँदैन । धेरै पटकसम्म पुल बनाइदिन सरकारसँग हारगुहार गरे पनि पुल नबनेपछि त्यस क्षेत्रका डेढ सयभन्दा बढी घरधुरीका नागरिकहरूले सास्ती खेप्दै आएका छन् ।

पुल नभएकै कारण गाउँमा परेका विकास निर्माणका योजना कार्यान्वयन हुँदैन । सिँचाइ, खानेपानी, भवन निर्माण जस्ता काम सामान लैजाने पुल नहुँदा रोकिएको छ ।त्यहाँका नागरिक आफूलाई गण्डकी प्रदेशभन्दा अरु नै प्रदेशमा गाभिदिन माग गर्छन् । स्थानीय सुरेश ढेंगा भन्छन्, ‘कि चितवन कि बुटवलमा गाभ्नुपर्‍यो । कि त यो बाटो खोल्नपर्छ । त्रिवेणीको मान्छेलाई कति दुख छ ? पोहोर–पोहोर खोलामा हिमपाईप हालेर मोटरसाईकल ताथ्र्यौं । अहिले त हिमपाइप हाल्न पनि मिलेन ।’

बाटोको पहुँच नहुँदा विनयी त्रिवेणीको ६ र ७ नम्बर वडाका बासिन्दा पालिका कार्यालय पुग्न लुम्बिनी प्रदेशको बर्दघाटबाट जानुपर्ने बाध्यता छ । गण्डक बाँध, भैंसालोटन, गजेन्द्र मोक्ष धाम लगायत क्षेत्रका नागरिकहरू बर्दघाट पुगेर दुम्कीवासमा रहेको पालिका जान्छन् ।

विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पितमबहादुर गुरुङले बाटो नभएकै कारण त्रिवेणीका जनताले सास्ती खेप्नु परेको गुनासो गरे । ‘सानो काम परेपनि अर्को प्रदेश पुगेर आफ्नो पालिका आउनुपर्छ । बाटो नहुँदा धेरै दु;ख पाएका छौं,’ उनले भने, ‘यो सास्ती माथीको सरकारले कहिले सुन्छ ?’

बाटोकै कारण विकासबाट बन्चित छन्, त्रिवेणीवासी । वडा नम्बर ७ का अध्यक्ष गोपालबहादुर क्षेत्रीले हिउँदमा पनि खोला तर्न नसक्ने भएकोले पुल सहितको बाटो बनाईदिन आग्रह गरे । ‘बर्खामा त के हिउँदमा पनि खोला तर्न सकिँदैन । जंगलको बाटो छिचोल्न समस्या हुन्छ,’ उनले भने, ‘यो ट्रयाक खुल्यो भने सजिलो हुन्थ्यो ।’ त्रिवेणी क्षेत्र गण्डकीको दक्षिणी सिमाना हो ।

राज्य पुनः संरचनाको समयमा नवलपरासीलाई फुटाएर नवलपुरसहित गण्डकी प्रदेशलाई भारतीय नाकासँग जोडिएको छ । मुस्ताङ चीनसँग सिमाना जोडिएको जिल्ला हो । गण्डकी सरकारले पहिलो वर्षदेखि नै कोरला–सुस्ता सडकलाई ‘लाइफलाइन’को रुपमा अघि बढायो ।

सोहीअनुसार भन्सार व्यवस्थापनको लागि संघसँग माग गरेको छ । दुई देशबीचको सम्बन्ध संघ सरकार मातहत पर्छ । चीनले कोरला नाकामा भीमकाया भवन बनाएको छ । सबै प्रणाली जोडिसकेर भन्सारका लागि ऊ तयार भइसकेको छ । तर, नेपालतर्फ सुनसान छ । नेचुङस्थित २ कोठे टहरोबाट सिजनेवल भन्सारको काम गर्दै आएको छ । सुस्तामा पनि छोटी भन्सार व्यवस्थित छैन ।

त्यसबाहेक प्रदेशले उत्तर–दक्षिण जोड्ने सडक निर्माणका लागि धेरै पटक संघलाई अनुरोध गरेको छ । तर, सुनेको छैन ।

यो सडकमा सबैभन्दा समस्या चितवन राष्ट्रिय निकुन्ज जोडिएको त्रिवेणी क्षेत्रमा छ । दुम्कीवासदेखि त्रिवेणीसम्मको ८ किलोमिटर सडक वन क्षेत्रमा पर्ने भएकोले ट्रयाक खुलेको छैन । चार वर्षअघि त्यसको डीपीआर निर्माण र सहजीकरणका लागि वन मन्त्रालयलाई पत्र पठाइएको थियो ।

माघ दोश्रो साता मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल काठमाडौं गएर फाइल अघि बढाउन आग्रह गरे । ‘यो सडक नागरिकको भावना मात्र होइन । प्रदेशको समृद्धिसँग जोडिएको हो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘यसको काम तुरुन्तै अघि बढ्नुपर्छ ।’

वन तथा वातावरण सचिव पेमनारायण कँडेलले फाइल अघि बढाए पनि अझै सडक बन्ने सुनिश्चितता भने छैन । उनले डीपीआरको काम तुरुन्तै सुरु गर्न सडक विभागलाई लेखी पठाएको बताए ।

यसबाहेक वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका पालना गर्ने र चितवन निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यसका लागि युनेस्कोसँग आग्रह गर्ने गरी सचिवस्तरीय निर्णय भएको बताए । दुम्कीवास त्रिवेणी खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्छ ।

निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने अनिवार्य शर्त छ । मुख्यमन्त्री पोखरलले त्रिवेणी क्षेत्रका नागरिकको विकासका लागि प्रदेश सरकारले प्याकेज तयार गर्न लागेको बताएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : ५७ बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको