साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साँझ ५ बजेसम्मका मुख्य १० समाचार


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. लिङदेनद्धारा प्रतिनिधिसभा सदस्य त्याग गरेको घोषणा   

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य त्याग गरेको घोषणा गरेका छन्  ।प्रतिनिधिसभाको  आजको बैठकमा विषय समय लिएर बोल्दै लिङदेनले प्रतिनिधि सभाको म्याद लम्बाउन खोजिएको भन्दै प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका हुन्  । उनले सांसदको रूपमा सदनमा उपस्थित नहुने र आफ्नो नाममा आउने तलब भत्ता सुविधा रोक्न सभामुखसमक्ष आग्रह गरे । संसद्को आयु लम्बाउने अनैतिक काममा लाग्न आफ्नो अन्तर आत्माले नमानेको उनको भनाइ छ । त्यस्तै उनले कतिपय नीति निर्माणका क्रममा आफूलाई उपेक्षा गरेको जस्तो महसुस भए पनि संसदमा उपस्थित हुँदा अन्य सदस्यहरूबाट स्नेह र सद्भाव नै पाएको धारणा राखे । यो कार्यकालको संसदमा अन्तिम पटक सम्बोधन गर्न लागेको भन्दै उनले आफूलाई रोष्टम प्रयोग गर्न दिन माग गरेपछि सभामुखले रोष्टम प्रयोग गर्न अनुमति दिएका थिए । यसैबीच नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशबारे प्रतिनिधिसभामा जानकारी गराइएको छ ।

२. मानव बेचबिखन नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन

महिला तथा सामाजिक समितिले प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा  आज बसेको समिति बैठकले मानव बेचबिखन तथा बाध्यकारी श्रमको जोखिमपूर्ण अवस्थाबाट नागरिकको संरक्षण गर्नु राज्यको दायित्वको दृष्टिकोणबाट हेरिनु आवश्यक रहेको भन्दै यस सम्बन्धी राष्ट्रिय नीति बनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले श्रम बजारमा उपलब्ध हुने जनशक्तिलाई देशभित्रै रोजगारी दिने वातावरण बनाउन, सो सम्बन्धमा स्पष्ट अल्पकालीन तथा दीर्घकालीन कार्यनीति बनाई शीघ्र कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । बैठकले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न आधुनिक सूचना प्रणालीको प्रयोग गर्न पनि सरकारलाई निर्देशन दिएको छ भने मानव बेचबिखन जस्तो जघन्य अपराधमा संलग्नलाई दिइने विद्यमान सजायमा पुर्न बिचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

३ .रञ्जन कोइरालाको फैसलाबारे जबराको बयान : क्षमा चाहन्छु

महाअभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिएका छन्।प्रतिनिधिसभाले गठन गरेको समितिले आइतबार जबरासँग पाँच वटा प्रश्न सोधेको थियो । ४३ वटा प्रश्न तयार गरेको समितिले यसअघिका दुई बैठकमा ६ वटा प्रश्न सोधेको थियो ।आइतबार समितिले श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्न जलाएको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजाय कम गर्ने गरी गरेको फैसलाबारे प्रश्न गरेको थियो । जवाफमा जबराले उक्त फैसलाप्रति माफी माग्दै आफूले प्रायश्चित गरेको बताए ।रञ्जन कोइरालालाई कम सजाय गरियो भन्ने आरोपलाई अस्वीकार गर्दै उनले भने, ‘यो आरोप शतप्रतिशत गलत छ । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको हो । जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो । पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरूलाई ख्याल गरेर २० वर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको हो ।’यस फैसलाप्रति जनतासँग माफी चाहने र आफूलाई प्रायश्चित लागेको जबराको बयान छ । ‘कोइरालालाई कम सजाय तोकिँदा विवेक प्रयोग गर्दा गल्ती भएको यसलाई महाअभियोग लगाइएको हो भने जनतासमक्ष क्षमा चाहन्छु र यसप्रति मलाई प्रायश्चित भएको छ,’ बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै जबराले भने ।समितिको अर्को बैठक २५ भदौमा बस्नेछ ।

४. आन्दोलनको कार्यक्रम स्थगित गरी निर्वाचनको तयारीमा लाग्न कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन्।नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गएको अवस्थामा यसको तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन्।उनले कर्मचारीहरूको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिबद्धता जनाए । ऐनको सन्दर्भमा आएका सुझावहरूका बारेमा आफू जानकार रहेको भन्दै उनले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अवलम्बन गरिने धारणा राखे। उनले स्थायी सरकारको रूपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताए।त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनीय दस्ताबेज भएको भन्दै कर्मचारीहरूको जायज मागलाई सम्बोधन हुने गरी ऐनलाई अन्तिम रूप दिनुपर्ने बताए।

५. इन्द्रचोक र असनका अवैध पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम  

काठमाडौं महानगरपालिकाले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका अवैध पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।मापदण्ड विपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको हो । काठमाडौं महानगरपालिका–२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्र लगायतमा  हटाउन निर्देशन दिएको हो । वडा नम्बर २५ अध्यक्ष राजेश शाक्यका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ–बायाँ(दूध डेरी)मा रहेका पसलहरु हटाउन निर्देशन दिएको हो ।

 ६. असोजदेखि शुक्रबार सेयर कारोबार नहुने 

असोजदेखि शुक्रबारको सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्जको आज बसेको सञ्चालक समितिको बैठकले असोजदेखि शुक्रवार शेयर कारोबार नगर्ने र हप्ताको पाँच दिन मात्रै बजार खुला रहने निर्णय गरेको हो । लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मत गर्नुपर्ने भएकाले शुक्रवार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले  जानकारी दिनुभयो । असोजदेखि पहिलेजस्तै आइतबारदेखि बिहीबारसम्म पाँच दिन मात्रै शेयर कारोबार हुने भएको हो ।   सरकारले गत जेठबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठभर शुक्रबार नेप्सेमा पुरै समय सेयर कारोबार भएको थियो । तर, असार लागेसँगै सरकारले आइतबारको बिदा हटाएसँगै नेप्सेमा आइतबार पुरै समय र शुक्रबार पनि २ घण्टा कारोबार गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयनमा गरेको थियो ।

७. नेप्से ६ अंकले बढ्यो

साताको पहिलो कारोबारको दिन आज सेयर बजारको परिसूचक नेप्से  झिनो अंकले सुधार आएको छ । नेप्से  आज  ६.६८ अंक बढेर  १ हजार ९ सर ७७ बिन्दुमा पुगेको छ। आज २ सय २७  वटा कम्पनीको  २८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ७ करोड  १६ लाख बराबरको कारोबार भएको छ । आज १३३ कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १५ को स्थिर रहेको छ । आज रुरु जलविद्युतको मूल्य १० प्रतिशतले र  हिमालयन एभरेस्ट इन्स्योरेन्सको ९प्रतिशतले  बढेको छ । आज कारोबार रकमका आधारमा रिडी पावर, नेपाल टेलिकम, नबिल बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन् ।

 ८. फिलिपिन्सका राष्ट्रपति  मार्कोस इण्डानेसिया प्रस्थान

फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस इण्डानेसियाको राजकीय भ्रमणमा  आज  प्रस्थान गरेका छन्। फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो विदेश यात्रा हो । इण्डानेशियाको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरेर उहाँले यही भदौ २१ र २२ गते  सिङ्गापुरको पनि भ्रमण गर्नेछन् । सिङ्गापुर र इण्डानेसिया भ्रमणका क्रममा  कोरोनाको महामारीपछिको आर्थिक वृद्धिलाई गतिदिन तथा निर्यातका लागि थप लगानी एवम्  सक्रिय खरिदकर्तालाई आकर्षित गर्न आयोजित व्यापारिक मञ्च तथा बैठकमा आफू सहभागी हुने उनले जानकारी दिए। उनले इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग समसामयिक विश्व राजनीति र भविष्यका साथै फिलिपिन्स–इण्डोनेसिया सम्बन्धबारे विचारविमर्श गर्नेछन् ।यस्तै सिङ्गापुर भ्रमणका क्रममा फिलिपिन्सका राष्ट्रपतिले त्यहाँ आफ्ना समकक्षी हलिमाह याकोब र प्रधानमन्त्री ली सिएन लुङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने छन् । दुवै भेटवार्तामा फिलिपिन्स– सिङ्गापुर सम्बन्धलाई अझ गाढा तुल्याउन द्विपक्षीय प्रतिबद्धतालाई नवीकृत गर्ने, आर्थिक सम्बन्धलाई अगाडि बढाउन विकल्प खोज्ने तथा क्षेत्रीय एवम् साझा चासोका विश्वव्यापी विषयमा छलफल गर्ने राष्ट्रपति मार्कोसले बताएका छन्।

९. पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने  

पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदिपुरको आयोजनामा भदौ २२ देखि २५ गते सम्म क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुषतर्फ ३० र महिलातर्फ १० टिमको सहभागिता रहने छ । पुरुषतर्फ प्रथम हुने टिमले १ लाख र दोस्रो हुने टिमले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  महिलातर्फ प्रथम हुने टिमले ४० हजार र दोस्रो हुने टिमले २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

१०.  बंगलादेशका विकेटकिपर रहिमद्धारा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा 

बंगलादेशका विकेटकिपर मुस्फिकर रहिमले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । ३५ वर्षीय रहिमले सामाजिक संजाल ट्वीटरबाट आज सन्यास घोषणा गरेका हुन् । टेस्ट र एकदिवसीयमा ध्यान दिन  रहिमले छोटो ढाँचा (फर्म्याट) बाट सन्न्यास लिने आफ्नो निर्णय लिएको बताएका छन् ।  उनले बंगलादेशको प्रतिनिधित्व गर्दै १ सय २ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १९.२३ को औसतमा १५ सय  रन बनाएका छन् । उनी २०१२ र २०१४ को टी–ट्वान्टी विश्वकप अभियानमा टोलीको कप्तान थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ४९ बजे

एसबीआईले किन्यो मालदिभ्सको ऋणपत्र

काठमाडौँ– भारतले मालदिभ्सलाई ५ करोड अमेरिकी डलर बराबरको सहयोग गरेको

जीबीसहित १७ जनाविरुद्ध ३७ करोड बिगो मागदाबी गर्दै चितवनमा मुद्दा दर्ता

काठमाडौं- आधा दर्जनबढी सहकारीको बचत ठगी अभियोग लागेपछि फरार गीतेन्द्रबाबु

भारतको पञ्जाबमा लागूऔषधको प्रकोप बढ्दै

काठमाडौँ– भारतको पञ्जाब प्रान्तमा लागूऔषधको प्रकोप बढ्दै गएको पाइएको छ

निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र

समुद्री आँधीबाट प्रभावित मुलुकलाई भारतको सहयोग

काठमाडौँ– भारतले समुद्री आँधीबाट प्रभावित म्यान्मारलाई सहयोग गर्ने भएको छ