विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ १९ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ४, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

सोमालियामा अल–शबाबको आक्रमण

सोमालियाको चरमपन्थी समूह अल–शबाबले हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन् ।

सरकारी सञ्चार माध्यम र स्थानीयबासिन्दाले चरमपन्थी समूह अल–शबाबले हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन् । अल–कायदासम्बद्ध समूहविरुद्ध स्थानीयहरु एक भएको प्रतिशोधस्वरूप उक्त आक्रमण भएको स्थानीयवासीले बताएका छन् ।

स्थानीय हसन अब्दुल्लले अमेरिकी समाचार संस्था एपीलाई फोनमार्फत दिएको जानकारीमा भनिएको छ, ‘बेलेटवेनबाट माटाबनसम्म खाद्यान्न ढुवानी गर्ने चालक र यात्रुहरू थिए र यात्रुहरूले प्रयोग गर्ने खाद्यान्न र सवारी साधनहरू बोकेका कूल सात वटा ट्रकहरूमा आगजनी गरिएको थियो । सरकारी सेनाले यात्रुलाई लक्षित गर्ने उद्देश्यले बेलेटवेन र माताबन जोड्ने व्यस्त सडकमा अल–शबाबले राखेको बारूदी सुरूङ्ग नष्ट गरेको एक दिनपछि उक्त आक्रमण भएको हो ।’

अल–शबाबले आक्रमणको पुष्टि गर्दै स्थानीय स्तरमा परिचालन गरिएका २० जना लडाकू मारिएको दाबी गरेको छ । सोमालियाली सरकारले यस ‘बर्बर’ आक्रमणको निन्दा गरेको छ र मध्य र दक्षिणी सोमालियाको महत्वपूर्ण भागमा कब्जा जमाएको चरमपन्थी समूहविरुद्ध स्थानीय परिचालनका लागि आफ्नो समर्थन दोहो¥याएको छ ।

बाइडेन देशकै दुश्मन : ट्रम्प

विरोधीको कटु आलोचना गर्न खप्पिस मानिने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय राष्ट्रपति जोन बाइडेनमाथि खनिएका छन् ।

आफ्नो निजी निवासमा संघीय अनुसन्धान ब्युरो एफबीआईले छापा मारेपछि उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका हुन् । उनले बाइडेन देशकै दुश्मन भएको टिप्पणी गरेका छन् ।

एफबीआईले अगस्ट ८ मा फ्लोरिडा राज्यको पाम बिचमा रहेको निजी निवास मार अ लागोमा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको परिणाम’ ल्याउने चेतावनी दिए ।

ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको योभन्दा ज्वलन्त उदाहरण अरु केही हुन सक्दैन, जतिबेला केही साताअघि प्रशासनले शक्तिको चरम दुरुपयोग ग¥यो ।’

बीबीसीका अनुसार ट्रम्पले पेन्सलभेनिया राज्यको विल्क्स–ब्यारे सहरमा आयोजित ¥यालीमा समर्थकहरूलाई भने, ‘कानूनको घोर दुरुपयोगले यसअघि कसैले कहिल्यै नदेखेको प्रतिक्रिया ल्याउन लागिरहेको छ ।’

ट्रम्पले यस हप्ता राष्ट्रपति बाइडेनको भनाइको पनि चर्को आलोचना गरेका थिए । एक कार्यक्रममा बाइडेनले ट्रम्पप्रति संकेत गर्दै भनेका थिए, ‘पूर्ववर्ती र रिपब्लिकन समर्थकहरूले हाम्रो गणतन्त्रको जगलाई खतरामा पार्ने अतिवादको प्रतिनिधित्व गर्छन् ।’

ट्रम्पले भने, ‘अहिलेसम्मकै राष्ट्रपतिमध्ये बाइडेनले सबैभन्दा खराब, घृणित र विभाजनकारी भाषण दिए ।’ सम्बोधनका क्रममा बाइडेन देशकै दुश्मन भएको उनले संगीन आरोप लगाए ।

चन्द्रमामा रकेट पठाउने नासाको तयारी

अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी गरेको छ ।

यसै साता दोस्रो पटक प्रक्षेपण टोलीले नासाले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली ३२२ फिट (९८ मिटर) लामो रकेटमा करिब १० लाख ग्यालन इन्धन लोड गर्न सुरु गरेको थियो । खराब इन्जिन सेन्सर र इन्धन चुहावटका कारण सोमबारको प्रयास रोकिएको थियो ।

नासाको प्रक्षेपण कन्ट्रोल समूहका अनुसार जब सूर्य उदायो, अत्यधिक दबाबको घण्टी बज्यो र इन्धन लोड गर्ने कार्य केही समयका लागि रोकियो, तर कुनै क्षति भएन र प्रयास पुनः सुरु भएको छ ।

नासाले चन्द्रमाको वरिपरि रकेटमाथि ‘क्रु क्याप्सुल’ पठाउन चाहेको छ, जसले अन्तरिक्ष यात्रीहरू अर्को उडानमा पुग्नु अघि यसलाई सीमामा धकेल्छ । यदि परीक्षण डमीसहितको पाँच हप्ताको ‘पूर्वाभ्यास’ सफल भयो भने अन्तरिक्ष यात्रीले सन् २०२४ मा चन्द्रमाको परिक्रमा गर्न सक्नेछन् र सन् २०२५ मा चन्द्रमामा अवतरण गर्न सक्नेछन् । मानिसहरु ५० वर्ष पहिले अन्तिम पटक चन्द्रमामा पाइला टेकेका थिए ।

सोमबार एउटा सेन्सरले चारवटा इन्जिनमध्ये एउटा निकै न्यानो भएको सङ्केत गरेको थियो तर पछि इन्जिनियरहरूले यो निकै चिसो भएको पुष्टि गरेका थिए । प्रक्षेपण टोलीले यस पटक समस्यापूर्ण सेन्सरलाई बेवास्ता गर्ने र प्रत्येक मुख्य इन्जिन ठीकसँग चिसो भएको सुनिश्चित गर्न अन्य उपकरणहरूमा भरोसा गर्ने योजना बनाएको थियो ।

प्रज्वलित गर्नुअघि मुख्य इन्जिनहरू माइनस–४२० डिग्री फरेनहाइट अर्थात् माइनस–२५० डिग्री सेल्सियस मा प्रवाहित तरल हाइड्रोजन ईन्धनजत्तिकै चिसो हुनुपर्छ । यदि होइन भने, परिणामी क्षतिले अचानक इन्जिन बन्द हुन सक्छ र उडान रद्द गर्न सक्छ ।

झण्डै ४.१ अर्ब अमेरिकी डलरको यो परीक्षण उडान नासाको नयाँ चन्द्र अन्वेषण कार्यक्रमको पहिलो चरण हो । ग्रीक पौराणिक कथामा अपोलोकी जुम्ल्याहा बहिनी आर्टेमिसको नाममा दिइएको यो उडान सफल हुनेमा नासा विश्वस्त देखिन्छ ।

नासाको अपोलो कार्यक्रमका क्रममा १२ जना अन्तरिक्ष यात्रीले चन्द्रमामा पाइला टेकेका थिए ।

बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको आह्वान

पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ ।

बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो ।

सङ्घीय योजनामन्त्री अहसान इकबालले निरन्तरको वर्षासँगै आएको बाढीले तीन करोड ३० लाख सर्वसाधारण प्रभावित भएका, ज्यान गुमाउने र घरबारविहीन हुनेको सङ्ख्या बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् ।

“पाकिस्तानी प्रवासीहरू र अन्तर्राष्ट्रिय समुदायलाई चरम अभावको योे घडीमा पाकिस्तानलाई सहयोग गर्न अपील गर्दछु,” पत्रकार सम्मेलनमा उनले भने । सरकारको प्रारम्भिक अनुमानअनुसार वर्षा र बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत धेरै अधिकारी र विज्ञले असामान्य वर्षा र बाढीलाई जलवायु परिवर्तनलाई दोष दिएका छन् ।

महासचिव गुटरेस आगामी शुक्रबार पाकिस्तानको वस्तुस्थितिबारे जानकारी लिन बाढी प्रभावित क्षेत्रको भ्रमण तथा सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले आफ्नो पछिल्लो प्रतिवेदनमा बाढी प्रभावित क्षेत्रमा थप ५७ जनाको मृत्यु भएको जनाएको छ ।

जुन महिनाको मध्यदेखि सुरु भएदेखि मनसुन वर्षाले ल्याएको बाढीपहिरामा परेरर चार सय ४१ बालबालिकासहित एक हजार दुई सय ६५ जनाको मृत्यु भइसकेको छ ।

यसअघि प्रधानमन्त्री शाहबाज शरीफले पनि सहायताका निम्ति आह्वान गरेका थिए ।

रोहिङ्ग्या शरणार्थी समस्या समाधानका लागि भारतीय भूमिकाको अपेक्षा : शेख हसिना

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताएकी छिन् ।

रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको मातृभूमि फर्कने सुनिश्चितताका निम्ति बङ्गलादेशले अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क गरिरहेको बताउँदै उनले उक्त समस्या समाधानमा भारतको प्रमुख भूमिका हुनसक्ने उल्लेख गरेकी हुन् ।

सोमबारदेखि हुन लागेको आफ्नो भारत भ्रमणका सन्दर्भमा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले आफ्नो देशमा ११ लाख रोहिङ्ग्याको उपस्थितिले राज्य सञ्चालनमा चुनौती थपिएको चर्चा गर्दै रोहिङ्ग्या समस्या समाधानका निम्ति भारतसहित अन्य छिमेकी राष्ट्रहरूसँग पनि परामर्श भइरहेको जानकारी दिइन् ।

“अन्तर्राष्ट्रिय समुदायले यस्तो कदम चालुन् जसले रोहिङ्ग्यालाई घरफर्कन सहयोग पुगोस्,” उनले भनिन् ।

आफ्नो सरकारले मानवीय पक्षलाई दृष्टिगत गरी विस्थापित समुदायलाई आश्रय दिएको तथा उनीहरूको हेरचाह गरिरहको बताउँदै बङ्गलादेशकी प्रधानमन्त्रीले कोरोना महामारीको कठिन समय पनि मानवीय आधारमा सहयोग गरेको तथा सबै रोहिङ्ग्यालाई खोप उपलब्ध गराएको बताइन् ।

उनले प्रतिप्रश्न गरिन्, “तर उनीहरू कहिलेसम्म यहाँ बस्ने ?” चाँडोभन्दा चाँडो उनीहरूलाई स्वदेश फर्काउँदा बङ्गलादेशका साथै म्यान्मालाई पनि राम्रो हुने उनले उल्लेख गरिन् ।

रोहिङ्ग्याको उपस्थितिले बङ्गलादेशको सामाजिक संरचनामा समस्या उत्पन्न भएको, कोही लागूऔषध तस्करीमा लागेका, कोही हतियारसहित द्वन्द्व निम्त्याउनेतर्फ लागेका र कोही महिला बेचबिखनमा संलग्न भएका बताउँदै प्रधानमन्त्री हसिनाले उनीहरूको शीघ्र घर फिर्तीका लागि दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायसँग छलफलमा रहेको जानकारी दिइन् ।

आफ्नो देशले धेरै समस्याको सामना गरिरहेका बेला रोहिङ्ग्यालाई शरण दिएको बताउँदै उनले अब उनीहरू आफ्नो देश फर्कनुपर्नेमा जोड दिइन् ।

उक्त समस्या समाधानमा छिमेकी देशका नाताले भारतले ठूलो भूमिका निर्वाह गर्नसक्ने उनले बताइन् । टिस्टा नदीको पानी बाँडफाँटलगायत आपसी विवाद समाधान हुन नसक्ने आफूलाई नलागेको उनको भनाइ छ । भारतसँगका सम्बन्धका सबै विषयमा नयाँ दिल्लीमा छलफल हुने पनि उनले स्पष्ट पारिन् ।

फिलिपिन्सका राष्ट्रपति इण्डोनेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा

फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड ‘बोङबोङ’ मार्कोस इण्डानेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा निस्केका छन् । हालै फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा हो ।

इण्डानेशियाको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरेर उनले यही भदौ २१ र २२ गते सिङ्गापुरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

“हाम्रा छिमेकी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्य देशहरूको यो मेरो राजकीय भ्रमणका क्रममा हाम्रो गतिशील व्यापार र लगानीसम्बन्धी सम्भावनाको उपयोगका लागि प्रयोग हुनेछ,” जकार्ता प्रस्थान गर्नुअघि उनले दिएको वक्तव्यमा भनिएको छ ।

सिङ्गापुर र इण्डानेशिया भ्रमणका क्रममा कोरोनाको महामारीपछिको आर्थिक वृद्धिलाई गतिदिन तथा निर्यातका लागि थप लगानी एवम् सक्रिय खरिदकर्तालाई आकर्षित गर्न आयोजित व्यापारिक मञ्च तथा बैठकमा आफू सहभागी हुने उनले जानकारी दिए ।

उनले इण्डोनेशियाका राष्ट्रपति जोको जोकोवी विडोडोसँग समसामयिक विश्व राजनीति र भविष्यका साथै फिलिपिन्स–इण्डोनेशिया सम्बन्धबारे विचारविमर्श गर्नेछन् । इण्डोनेशिया फिलिपिन्सको सहयोगी एवम् निकटतम साझेदार मुलुक मानिन्छ ।

सिङ्गापुर भ्रमणका क्रममा फिलिपिन्सका राष्ट्रपतिले त्यहाँ आफ्ना समकक्षी हलिमाह याकोब र प्रधानमन्त्री ली सिएन लुङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।

दुबै भेटवार्तामा फिलिपिन्स र सिङ्गापुरबीचको सम्बन्धलाई अझ गाढा तुल्याउन द्विपक्षीय प्रतिबद्धतालाई नवीकृत गर्ने, आर्थिक सम्बन्धलाई अगाडि बढाउन विकल्प खोज्ने तथा क्षेत्रीय एवम् साझा चासोका विश्वव्यापी विषयमा छलफल गर्ने राष्ट्रपति मार्कोसले बताएका छन् ।

पूर्वी रुसमा ज्वालामुखी चढ्न गएका छ जनाको मृत्यु

पूर्वी रुसको कामचट्का प्रायद्विपमा रहेको युरेसिया क्षेत्रकै सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन् । खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ ।

आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ ।

सबै आरोही रुसी नागरिक हुन् । दुई जना गाइडसहितको १२ जनाको समूहले मंगलबार ४ हजार ७५४ मिटरको शिखरमा आरोहण सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : ०० बजे

‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू)

काठमाडौं – नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ले

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने

सङ्घीय निजामती सेवा विधेयकमा छलफल सुरु

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ मा

नेप्सेमा उच्च अंकको वृद्धि, आइतबार बजार २६ अंकले बढ्यो 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको

सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशको