कागेश्वरी धाममा लाखौँ भक्तजन | Khabarhub Khabarhub

कागेश्वरी धाममा लाखौँ भक्तजन


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा आराधना गरेका छन् । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा रहेको कागेश्वरी धाममा लाखौँ भक्तजन जम्मा भएर पूजाआराधना गरेका हुन् । कागेश्वरी धाममा पूजा आराधना गर्न बिहानैदेखि मन्दिर क्षेत्रमा भक्तजनको भीड लागेको थियो ।

आजको दिनमा कागेश्वरी महादेव मन्दिरमा गई पूजाआराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वाससमेत रहेको छ ।

श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जन विश्वास रहेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट लाखौँ भक्तजनको भीड लागेको हो । कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिइएको छ ।

मन्दिर जान यातायात सहज बनाइएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले राससलाई जानकारी दिनुभयो । कोरोनाअघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले विसं २०७७ देखि तीनदिने मेला नगरी एक दिन पूजाआराधना गर्ने व्यवस्था मिलाइएको छ । आज पूजाआराधना गर्न काठमाडौँ उपत्यका र यस वरपरका जिल्लाबाटसमेत लाखौँ भक्तजन आएको उनले बताए ।

मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति पनि निर्माण भएको छ ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरकोसमेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनकोसमेत प्रदर्शन गरिन्छ । काग तिहारका अवसरमा पनि यहाँ भक्तजनको भीड लाग्ने गर्छ ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लागेको थियो । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी आएको मेला आयोजक समितिले जनाएको छ ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वर मन्दिरमा पनि आज पूजाआराधना गर्न भक्तजन पुगेको जनाइएको छ । यमदूतका रुपमा काम गर्ने कागले सन्देशबाहकका रुपमा काम गर्छ । यसले शुभ सन्देश ल्याओस् भनेरसमेत कागरुपी महादेवको आराधना गर्ने गरिएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ३१ बजे

नेपालको विजयी सुरुवात, लाओस ९–० ले पराजित

काठमाडौं – एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको

कांग्रेस नेता मोहन बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं– विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख

तान्जानियामा बस दुर्घटनाबाट ३८ जनाको मृत्यु

डार एस सलाम- तान्जानियाको किलिमञ्जारो क्षेत्रको साबासाबा नामक स्थानमा शनिबार

जहाँ धान रोपाइँ गर्दा बाजा बजाउँदै देउडा खेलेर उत्सव मनाइन्छ

धनगढी–  आइतबार राष्ट्रिय धान दिवस । सुदूरपश्चिमको विभिन्न जिल्लाका अधिकांश