श्रद्धाञ्जली ट्वीटसँगै संसार छाडेका शताब्दी बलर | Khabarhub Khabarhub

श्रद्धाञ्जली ट्वीटसँगै संसार छाडेका शताब्दी बलर

लेग स्पिनर सुपरस्टारको ‘सस्पेन्स डेथ स्टोरी’



काठमाडौँ : शुक्रबार अचानक शेन वार्नको मृत्युको खबरले सारा क्रिकेट प्रेमीलाई स्तब्ध बनायो । जसले टेस्ट क्रिकेटलाई बलिङ पक्षबाट असाध्यै रोचक बनाएका थिए, उनैले संसार छाडेको कुरा पत्याउन कोही पनि तयार थिएन ।

तर मृत्यु निश्चित हो । त्यो पनि सत्य । सत्यका अगाडि स्वयंम शेनको पनि केही लागेन । अष्ट्रेलियाका लिजेन्ड शेनको ५२ वर्षकै उमेरमा शुक्रबार थाइल्याण्डमा निधन भएको हो । आफ्नै घरमा अचेत अवस्थामा भेटिएका उनलाई हृद्यघात भएको भनिएको छ । सोही कारण उनको ज्यान गएको भनिए पनि थप आधार बाहिर आइसकेको छैन । तर जति जानकारी संसारभर फैलिएको छ, त्यसले सारा क्रिकेटप्रेमीलाई शोकाकुल बनाइदिएको छ ।

स्पिनमा पनि लेग स्पिनलाई मुख्य हतियार बनाएका शेन विश्वप्रसिद्ध बलर हुन् । जसले आफ्नो समयमा क्रिकेटलाई लेग स्पिनबाट आफ्नो मुठ्ठीमा राखेका थिए । अष्ट्रेलियालाई एसेस सिरिज दिलाउनदेखि विश्वकप जिताउनसम्म मुख्य भूमिका खेलेका वार्नले कसरी आफूलाई क्रिकेट महादीपको लेग स्पिन आइकन बनाए त ? यो जान्न कंगारु देशको सन् १९७० देखिको इतिहास पल्टाउनु पर्छ ।

एक महान बलर : जसको बलिङले शताब्दी चुम्यो

अष्ट्रेलियामा १३ सेप्टेम्बर १९६९मा शेन वार्नको जन्म भएको हो । जो इतिहासमै सर्वाधिक सफल र उत्कृष्ट क्रिकेटरका रूपमा परिचित बने । क्रिकेटमा प्रभावशाली बलिङको लागि वार्न परिचित भए । टप स्पिनिङ, गुगली र लेग स्पिनबाट वार्नले विश्व क्रिकेटलाई आफ्नो मुठ्ठीमा राखेका थिए । त्यसैले उनलाई विश्व प्रसिद्धी दिलायो ।

लेगस्पिनको कलालाई पुन: जिवित गर्न पनि वार्नले महत्वपूर्ण भूमिका खेले । साथै तीव्र गतिको बलिङमा पनि वार्नले विभिन्न प्रकारको शैली देखाए । सन् २००६ मा ७०० विकेट लिनेमा वार्न पहिलो बलर बनेका थिए ।

किशोर अवस्थामा क्रिकेट सुरु गरेका वार्न आफ्नो शान्त स्वभावलाई मन पराउने व्यक्ति हुन् । तर उनी चक्लेटी थिए । कपाल रंगाउँथे । कानमा टप लगाउँथे । आफूलाई स्टाइलिस बनाउने र क्रिकेटमै नयाँ शैली र आफ्नो बलिङ नायकत्व देखाउनमा शेन सफल पनि भए ।

जसकारण उनलाई संसारभर रुचाइयो । विस्तारै क्रिकेट खेल प्रिय बनिरहेका बेला उनको खेल्ने शैलीले दुनियाँभर नयाँ उचाई लियो । राष्ट्रिय क्रिकेट टोलीमा छनोट हुनुअघि वार्नले घरेलु क्लब प्रतियोगिताअन्तर्गतको शेफिल्ड शिल्डमा ७ खेल खेलेका थिए । जहाँ उनले राम्रो छाप छाडे । लेग स्पिनमा नयाँ शैली भित्र्याएका उनको खेल कौशल आकर्षक मात्रै थिएन, खेल उल्ट्याउने सक्ने क्षमता र प्रतिभावान थियो ।

घरेलु लिगमा उत्कृष्ट खेलेपछि उनी राष्ट्रिय क्रिकेट टोलीका सदस्यको नजरमा परे । लगत्तै उनलाई सन् १९९२ मा सिड्नीमा भारतविरुद्धको टेस्ट पीचमा उतारियो । उनको पहिलो खेल खासै फरक रहेन । तर एक प्रतिभावान लेग स्पिनको उदय भयो ।

राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका वार्नले त्यसपछि अर्को वर्ष इङ्ल्याण्डविरुद्धको एसेस सिरिजमा पनि मौका पाए । जहाँ उनले सिरिजभर ३४ विकेट लिए । २५.७९ को औषतमा बलिङ गरेका उनले क्रिकेटमा लेग स्पिनलाई चम्काए ।

उनले यही सिरिजको पहिलो टेस्टमै ‘बल अफ द सेन्चुरी’का रूपमा बलिङ प्रदर्शन गरे । म्यान्चेष्टरको ओल्ड ट्रार्फोडमा वार्नले इङल्याण्डका माइक ग्याटिङलाई बोल्ड गरेका थिए । यो स्पिन बलिङले यति धेरै चर्चा पायो कि कमेन्टेटरले ‘बल अफ द सेन्चुरी’ भनेर सम्बोधन गर्न थाले ।

जुन बलिङ न त्यसअघि देखिएको थियो । न त्यसपछि नै देखियो । केवल वार्नको त्यो बलमा देखियो । त्यो बलिङको फुटेज अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ । वार्नको मृत्युले झन् त्यो बलिङ चर्चामा आयो । सबैले त्यही जादुयी बलिङ सम्झिँदै वार्नलाई श्रद्धाञ्जली शब्द टक्राए । जुन रोचक मात्रै होइन, आश्चर्यजनक छ ।

ग्याटिङले वार्नका धेरै बल सामना गरेका थिए । तर उनको त्यो बल यसरी घुम्यो, जसको न दिशा पत्ता लगाउन सकियो । न त घुमाईको स्तर नै । वार्नले फालेको त्यो बल दायाँ स्टम्पतर्फ थियो । ब्याटिङ गर्दा बायातिर पर्छ । जसलाई माइकले स्ट्राइक गर्नै सकेनन् । स्ट्राइक नभएको बल वाइडतर्फ जानुपथ्र्यो । तर गएन ।

ब्याटरको बायातिर फालिएको बलले घुम्दै घुम्दै दायाँ स्टम्प उडायो । त्यो बलिङले साच्चै वार्नलाई महान बनाउन प्रेरित गरिदियो । लेग स्पिन यति धेरै शक्तिशाली छ भन्ने प्रमाण वार्नले त्यही बलबाट प्रमाणित गरिदिएका थिए । जुन आज पर्यन्त कायम छ ।

वार्न, बलिङ र विवाद

आफ्नो गुगलीबाट विश्व प्रसिद्ध भएका शेन वार्न चक्लेटी थिए । उनी सुरुमा जति शान्त र भद्र देखिन्थे । विस्तारै नियन्त्रण बाहिर जान थाले ।

सन् १९९८ मा वार्न र उनका साथी मार्क वाग एक विवादमा मुछिए । सो विवादअन्तर्गत दुवै क्रिकेटरले सन् १९९४ मा भारतीय एक व्यक्तिसँग घुस लिएको खुलेको थियो ।

यद्यपी, दुवै जनाले मौसमको अवस्था र पीचको स्थितिको बारेमा मात्र जानकारी दिएको दाबी गरेका थिए । अष्ट्रेलियाली क्रिकेट बोर्डले दुवैै जनालाई सो गल्तीका लागि जरिवाना तिराएर कारबाही गरेको थियो । तर यो त्यति धेरै चर्चामा आएन । किनकी त्यतिबेला सामाजिक सञ्जाल र अनलाइन मिडियाको दबदबा थिएन ।

तर त्यो गल्तीबाट पाठ सिकेका वार्न आफ्नो पुरानै लयमा फर्किए । सन् २००० मा उनी विश्व क्रिकेटमा शताब्दीकै पाँच क्रिकेटरको सूचीमा परेका थिए । विस्डेन क्रिकेटर्सले उनलाई यो सूचीमा समेटेको थियो । उनको बराबर लेग स्पिन गर्ने बलर त्यतिबेला अरु थिएन । सोही कारण पनि उनी चर्चामा रहे ।

लगत्तै त्यसको केही वर्षमा उनी न् २००३ मा पुन विवादमा मुछिए । दक्षिण अफ्रिकामा भएको विश्वकप क्रिकेटमा वार्न लागूऔषध केसमा फसे । यताकदा उनी त्यसबेला ड्रग्स लिने गरेको चर्चा थियो । तर विश्वकपकै कडा जाँचमा उनी असफल साबित भए । जसकारण उनलाई १२ महिनाका लागि निलम्बन गरियो ।

कतिपयले त्यतिबेला उनको चर्चा, सफलता र उपलब्धि सकिएको भनेर टिप्पणी गर्थे । तर त्यो त्यत्तिमै सीमित रहेन ।

फेरि शानदार कमब्याक

सन् २००४ मार्चमा निलम्बन पछिको पहिलो टेस्टमा वार्नले आफ्नो पावर प्रदर्शन गरे । आफ्नो ५०० औँ विकेट लिने कीर्तिमान बनाउँदा उनी सफल कमब्याकका रूपमा फर्किएका थिए । त्यतिबेला उनी विश्वमा पाँच सय विकेट लिने दुर्लभ कीर्तिमानधारी क्रिकेटरका रूपमा उभ्याउन सफल भए ।

सन् २००३–०४ को सिजनमा वार्ने र श्रीलंकाका बलर मुरलीथरनले सन् २००१ मा वेस्ट इन्डिजका कर्टनी वाल्सले टेस्ट क्रिकेटमा बनाएको ५ सय १९ विकेटको कीर्तिमान तोडेर आफ्नो नाममा लेखाएका थिए ।

सन् २००७ मा वार्नेले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरे । तर क्लब स्तरीय प्रतियोगितालाई भने २०११ सम्म निरन्तरता दिए । वार्नेको अन्तर्राष्ट्रिय क्रिकेट करीयरमा कुल ७०८ विकेटको कीर्तिमान थियो । जसलाई मुरलीथरनले सन् २००७ मा तोड्दै शीर्ष स्थानमा रहन सफल भए । जुन सफलताले उनको विश्व क्रिकेटमा आफ्नो क्षमता देखिन्थ्यो ।

पहिलो आईपीएल जित्ने कप्तान

त्यतिबेलादेखि नै आईपीएल सर्वाधिक चर्चामा थियो । वार्न राजस्थान रोयल्सको प्रतिनिधित्व गर्दैँ आईपीएलका ४ सिजन खेले ।
सन् २००८ को सिजनमा भने चेन्नेईलाई हराउँदै उनले राजस्थानलाई आईपीएल ट्रफी जिताए । कप्तानका रूपमा आईपीएल जित्ने उनी त्यतिबेलाकै दुर्लभ विदेशी क्रिकेटर हुन् । राजस्थानमै आबद्ध उनले खेलाडीका रुपमा खेल्न छाडेपनि प्रशिक्षकका रूपमा आफ्नो भूमिका निर्वाह गरिरहे । सन् २०१८ मा वार्न राजस्थानको मेन्टर भएका थिए ।

आईसीसी ‘हल अफ फेम’ सम्मान

विश्व क्रिकेटमा आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरेका वार्नले सन् २०१३ मा आइसीसी क्रिकेट हल अफ फेम सम्मान पाएका थिए । यसबाहेक उनले अरु घरेलु तथा बाह्य क्षेत्रबाट पनि सम्मान पाए ।
यद्यपी उनले विश्व क्रिकेटमा आफूलाई जसरी उभ्याए, त्यो उभाई र उचाई सायदै कोही बलरले लिन सक्लान । जुन वार्नले आफ्नो जीवनमा प्राप्त गरे । र, विश्व क्रिकेटलाई प्रेरित गरिरहे ।

मृत्युको ट्वीट संयोग : ‘रिप मेट’ लेखेको केही घण्टामै एउटै चिहान !

विश्व क्रिकेटको बलिङमा शताब्दीकै महान मानिने वार्नको मृत्यु भने थाईल्याण्डको सामुईमा भयो । ५२ वर्षको उमेरमा शुक्रबार उनको मृत्यु हुँदा सायदैले त्यो खबर पत्याए । तर त्यही वास्तविकता बन्यो । जुन उनले आफ्नो जीवनमा कहिल्यै यस्तो संयोग पर्छ भनेर सोचेका थिए ।

अष्ट्रेलियाकै पूर्वक्रिकेटर रड मार्सको मृत्यु पनि बिहीबार भएको थियो । ७४ वर्षको हृद्यघातका कारण मार्सको मृत्यु भएको थियो ।

वार्नले मार्सलाई श्रद्धाञ्जलि दिएका छन् । एकदम मनछुने शब्द लेखेर श्रद्धाञ्जली दिएको केही घण्टामै उनको पनि मृत्युको समाचार सुनियो ।

मार्सलाई श्रद्धाञ्जली दिएको ट्वीटमा वार्नले ‘रिप मेट’ उल्लेख गरेका छन् । त्यसको अर्थ साथी ! स्वर्गमा बास होस् भन्ने थियो । तर त्यसो भएन । मार्ससँगै वार्नको पनि मृत्यु भयो । उनीहरू सँगसँगै एउटै चिहान बने । मृत्यु बोकेर संसारबाट सँगसँगै बिदा भए । अर्थात शताब्दी बलरकाे शानदार जीवन दुखद मृत्युमा परिणत भयाे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ३ : ३८ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि