‘गेज रिडर’ सक्रिय हुँदा बाढी डुबानको क्षति न्यून « Khabarhub

‘गेज रिडर’ सक्रिय हुँदा बाढी डुबानको क्षति न्यून


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटक पटक नदी छेउमा पुग्छन्।‘गेज रिडर’ को जिम्मेवारीमा रहेका उनले गोदावरी –३ को मोहना नदी छेउमा राखिएको ‘स्टाप गेज’ ले देखाएको पानीको सतह बारेको जानकारी तत्कालै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र र जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयमा गराउँछन् ।

यसबाहेक उनले पानीको सतह बढेका बेला तल्लो तटीय क्षेत्रका समुदायलाई पनि टेलिफोनमार्फत सम्भावित जोखिमका बारेमा समेत जानकारी गराउँछन्। “नदीमा पानीको सतह बढेको बारेमा जानकारी पाउँदा तटीय क्षेत्रका जनतालाई हुनसक्ने सम्भावित जोखिमबाट सुरक्षित भएर बस्न टेवा पुगिरहेको छ”,उनले भने, “यसले गर्दा पहिलेको तुलना बाढी डुबानबाट हुने मानवीय क्षति न्यूनीकरण भएको छ ।”

वर्षा भइरहँदा प्रत्येक घण्टामा नदी छेउमा पुगेर पानीको सतहको मापन गर्ने गरेको उनी बताउँछन्  । कैलारी गाउँपालिका बिसनपुर गाउँका मानबहादुर चौधरीलाई पनि मोहना नदीमा पानीको बहाव मापन गर्न यति बेला व्यस्तता बढेको छ । उनलाई कैलारी गाउँपालिका बिसनपुर क्षेत्रको मोहना नदीको भागमा पानीको सतह मापन गर्न गेज रिडरको जिम्मेवारी दिइएको छ ।

दुई दिनदेखि भइरहेको वर्षासँगै जिल्लाका ‘गेज रिडरहरु’को सक्रियता पनि बढेको छ । विपद् व्यवस्थापनका लागि सञ्चालनमा रहेको पूर्व सूचना प्रणालीअन्तर्गत खटिने ‘गेज रिडर’ले दिने सूचनाकै कारण पछिल्ला वर्षमा बाढी डुबानबाट हुनसक्ने मानवीय क्षति न्यून हुँदै गएको देखिएको छ ।

“पूर्व सूचनामा आधारित प्रणालीलाई सक्रिय बनाउँदा विपद्का बेला मानव बस्तीलाई जोगाउन केही मद्दत पुगेको छ”, उनले भने, “मानवीय क्षति कम भए पनि बर्सेनि डुबान र नदी कटानको समस्याले भने बढ्दै गएको अनुभव भएको छ ।”

पूर्व सूचना दिएर बाढी डुबान र नदी कटानको जोखिमबाट समुदायलाई जोगाउने काममा स्वयंसेवीका रूपमा आफूहरू निरन्तर खटिरहेको भए पनि मोबाइल रिचार्ज गर्ने पैसा कतैबाट पाउने नगरेको गुनासो उनीहरुको छ ।

“सूचना आदानप्रदानका लागि मोबाइल रिचार्ज गर्न चाहिने खर्चको समस्या भइरहँदा पनि आफ्नै खर्च बेहोरेर सूचना दिन छोडेका छैनौँ”, गेज रिडर चौधरीले भने। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने गेज रिडरलाई टेलिफोन खर्चका लागि सक्दो रकमका साथै छाता, वर्षादी टर्चलाइट जस्ता सामग्रीको उपलब्ध गराउने गरिएको जानकारी दिए।

उनले भने, “विपद् पर्दा स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर उद्धार र राहत लगाएका काममा खटिन स्थानीय तहका प्रहरी इकाइलाई निर्देशन दिने गरिएको छ ।”

पूर्व सूचना प्रणालीअन्तर्गत जिल्लाका अधिकांश नदी किनारमा पानीको बहाव मापन गर्न ‘गेजमिटर’(स्टप गेज) जडान गरिएको छ भने वर्षा मापन र जल मापनका लागि जिल्लाभरि झन्डै १७ जना गेज रिडर कार्यरत रहेका छन् ।

जिल्लामा विसं २०६८ देखि सम्पूर्ण विपद्को वार्षिक रुपमा प्रतिकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ‘जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना’ तयार गरी कार्यान्वयनको अभ्यास गर्दै आएको छ ।

यस क्रममा जिल्ला प्रशासन कार्यालयले यस वर्ष प्राप्त पूर्व सूचनालगायतका आधारमा जिल्लाको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक पनि गरेको छ । खास गरी उत्तरबाट दक्षिणतर्फ बग्ने पूर्वी सीमा क्षेत्रको कर्णाली नदी र पश्चिमबाट पूर्वतर्फ बग्ने दक्षिणी सीमा क्षेत्रको मोहना नदी र उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, काँन्द्रा, काँडा, पथरैया, गौरीगङ्गा, मुढालगायतका नदीमा मनसुनी वर्षासँगै पानीको सतह बढ्दा नदी तटीय क्षेत्रमा जोखिम हुने गरेको छ ।

नदी तथा खोलको सतहमा बर्सेनि बालुवा र माटो थुप्रिने भई बढ्दै गएको सतहका कारण डुबानको समस्या बढ्दै गएको जनाइएको छ ।जलवायु परिवर्तनका कारण सङ्कटासन्नमा परेका समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्न विभिन्न गैरसरकारी संस्थाको सहयोगमा विगतमा स्थानीय अनुकूलन कार्यक्रम सञ्चालन गरिएको थियो । जलवायु परिवर्तनको कारक तत्त्वका रूपमा नरहेको भए पनि जलवायुको असर भने झेल्दै आएको जानकारको भनाइ छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : २९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको