बिर्सन नसक्ने तियानमेन नरसंहार | Khabarhub Khabarhub

बिर्सन नसक्ने तियानमेन नरसंहार


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तियानमेन चोक नरसंहारको स्मरणमा कार्यक्रम गरेको तथा त्यस घटनालाई सम्झिएको आरोपमा हङकङमा ६ जनालाई गिरफ्तार गरिएको छ। त्यहाँको प्रशासनले तीन दशक अगाडिको सो घटनाको बारेमा सार्वजनिक रूपमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ।

चिनियाँ सरकारले शान्त पूर्वक भएको प्रदर्शनमा ट्याङ्क लगाएर नरसंहार गरेका कारण मानव सभ्यताकै कलङ्कको रूपमा परिचित तियानमेन चोक दुर्घटनाको ३३ वर्ष पुरा भएको छ। केही वर्ष अगाडिसम्म चीन अधीनस्थ क्षेत्र भए पनि हङकङमा त्यस घटनामा दिवंगत हुनेको सम्झनामा कार्यक्रम हुने गरेको थियो। त्यहाँको प्रशासनले पछिल्लो समय नयाँ ऐन ल्याएसँगै यस किसिमका कार्यक्रममा पनि प्रतिबन्ध गरिएको छ।

सन् १९८९ मा भएको त्यस घटनाको स्मरणमा मैनबत्ती बाली रहेको अवस्थामा ५ पुरुष र एक महिला गिरफ्तार भएको कुरा प्रहरीले स्वीकार गरेको छ। यी ६ जना नै प्रहरी हिरासतमा छन्। सामाजिक सञ्जालमा प्रहरीले गिरफ्तार गरेको दृश्य राख्न थालिएका छन्। त्यस पार्कमा साँझको समयमा सयौँ प्रहरी तथा कुकुरसमेत तैनाथ गरिएका थिए।

सञ्चार माध्यममा जनाइए अनुसार पार्कमा प्रहरी धरपकड हुने भएपछि धेरै जनाले घरमै त्यसको नक्कल गरेरै तियानमेन नरसंहारलाई सम्झिएका थिए। त्यहाँका अधिकारीले कसैले नटेरेर प्रदर्शन गरे वा घटनाको स्मरण गरे पाँच वर्षसम्म जेल सजाय हुने चेतावनी दिएको थियो।

‘हामीले ३३ वर्षसम्म यो काम गर्दै आएको छौं। अहिले आएर अवरोध सुरु भएको छ, ’प्रदर्शनकारी मध्यकै एक चाङ पो यीङ भन्छन्, ‘त्यो घटना सबैको मन र मुटुमा बसेको छ।’

त्यस दिनको नरसंहार संसारकै लागि चासो र चर्चाको विषय बनेको छ। संसार भरका सञ्चार माध्यमले त्यसलाई प्राथमिकताका साथ प्रकाशित गरेका थिए। त्यसै १९८९ को ४ जुनलाई मानव सभ्यताको कलङ्क ठान्नेको पनि कमी छैन। चिनियाँ सरकारले २ सय जनाको ज्यान गएको दाबी गरे पनि त्यो घटनामा १० हजार भन्दा बढीको ज्यान गएको अनुमान गरिएको छ।

त्यस समयदेखि नै हङकङमा ४ जुनका दिन तियानमेन चोक घटनाको स्मरण गरिँदै आइएको थियो। त्यो स्मरण गर्ने क्रममा हङकङ बेलायतले चीनलाई हस्तान्तरण गरेपछि पनि कायम नै थियो। सन् २०२० मा राष्ट्रिय सुरक्षा ऐन लागु भएपछि त्यहाँको प्रशासनले तियानमेन चोकको घटना स्मरण गर्न प्रतिबन्ध लगाएको हो।

ताइवानमा भने अहिले पनि यो दिनलाई सम्झने गरिन्छ। शनिबार राजधानी ताइपेइमा सयौँ जना जम्मा भएर त्यस नरसंहारको सम्झना गरेका थिए। ताइवानका राष्ट्रपति साइबेइ वेङले हङकङ प्रशासनले सामूहिक कार्यक्रम आयोजना गर्दै त्यस दिनको स्मरण गर्न खोज्दा प्रशासनले रोक लगाएकोमा दुख व्यक्त गरेकी छन्।

‘मलाई विश्वास छ प्रहरी दमनले त्यस्ता दुखद घटना मानिसको मानसपटलबाट हटाउन सक्दैन’ सामाजिक सञ्जालमा उनले उल्लेख गरेकी छन्। ताइपेइको त्यसै कार्यक्रममा सहभागी जेरेमी चीयाङले संसारका धेरै जना मानिस कसरी प्रजातन्त्रका लागि आफूलाई समर्पित गरेका छन् भन्ने कुराको त्यो एउटा महत्त्वपूर्ण प्रमाणको रूपमा इतिहासले त्यस दिनलाई सम्झने बताउँछन्।

त्यस दिनको घटनालाई स्मरण गर्नबाट समेत वञ्चित गरिए पछि यसले अन्तर्राष्ट्रिय क्षेत्रलाई समेत रुष्ट बनाएको छ। अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केले विज्ञप्ति जारी गर्दै प्रजातन्त्रको पक्षमा र अन्यायको विरुद्धमा रहेका चिनियाँहरुले ४ जुनका घटनालाई कहिले पनि बिर्सन नसक्ने प्रतिक्रिया दिएका छन्।

गत वर्ष अवरोध सुरु भएपछि यस वर्ष भने जुन महिनाको सुरुवातमा नै हङकङका प्रजातन्त्र पक्षधर विद्यार्थीले तियानमेन चोक नरसंहारको स्मरण गर्ने तयारी गरेका थिए। उनीहरूले विश्वविद्यालयमा प्रजातन्त्रको प्रतीकको रूपमा एउटा सानो मूर्ति बनाएर राखेका छन्। विगतमा कार्यक्रमको आयोजना गर्ने गरिएको भिक्टोरिया पार्कलाई प्रहरीले बन्द गरिसकेपछि विद्यार्थीले नयाँ बाटो तय गरेका हुन्।

अहिलेको यो मूर्ति चाइनिज युनिभर्सिटी अफ हङकङका विद्यार्थीले तयार गरेका हुन्। गत डिसेम्बरमा तीयानमेच चोकको स्मरण गर्ने ठुलो मूर्ति त्यहाँका अधिकारीले भत्काएका थिए। हङकङमा प्रजातन्त्रका लागि अभियान चलाइरहेको एक विद्यार्थीले प्रशासनले त्यसरी सबै स्मरणलाई निर्मूल पार्न चाहेपछि लुकेर भए पनि मूर्तिलाई सुरक्षित राखेको बताएका छन्।

अहिले विद्यार्थीले बनाएको यो मूर्ति थ्रिडी खालको छ। यसलाई सुरक्षित बनाएर राख्न कुनै कसर बाँकी नराख्ने उनीहरू बताउँछन्। यसलाई उनीहरूले ‘ गडेस अफ डेमोक्रेसी’को नाम दिएका छन्। यसलाई सार्वजनिक गर्ने भन्दा पनि लुकाएर भए पनि संरक्षण गर्ने योजना ती विद्यार्थीको छ।

गत वर्ष ४ जुनको स्मरण गर्ने २६ जनालाई प्रहरी प्रशासनले गिरफ्तार गरेको थियो। यसै वर्षको जनवरीमा अभियन्ता च्वाङ जो हंगलाई गिरफ्तार गर्दै थुनामा पठाइसकेको छ। अहिले १५ महिने जेल सजाय भुक्तान गरिरहेका उनले गत वर्ष नै १२ महिनाको जेल सजाय पुरा गरिसकेका थिए।

समाचारका अनुसार चीन र हङकङमा प्रतिबन्ध लगाइए पनि अमेरिका, क्यानडा र अस्ट्रेलियामासमेत ४ जुनको स्मरण गरिएको छ। तियानमेन चोकमा भएको सो घटनाको स्मरण गर्न हजारौँ जना हङकङ आउने प्रचलन धेरै वर्षदेखि रहेको थियो। २०२० को जुनमा पनि लाखौँ जना हङकङको भिक्टोरिया पार्क आउन तयार भए पनि उनीहरूलाई त्यहाँ उपस्थित हुन बन्देज लगाइएको थियो।

त्यस कार्यक्रममा लगाइएका छेकबारको निगरानी गर्न उपस्थित भएका धेरैलाई भने ६ महिनादेखि १० महिना बीचको समयको जेल सजाय सुनाइएको छ। सोही कार्यक्रममा उपस्थित भए बापत गत वर्ष नै सञ्चार क्षेत्रमा चर्चित व्यक्ति लीमी लेलाई १३ महिनाको जेल सजाइ सुनाइएको थियो।

बेइजिङ प्रशासनकै निगरानीमा गत वर्षदेखि हङकङमा लागू गरिएको सुरक्षा कानुन अनुसार नै धेरैलाई आतङ्ककारी मुद्दा लगाइँदै प्रदर्शनमा सहभागी हुनेलाई जेल पठाउन थालिएको हो।

हङकङमा प्रजातन्त्रको पक्षमा गतिविधि भइरहेपछि २० जुन २०२० मा राष्ट्रिय सुरक्षा कानुन लागू भएको थियो। यसै कानुन अनुसार अहिले प्रजातन्त्रको पक्षमा आवाज उठाउनेलाई धरपकड गरिएको हो। पछिल्लो समय प्रशासनको निगरानीमा पर्नेमा प्रदर्शनकारी, प्रजातन्त्र पक्षधर राजनीतिज्ञ र पत्रकार समेत छन्।

चीनले यसलाई हङकङको स्थिरताका लागि भनेर दाबी गरिरहे पनि हङकङका नागरिकले यसलाई आफ्नो स्वाधीनता गुमेको मात्र होइन स्वतन्त्रता पूर्वक बाच्न पाउने अधिकारको हनन महसुस गर्दै विरोधका स्वर बोल्दै आएका थिए।
यस कानुनको विरुद्धमा हङकङबासीमा यत्ति ठूलो आक्रोश छ कि त्यहाँको सरकारी जागिर छाडेरै बेलायतमा जान इच्छुक रहनेको समेत कमी छैन। १९९७ अगाडि हङकङका बासिन्दालाई बिएनओ पासपोर्ट दिइने गरिन्थ्यो। यो पासपोर्ट अनुसार कुनै पनि हङकङबासीका लागि बेलायत जान सहज हुने गरेको थियो।

हङकङमा लगाइएको नयाँ कानुन तथा त्यहाँ सिकाइने विषयकै कारण आफ्ना सन्तति प्रजातन्त्र विरोधी तथा अन्यलाई आदर गर्न नसक्ने चरित्रका हुने हुन् कि भन्ने चिन्ता समेत त्यहाँका शिक्षकलाई लाग्न थालेको छ।

यसअघि २०१४ मा अम्ब्रेला मुभमेन्टका नाममा एउटा प्रदर्शन भएको थियो। सो प्रदर्शनमा सहभागीले आफ्नो नेतृत्व आफैले चुन्न पाउने माग राखेका थिए। यो माग प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार स्वाभाविक भए पनि चिनियाँ सरकारलाई यसले रुष्ट बनाएको थियो।

हङकङमा सम्पन्नता, आर्थिक विकास, भौतिक संरचना सबै कुरा पूर्ण छन्। तथापि स्वतन्त्रताको अभावमा त्यहाँ छटपटाएका छन्। यसैबीच नरसंहारमा मारिनेका प्रति सद्भाव र समवेदना व्यक्त गर्न खोज्नेमाथि समेत गरिएको यो ज्यादतीले हङकङबासीमा चीन प्रतिको आक्रोश अझ बढेको छ। प्रशासनको धरपकड र ज्यादतीको बाबजुद उनीहरूले मनले भने तियानमेन चोक नरसंहार बिर्सन सक्ने छैन। स्रोत: बीबीसी , सिएनएन

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ७ : ०० बजे

साइबर ब्यूरोले अदालत लग्यो दुर्गा प्रसाईंलाई (तस्बिरहरू)

काठमाडौं– बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई भक्तपुरको ठिमीस्थित उनको

संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी अनुचित : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४

भ्यानमा चढ्दै दुर्गा प्रसाईंले प्रहरीलाई भने- पक्रेजस्तो नगर्नुस्, भ्रष्टाचारीलाई जस्तो नगर्नुस्

काठमाडौं-बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई प्रहरी भक्तपुरको ठिमीस्थित उनको

कांग्रेसको व्यावसायिक सिप विकास विभागमा १० सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसको व्यावसायिक सिप विकास विभागमा सदस्यहरू मनोनीत भएका