प्रश्नको घेरामा विवादले घेरिएका भुवनको ‘बोर्ड इनिङ’ « Khabarhub

नेपाली चलचित्र

प्रश्नको घेरामा विवादले घेरिएका भुवनको ‘बोर्ड इनिङ’

चर्चा, विवाद र आलोचनाले कामका प्राथमिकता नै ओझेलमा


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : तत्कालीन नेकपा माओवादी शान्तिवार्ता हुँदै संसदीय राजनीतिमा आउँदा देशमा ठूलै परिवर्तनको आशा गरिएको थियो । जुन आशा चलचित्र क्षेत्रमा पनि थियो । १० वर्ष सशस्त्र द्वन्द्व लडेको, संविधानसभा चुनावबाट पहिलो पार्टी बनेको, जनवादी गीत संगीतबाट रगत उमाल्ने क्रान्तिकारी भाका छाडेको माओवादीकै धारबाट गणेश भण्डारी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भए ।

माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र सुर्खेतका भण्डारीले चलचित्र विकास बोर्डको नेतृत्व सम्हाल्दा धेरै आश गर्ने ठाउँ थियो । उनले त्यसको हदैसम्म प्रयास गरेको पनि सुनाउँथे ।

तर राम्रोसँग कामै गर्न नसकेर उनी बीचैमा राजीनामा दिनुपर्ने अवस्थामा पुगे । कारण थियो, संविधानसभा चुनावबाट पहिलो पार्टी बनेको माओवादी अध्यक्ष प्रचण्डको सरकार ढल्यो । प्रचण्डको सरकार ढलेपछि भण्डारीले पनि राजीनामा दिए । सामान्यतया जुन पार्टीको सरकार बन्छ, त्यही पार्टीका कार्यकर्ता चलचित्र विकास बोर्डको अध्यक्ष बन्छन् ।

तर पार्टीका खाँटी कार्यकर्ता चलचित्र बनाउने र खेल्ने नभएकाले अरु कलाकार पार्टीको झण्डा ओढेर राजनीतिक नियुक्ती लिँदै बोर्ड अध्यक्ष बन्ने गरेका छन् । यही सिलसिलामा लामो समय एमाले भनेर चिनिएका तर कांग्रेस बनेर नियुक्ती लिएका भुवन केसी नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष बनेका छन् ।

बोर्ड अध्यक्षमा भुवन केसीको चर्चा र विवाद
दुई हप्ताअघि उनले नियुक्ती लिँदा जति चर्चा भयो । त्योसँगसँगै आलोचना पनि भयो । चर्चा यो मानेमा कि उनी नेपाली चलचित्रका सफल अभिनेता हुन् । आफैँले बनाएका धेरै हिट फिल्ममा अभिनय गरेका उनी निर्विवाद रहन सकेनन् । बरु सानो ठूलो विषयमा विवादित भइरहने उनी बेला बेला नयाँ नयाँ मोडलसँग रोमान्स गर्दा पनि चर्चामा आउँथे ।

‘जुनी’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा होमिएका भुवन केसीले कुसुमे रुमाल, सम्झना, कन्यादान, चिनो लगायतका दर्जनौँ चलचित्र खेले । २३ वर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले दुई दशकसम्म अभिनय गरे । केही वर्षअघिसम्म पनि उनी विभिन्न चलचित्र खेलिरहेका थिए । त्यसपछि उनले अभिनय छाडे । अभिनय छाड्दा पनि उनी विवादमा आइरहन्थे । अभिनय छाडेर निर्मार्ता तथा निर्देशक बन्दा पनि उनी विवादबाट बाहिर रहन सकेनन् ।

उनले छोरा अनमोल केसीलाई सुपरस्टार बनाउन ‘ड्रिम्स’ चलचित्र बनाए । आफैँले निर्देशन गरे । निर्मार्ता पनि आफैँ हुन् । हिरोइनका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई छनौट गरे । उनैले सोही फिल्मबाट साम्राज्ञीलाई नेपाली फिल्ममा ल्याएका हुन् ।
फिल्म राम्रो चल्यो । व्यापार पनि राम्रो बन्यो । तर वर्षौपछि भुवन केसी विवादमा आए । लकडाउनको समयमा उनै नायिका साम्राज्ञीले आफूमाथि भुवनले यौन दुर्व्यवहार गरेको आरोप लगाइन् ।

साम्राज्ञीको आरोपले भुवन झन् ठूलो विवादमा तानिए । उनीमाथि सामाजिक सञ्जालमा चर्को आलोचनाको श्रृङ्खला बन्यो । यसअघि पनि भुवन केसीमाथि विदेशमा रहने केही युवतीले यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

तर त्यसबाट उनी जोगिदै आएका थिए । साम्राज्ञीको आरोपपछि भुवन गम्भीर विवादमा तानिए । कतिपयले भुवनमाथि कारबाही हुनुपर्ने माग उठाएका थिए । कतिपयले चाँही भुवनलाई सार्वजनिक रुपमै बहिष्कार गर्नुपर्ने माग उठाएका थिए ।

तर भुवन केसी र विवाद पर्याय बनिरह्यो । भुवन आफ्नो बाटोमा हिडिरहे । राजनीतिक नियुक्ती लिएर बोर्ड अध्यक्ष बन्ने लबिङ गरिरहेका भुवन केसीको अघिल्लो प्रयास असफल भएको थियो । जतिबेला गोकुल बाँस्कोटा सञ्चारमन्त्री थिए । उनी ७० करोड घुस प्रकरणमा फसेपछि राजीनामा दिएर सरकारबाट बाहिरिए । भुवनको अध्यक्ष बन्ने चाहना अलपत्र पर्यो ।

यसबीचमा उनको विवादको फेरो घुमिरह्यो । उनले बोर्ड अध्यक्ष बन्न पार्टी फेरे । कांग्रेस प्रवेश गरे । कांग्रेस प्रवेश गरेपछि बोर्ड अध्यक्ष बन्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लबिङ पुग्यो ।

लामो प्रयास र लबिङपछि देउवाले पत्याए । सञ्चारमन्त्री ज्ञानेन्द्रप्रसाद कार्की पनि सहमत भए । भुवन केसी क्याबिनेट निर्णयबाट चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भए । यसरी लामो फेरो घुमेर उनी चलचित्र विकास बोर्डको अध्यक्ष बन्दा चर्चासँगै विवाद भयो ।

यौन दुव्र्यवहारको आरोप खेपिरहेका उनी चलचित्र विकास बोर्डको अध्यक्षमा चुनिएसँगै झन् विवाद चुलियो । कतिपयले उनलाई बोर्ड अध्यक्ष बन्दा बहिष्कार गर्नुपर्ने माग समेत चर्काएका थिए । खासगरि महिला अधिकारकर्मीले यस किसीमको माग उठाउँदा त्यसको सुनुवाई कतै भएन, स्वयंम भुवनले पनि कुनै नैतिक दायित्व सम्झेनन् ।

सरकारले नियुक्ती थमाएको पत्र बोकेर भुवन केसीले चलचित्र विकास बोर्डको अध्यक्षमा पदभार ग्रहण गरे । उनले आफूले केही राम्रा र सम्झनलायक काम गर्ने प्रतिबद्धता जनाए ।

विवाद र आलोचनाले ओझेलमा प्राथमिकता
पदभार ग्रहण गर्दा प्रतिबद्धता जनाउने तर कतिबेला कुर्सीबाट उठेर हिड्नुपर्ने हो भन्ने टुंगो नहुने बोर्ड अध्यक्ष पदमा यतिबेला विवादले घेरिएका भुवन केसी बसेका छन् ।

आफैँ बसेको कोठाको कतै भित्तामा गणेश भण्डारीपछि राजकुमार राई, केशव भट्टराई, निकिता पौडेल, दयाराम दाहालको फोटो झुण्डिएकै छ । बोर्डमा अर्को अध्यक्षको फोटो झुण्ड्याउन पुगेका भुवन केसी नेपाली दर्शकको मनमा बसेका बेला चलचित्रकर्मीको पनि मनमा बस्ने हो वा झन् विवादित भएर बाध्य भएर राजीनामा दिएर हिड्नुपर्ने हो, कुनै टुंगो छैन ।

त्यसमाथि उनका खास प्राथमिकताहरु पनि बाहिरिएका छैनन् । उनले बोर्ड अध्यक्ष बनेर यसै गर्छन् भन्नेमा धेरै जना ढुकचुक छन् । यस्तो अवस्थामा विवादले घेरिएका भुवन केसीको चलचित्र विकास बोर्डको ‘इनिङ’ कस्तो रहन्छ ? चर्चा र चाँसो दुवै छ ।

यी दुवै कुराको जवाफ दिन सक्ने गरि भुवन केसीले काम गर्नुको विकल्प छैन । तर यो उनका लागि सजिलो भने छैन । विगतमा पनि राम्रा फिल्म खेलेर आफ्नो छवि बचाउन नसक्दा उनी राजेश हमालभन्दा जहिल्यै पछाडि रहे । यसपटक उनी आफैँ राजेश हमालभन्दा अगाडि पुगेर ठूलो जिम्मेवारीमा पुगे ।

यद्यपी बोर्ड अध्यक्षका लागि राजेश हमालले माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । जुन फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । राजेश हमाल माओवादी प्रवेश गर्न लागेको हल्ला पनि चल्यो । तर प्रधानमन्त्री रहेका देउवालाई विश्वास दिलाएर भुवन केसी बोर्ड अध्यक्ष बने ।

बोर्ड अध्यक्ष बनेर नेपाली चलचित्रको विकास, संरचनाको विस्तार र खासगरी चलचित्रका विषयमा मूल नीति नहुँदा उनले देउवाको चुनावी कार्यकालमा आफ्नो कार्यकाल कसरी नीतिमुखी बनाउन सक्छन् ? त्यो हेर्न बाँकी छ । अन्यथा विवादले घेरिरहने भुवन केसीको तेस्रो अर्थात ‘बोर्ड इनिङ’ झन् विवादित भएर नटुंगिएला भन्न सकिन्न ।

झन् उनीमाथि यस्ता यति धेरै प्रश्न छन्, जसको जवाफ उनले मुखले दिएर सम्भव छैन । यदि मुखले जवाफ दिनुपर्छ भने सबैभन्दा पहिले आफैले राजीनामा दिनुपर्ने अवस्था आउँछ ।

नेपाली चलचित्रमा सम्मान, आत्मसम्मान, प्रोत्साहन, युवालाई हौसला र बुढापाकालाई सम्मान तथा संरक्षण लगायतका धेरै विषयमा नीति बनाउन आवश्यक छ । सबैभन्दा ठूलो कुरा त त्यस्तो नीति बनाउँदा भुवन आफैले आफ्नो विगत र वर्तमान हेरेर भोलिका पुस्तालाई राहत दिने र स्वतन्त्रता ल्याउने गरि बोर्डमा बसेर नीति निर्माणका काम गर्न जरुरी छ ।

अन्यथा पार्टीको झण्डा बोकेर, पैँसाको बिटो नेता तथा मन्त्रीलाई बुझाएर बोर्ड अध्यक्ष बन्नेहरुको नाम र कार्यकालभन्दा सदाबहार नायक भनेर बोलाइने भुवन केसीको कार्यकाल फरक हुने छैन ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  २ : ३२ बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र