मुख्यमन्त्रीदेखि पत्रकार महासंघका अध्यक्षसम्मलाई स्पष्टीकरण सोधियो « Khabarhub

मुख्यमन्त्रीदेखि पत्रकार महासंघका अध्यक्षसम्मलाई स्पष्टीकरण सोधियो


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष र सोही आयोगका चितवन जिल्ला अध्यक्ष तथा विभिन्न संस्थालाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको छ ।

आयोगले आज प्रेषित गरेको पत्रमा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिनालाई विभिन्न अनलाइन सञ्चारमाध्यममा यही वैशाख २३ गते ‘भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो निस्सा, आचारसंहिता उलङ्घनको उजुरी दिने तयारी’ शीर्षकमा प्रकाशित समाचारका आधारमा स्पष्टीकरण सोधिएको हो ।

सो समाचारमा आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न भरतपुर महानगरपालिका–११ गणेस्थानमा भूमिको निस्सा बाँडेको उल्लेख छ । आयोगमा प्राप्त उजुरीमा सो वडाका सुकुम्बासी र भूमिहीनलाई भूमिको निस्सा बाँडेको पाइएकाले उक्त कार्य तत्काल रोकी आवश्यक छानबिन गरी निर्वाचन आचारसंहिताविपरीत कार्य भएमा सजाय पाउँ भन्ने माग रहेको छ ।

भूमि आयोगले २०७९ वैशाख १ मा सूचना प्रकाशन गरी अर्काे सूचना नभएसम्मका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्य स्थगन गरेको छ ।

“तपाईँहरूले स्थानीय तह निर्वाचनको सम्मुखमा भरतपुरका मतदातालाई भूमिको निस्सा बाँडेको हो, होइन ? भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ (क) को उपदाफ (३) र दफा ५२ (ख) को उपदफा (६) बमोजिम नेपाल सरकारबाट गठित आयोगले स्थानीय तह निर्वाचनको सम्मुखमा भूमिको निस्सा बाँड्दा निर्वाचन आचारसंहिताविपरीत हुन्छ, हुँदैन ?”, जवाफको मागसहित निर्वाचन आयोगले ती दुई पदाधिकारीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, “आचारसंहिताविपरीत कार्य गरेको भए तपाईँहरूलाई आचारसंहिताको उल्लङ्घनमा किन कारबाही हुनु नपर्ने हो ?”

निर्वाचन आयोगले ताहचलस्थित राष्ट्रिय भूमि आयोगमा पनि पत्र पठाइ स्थगन भएपछि निर्वाचनको मौकामा भरतपुरमा भूमिको निस्सा वितरण भएको भए सोको प्रतिलिपिसमेत आयोगमा पेश गर्न भनेको छ । साथै निर्वाचन आचारसंहिता लागू रहने अवधिसम्म भूमिको निस्सा वितरण वितरणसम्बन्धी सम्पूर्ण कार्य स्थगन गर्न पनि आयोगले पत्राचार गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई स्पष्टीकरण

यस्तै निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

आयोगले ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीले आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने स्मरण गराएको छ ।

“तपाईँले प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी गठबन्धनको चुनावी सभामा सहभागी हुनु निर्वाचन आचारसंहिताविपरीत हो, होइन ?”, आयोगको स्पष्टीकरणपत्रमा भनिएको छ, “यदी तपाईँ गठबन्धनको चुनावीसभामा सहभागी हुनुभएको हो भने तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा किन कारबाही हुनु नपर्ने हो ? तीन दिनभित्र आयोगमा प्राप्त हुने गरी जवाफ पेश गर्नुुहुन अनुरोध छ ।”

पत्रकार महासङ्घका अध्यक्षलाई स्पष्टीकरण

निर्वाचन आयोगले नेपाल पत्रकार महाङ्घका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएको विषयमा चौबीस घन्टाभित्र जवाफ दिन स्पष्टीकरण माग गरेको छ ।

शिलापत्र अनलाइनमा प्रकाशित ‘पत्रकार महासङ्घका अध्यक्ष भन्छन्, “निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हामी मान्न जरुरी छैन” शीर्षकको समाचारप्रति ध्यानाकर्षण जनाउँदै आयोगले सङ्घ–संस्थाका तर्फबाट निर्वाचन आचारसंहिता, २०७८ का सन्दर्भमा प्रतिबद्धता जनाउन आयोजित आयोगमा कार्यक्रममा महासङ्घका तर्फबाट निर्वाचन आचारसंहितामा भएका प्रावधान इमान्दारिताका साथ पालना गर्न गराउन प्रतिबद्धता व्यक्त भएको स्मरण पनि गराएको छ ।

“निर्वाचन आचारसंहिता, २०७८ कार्यान्वयनका सन्दर्भमा आयोगबाट गत चैत २९ गते गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा तपाईँ स्वयं स्रोत व्यक्तिका रूपमा सहभागी हुनुभएकै हो”, आयोगले महासङ्घका अध्यक्ष पोखरेललाई सोधेको स्पष्टीकरणमा भनिएको छ, “आयोगबाट काठमाडौँमा आयोजित कार्यक्रममा तपाईँले आचारसंहिताबारे बोल्नुभएको कुरा र जनाउनुभएको प्रतिबद्धतासम्बन्धी सामग्रीसमेत आयोगमा सुरक्षित नै छ, तपाईँलाई आयोगले जारी गरेको निर्वाचन आचारसंहिताका समग्र प्राबधानका बारेमा जानकारी छैन भन्ने बारेमा आयोग विश्वस्त हुन सक्दैन ।”

आयोगको स्पष्टीकरण पत्रमा भनिएको छ, “आयोगले जारी गरेको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन भनी तपाईँले भन्न मिल्छ, मिल्दैन ? आयोगबाट जारी आचारसंहिताको कुन प्रावधानले पत्रकार एवं नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गरेको छ ? साथै आचारसंहिताको कुन प्रावधानले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताबाट सम्बन्धित पक्षलाई वञ्चित गरेको छ ? पत्रकार महासङ्घको अध्यक्ष जस्तो पदमा आशिन व्यक्तिले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन सुहाउँछ ?”

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ११ : ४१ बजे

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर