वर्षाअघि मेलम्चीको पानी रोकिने « Khabarhub

वर्षाअघि मेलम्चीको पानी रोकिने


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो ।

 हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। “सुरुङभित्रै बाढी नपरोस् भन्ने उद्देश्यले वर्षा सुरु हुनुअगावै बन्द गर्नुपर्ने छ”, उनले भने । काठमाडौँ उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकावासी खुसी भएका छन् । 

कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरेपनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ । वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ । 

गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनः वितरण सुरु गर्नुभएको थियो । पहिलो दिन पाँच करोड लिटर पानी वितरण सुरु भएकामा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो । 

गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण सुरु गरिएको थियो । उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द भएको थियो । सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगेपनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन । 

असारमा पटकपटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो । वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन । सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो । 

 अस्थायी रुपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन । आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन । दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ । बैंकले छिट्टै त्यसको प्रतिवेदन आउने बताएको समितिले जनाएको छ । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ३९ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका